बुधबार, माघ १५, २०८२
  • होमपेज
  • ‘देउवा हाम्रो देउता भन्थे’
Breaking News

‘देउवा हाम्रो देउता भन्थे’

आजभन्दा करिब एक दशक अघिको (२०७२ साल तिर) को कुरा हो । म धनगढीबाट बझाङको यात्रामा थिएँ । धनगढी-डडेल्धुरा राजमार्गमा भासूको भीर कटेपछि डडेल्धुराको हिउँपर्ने लेकाली भेग साहुखर्कमा बाजे (स्व. धनबहादुर देउवा) को खिर पसलमा हाम्रो बस खिर खान रोकियो ।

डडेल्धुरा आरक्ष नजिकै गुराँस, बाँझ, खर्राँझजस्ता लेकाली दार र काउलाजस्ता घाँस जन्य वनबीच अवस्थित खर्क र खिर पसल अवलोकन गर्दा पर कहीँ न्याउला (नेउरी चरी) कराएको सुन्निन्थ्यो । लेकका बाँझका मुढामा आगोको भट्टीमा दाउराका अनेक चुल्हामा खिर, चिया, दूध आदि उम्लिँदै थिए । त,र सब त्यहाँको खिरको नै चर्चा गर्दै थिए ।

कहिले डोटी, कहिले डडेलधुरा हुँदै जाने राजमार्ग हुनाले खिर खाँदै गर्दा हामीले बाजेलाई यो ठाउँ कुन जिल्लामा पर्छ भनेर सोध्यौ । बाजेले डडेलधुरा भने । डडेलधुरा सुन्ने बित्तिकै एउटा सह-यात्रीले शेरबहादुर देउवाको चर्चा निकाले । उनले “यति सुन्दर सुदूरपश्चिम, यति सोझा जनता देउवा र उनको परिवारको भ्रष्टाचार र असक्षमताले बदनाम भयो” भन्दै थिए ।

यो सब सुन्दासम्म हँसिलो रुपमा प्रस्तुत भएका खिर बाजे अचानक क्रोधित भए । “यै ठउरको बारेमा तमुलाई क्या थाहा छ ? देउवाले यहाँ झिक्कै निको हर्याको छ । देउवा हाम्रो देउता हो” भन्न थाले ! अल्ली कुरा गर्दै जाँदा धनबहादुर देउवा बाजे शेरबहादुर देउवाका समर्थक मात्र नभई स्कुलका सहपाठी पनि रहेछन् । बाजेले यो सडकको स्तरोन्नतिदेखि सुन्तला, मौसमी, जुनार उत्पादन गर्न कृषि अनुदान दिन देउवाले सरकारी र देउवा पत्नी आरजूले गैर सरकारी संस्थाहरूमार्फत् ठूलो बजेट खन्याएको कुरा सुनाए । त्यति मात्र नभई काठमाडौँमा भेट्न जाँदा भाडा खर्च, दसैँ खर्चसमेत देउवाले डडेल्धुरावासीलाई दिने गरेको बताए ।

त्यो घटनाले देशमा आलोचना भए पनि सुदूरपश्चिमले शेरबहादुर देउवाप्रति आस्था र आशा दुवै राखेको देखेँ । हुन पनि सुदूरबाट बिरलै राष्ट्रिय स्तरका नेता जन्मिन्छन् । सुदूरपश्चिमेली आफ्नो भेगको धेरै माया गर्छन् ! आज खिर बाजे स्वर्गीय भइसके । शेरबहादुर पनि सक्रिय राजनीतिमा छैनन् । बाजेको खिर पसलको स्तरोन्नति भएको छ । राष्ट्रिय चर्चा कमाएको छ ।

बालेनसमेत त्यहाँ रोकिएर खिर खाँदा समाचार बन्छ । आशा छ, यही बाजेको खिर पसलझैँ सुदूरपश्चिमले पनि सफलताको सिडी चढोस् । शैलेश्वरी, उग्रतारा र खप्तड हेर्न देश विदेशबाट लाखौँ पर्यटक आउन् । सुदूरपश्चिमले सक्षम र असल नेता पाओस् । सुदूर अब दूर नरहोस् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार