आइतवार, माघ ५, २०८२
Breaking News

सभापति थापालाई खुला पत्र !

प्रिय सभापति ज्यू,

जय नेपाल।

यो पत्र कुनै औपचारिक निवेदन होइन, कुनै राजनीतिक भाषण पनि होइन। यो सुदूरको दुर्गम गाउँको एउटा झुपडीबाट उठेको दबिएको सास हो, वर्षौँदेखि मनभित्र थिचिएको पीडा हो र अझै मरेको छैन भन्ने आशाको अन्तिम आवाज हो। काङ्ग्रेसभित्र पुस्तान्तरण, नवीन सोच, नवीन ऊर्जा र रूपान्तरणको कुरा तपाईंले गर्न थालेपछि हामीजस्ता टाढा गाउँका, सत्ता नदेखेका, नाम नचिनिएका कार्यकर्ताको मनमा पनि फेरि एकपटक आशाको दियो बल्यो। लाग्यो, सायद अब काङ्ग्रेसले आफ्नै इमानदार सन्तान चिन्न थाल्ला।

सभापति ज्यू, म सुदूरपश्चिमको बझाङ जिल्ला, खप्तडछान्ना गाउँपालिका-७ गडराय बाट यो पत्र लेख्दैछु। यो त्यो भूगोल हो जहाँ राजनीति अझै सपना हो र पार्टी जोगाउनु भनेको आफ्नो जीवन खर्चिनु हो। यही ठाउँबाट आज म एउटा नाम बोकेर तपाईंको ढोका ढकढक्याउँदैछु—जगतप्रसाद जोशी।

जगतप्रसाद जोशी कुनै माग राख्न सक्ने नेता होइनन्, किनकि उहाँले जीवनभर माग गर्न सिक्नुभएन, केवल दिन सिक्नुभयो। २०३६ सालदेखि निरन्तर नेपाली काङ्ग्रेसको राजनीतिमा लाग्नुभएका उहाँले आफ्नो जवानी, आफ्नो परिवारको सुख र आफ्नो भविष्य पार्टीलाई सुम्पनुभयो। तर चार दशकभन्दा बढी समय बितिसक्दा पनि उहाँले आजसम्म वडा सदस्यसम्मको टिकटसमेत नपाउनु काङ्ग्रेसको इतिहासकै सबैभन्दा पीडादायी यथार्थ बनेको छ।

सभापति ज्यू, कुनै दिन उहाँले हारेर पार्टी छोडेको सुन्नुभएको छ ? कुनै दिन गुनासो गरेर विद्रोह गरेको देख्नुभएको छ ? कुनै दिन अवसर खोज्दै अर्को ढोका ढकढक्याएको इतिहास छ ? छैन। उहाँ सधैँ चुपचाप काङ्ग्रेसकै छायाँ बनेर उभिनुभयो, घाम–पानी सहँदै पार्टीको झण्डा थामिरहनुभयो।

२०४६ सालतिर सुदूरको दुर्गम गाउँमा M.Sc. पास गर्नु आफैँमा असाधारण कुरा थियो। त्यही समय विद्यार्थी राजनीतिबाट केन्द्रीय अध्यक्ष, केन्द्रीय उपाध्यक्षजस्ता जिम्मेवारी बहन गरिसक्नुभएका जगतप्रसाद जोशी २०४८ सालदेखि हालसम्म भएका नौवटै संसदीय निर्वाचनमा बझाङबाट टिकटको प्रबल आकांक्षी रहँदा पनि हरेकचोटि आशा चुँडिएको हात लिएर फर्किन बाध्य पारिनुभयो।

जब उहाँसँगै संघर्ष गरेका सहयात्रीहरू चार–चार पटक मन्त्री भए, जब अवसरवादीहरू रातारात नेता बने, त्यसबेला पनि जगतप्रसाद जोशी किन सधैँ ओझेलमा परे भन्ने प्रश्न आज केवल उहाँको व्यक्तिगत पीडा होइन, काङ्ग्रेसको आत्मासँग जोडिएको प्रश्न बनेको छ।

उहाँ चाहनु भएको भए आज कुनै सहरमा आरामदायी जीवन बिताइरहनुहुन्थ्यो। तर उहाँले किन काङ्ग्रेसको राजनीतिमा आफ्नो जीवन साट्नुभयो ? किनकि उहाँलाई सत्ता होइन, पद होइन, केवल काङ्ग्रेसको आत्मा प्यारो थियो। ४५ वर्षसम्म कुनै पद नपाउँदा पनि पार्टी नछोड्ने, निष्ठा नबेच्ने, इमान नटुटाउने यस्ता मान्छे आज काङ्ग्रेसमा कति बाँकी छन्, सभापति ज्यू ?

आज जगतप्रसाद जोशीलाई न्याय गर्नु भनेको एउटा व्यक्तिलाई टिकट दिनु मात्र होइन। यो न्याय हो—बझाङका हजारौँ कार्यकर्ताको आँसुको, सुदूरपश्चिमका उपेक्षित आवाजको र काङ्ग्रेसभित्र अझै बाँकी रहेको इमानदारीको।

यदि यसपटक पनि जगतप्रसाद जोशी ओझेलमा परे भने त्यो केवल उहाँको हार हुनेछैन, त्यो काङ्ग्रेसको आत्माको हार हुनेछ। तर यदि तपाईंले उहाँलाई न्याय गर्नुभयो भने त्यो एउटा टिकट होइन, विश्वासको पुनर्जन्म हुनेछ।

सभापति ज्यू, हामी अझै पनि आशा मारेका छैनौँ। किनकि हामीलाई अझै विश्वास छ—काङ्ग्रेसले आफ्ना सन्तान चिन्छ र तपाईंको नेतृत्वले इमान र निष्ठालाई न्याय हुनेछ ।

उहि तपाइको शुभेच्छुक

वसन्त चौहान

खप्तडछान्ना -७ बझाङ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार