बझाङ । बझाङमा नसर्ने रोगहरू फैलन नदिन साझेदार संस्थाहरू एकजुट भएका छन् । बिहीबार जिल्ला अस्पताल बझाङमा एक कार्यक्रम आयोजना गर्दै सामाजिक क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरूले आफ्नो क्षेत्रमा योगदान पु¥याउने जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्ष्टिच्युट अफ चाईल्ड हेल्थ (किओच) ले कार्यान्वयन गरिरहेको पेन प्लस परियोजनाको आयोजनामा भएको छलफलमा संस्थाहरूले नसर्ने रोगहरू फैलन नदिन विभिन्न समुदायमा रोग पालेर बसेका व्यक्तिको उपचारका लागि पहिचान र उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
किओचमा कार्यक्रम अधिकृत शौगात संगम शाहका अनुसार हरेक वर्षमा नसर्ने रोगहरू फैलँदो क्रममा रहेको हुँदा यसको न्यूनीकरणका लागि सबै निकायसँग समन्वय भइरहेको बताए ।
युनिसेफको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजनामा जिल्लाका विभिन्न क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरू समुदायसँग नजिक भएको हुँदा नसर्ने रोगसम्बन्धि समस्या भएका बिरामीलाई सम्पर्कमा ल्याउन सहजताका लागि अनुरोध गरेको बताए । यस्ता समस्या भएका बिरामीको परियोजनाले नै उपचार गर्ने हुँदा पनि सबैलाई आग्रह गरेको उनले बताए ।
युनिसेफको तथ्यांकअनुसार विश्वभर ४३ मिलियन मानिस नसर्ने रोगहरूको कारण ज्यान जाने गरेको छ । जुन संख्या विश्वव्यापी मृत्युको ७५ प्रतिशित हो । करिब १८ मिलियन मानिस ७० वर्ष नपुग्दै नसर्ने रोगका कारण ज्यान जाने तथ्यांकले देखाएको छ । जसलाई अकाल मृत्यु भनिन्छ । सबै मृत्युहरूमध्ये ७३ प्रतिशत मृत्युहरू न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार नेपालमा नसर्ने रोगहरूको प्रकोप पनि बढिरहेको छ । नसर्ने रोगका कारण अल्पायु मृत्युको दर २०६६/६७ मा ५१ प्रतिशत थियो भने १० वर्षमा बढेर २०७५/७६ मा ७१ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो तथ्यांकअनुसार मुटुसम्बन्धी रोगबाट ३० प्रतिशत, क्यान्सरबाट ९ प्रतिशत, मधुमेहबाट ४ प्रतिशत, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट १० प्रतिशत र अन्य नसर्ने रोगहरूबाट १३ प्रतिशतको ज्यान जाने गरेको छ । क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगहरू, मधुमेहजस्ता नसर्ने रोगहरूबाट बच्नका लागि सबैलाई समुदायमा रोग देखिएका व्यक्तिलाई सम्पर्कमा ल्याउन शाहले आग्रह गरे ।
फेसबुक प्रतिक्रियाहरु