बझाङ । नेपाली कांग्रेस बझाङबाट निर्वाचित वडाध्यक्षहरूको सञ्जालले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई योजनाहरू समेट्न मागपत्र पेश गरेका छन् । निर्वाचित भएको तीन वर्षसम्म पनि प्रदेश सरकारले आफ्नो वडाहरूमा योजना नसमेटिएको भन्दै वडाध्यक्ष सञ्जालले मागपत्र पेश गरेको हो ।
वडाध्यक्ष सञ्जाल बझाङका संयोजक उत्तमराज जोशीको संयोजकत्वको वडाध्यक्षहरूको टोलीले संघीयताको मर्मअनुसार ग्रासरूटमा विकास गर्नुपर्नेबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गर्दै माग पत्र पेश गरेका हुन् । सिंहदरबारको अधिकार गाउँमा दिने संवैधानिक प्रतिवद्धता सर्वस्वीकार्य विषय भएको तर, आफूभन्दा माथिल्लो सरकारले खासै चाँसो नदिएको हुँदा ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ ।
मागपत्रमा राज्यबाट निकै टाढा रहेका नागरिकसँग प्रत्यक्ष काम गर्ने वडाध्यक्षलाई दोस्रो दर्जाका जनप्रतिनिधि सोच्ने माथिल्लो तहका जनप्रतिनिधिको मनोधारणा नै फेर्नुपर्ने भन्दै वडाका योजनालाई सहजै समेट्नुपर्ने संयोजक जोशीले बताए । ‘जनताका प्रमुख समस्याको समाधानका लागि माथिल्लो सरकारबाट योजनाको आशा गर्दा गर्दै तीन वर्ष बितिसक्यो । आगामी आर्थिक वर्षमा भने आफ्ना योजना समावेश गर्नैपर्ने भन्दै मुख्यमन्त्रीलाई मागपत्र बुझाएका छौँ ।’ मागपत्रमा भनिएको छ ।
नेपाली कांग्रेस बझाङबाट निर्वाचित ३६ जना वडाध्यक्षहरूको सामुहिक विषयबाट प्रत्येक वडामा आवश्यकतालाई मध्यनजर गर्दै १/१ वटा योजना प्रदेश सरकारलाई आगामी आ.व.२०८२/८३ सालको बजेटबाट योजनाको लागि संस्थागत गर्न अनुरोध गरिएको खप्तडछान्ना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तथा वडाध्यक्ष सञ्जालका सल्लाहकार रमानन्द जोशीले बताए ।
फेसबुक प्रतिक्रियाहरु