मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • ६ वर्षपछि ठडियो पुनर्निर्मित धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
Uncategorized

६ वर्षपछि ठडियो पुनर्निर्मित धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

१९९० सालको भुइँचालोअघि ११ तले धरहरा, ०७२ को भूकम्पपछि लिप्टसहित २२ तला

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार