बझाङ । शताब्दी नजिकैको उमेर । गाउँमा मात्रै नभई वडाभरि नै सबैभन्दा पाको मान्छे । झट्ट देख्दा थला परेको जस्तो जीउ । तर, सामान्य कामधामका लागि बारीसम्म गइरहने । बुढ्यौलीमा पनि माटोसँगको सामिप्यताले चिनाउँछ, तुलसीदेवी जोशीको कृषि संघर्ष ।
खप्तडछान्ना गाउँपालिका–५ पिठातोला स्थायी घर भएकी जोशीलाई अहिले पनि बारीमै गइरहनुपर्ने नियति भने होइन, बाल्यकाल देखिको स्वर्णिम समय हुँदै जीवन व्यतित गरेको ठाउँ हुनाले उनी सम्झना मेट्न बारीमा गइरहन्छिन् ।
उनी बारीमा जाने मात्रै नभई दिनभरि स-सानो काम पनि गर्छिन् । ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’ माटो प्रतिको माया बाचुञ्जेलसम्मै रहने उनले बताइन् ।
आफूलाई थाहा भएदेखि पूख्र्यौली पेशा कृषिमा नै जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रुपमा चिनिन्छन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँलेहरु यतै आउँथे । अहिले पनि बीउका लागि कोही न कोही सम्झिहाल्छन् ।’ तुलसीले भनिन् ।
जन्मेको शताब्दी नजिकै पुग्दा पनि उनी नेपालको अनागरिक भइन् । सरकारी कागजातबारे अनभिज्ञ उनलाई शनिबार जिल्ला प्रशासन कार्यालय बझाङले घरमै गएर नागरिकता प्रदान ग-यो । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शुक्रबार नै सबै कागजात तयार गरी शनिबार घरमै पुगेर नागरिकता दिए ।
आफ्नो पालामा केही कागजको आवश्यकताबारे जानकारी नभएको तुलसीले बताइन् । साविकको कालुखेती गाविसमा एकपटक नागरिकता बनाउने टोली आएको थियो रे त्यो पनि आफूलाई जानकारी नभएको उनले बताइन् । ‘एकपटक टोली आएको रहेछ । त्यो बेलामा थाहा भएन । आफू लेकतिरै भए । गाउँ गाउँमा कसै कसैले बनाएछन् । त्यो आवश्यकताबारे पनि जानकारी थिएन । त्यसैले बनाइएन ।’
बझाङको थलारा गाउँपालिका वडा नं ७ घोडादाउनामा वि.सं १९८६ साल साउन ११ गते जन्मेकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले जीवन नै अनागरिक भएर ओइलाउँदै गरेको अवस्थामा भेट भएको बताइन् । उनले एक जना सय वर्षको हाराहारीमा पुग्दासमेत नागरिकता नपाएको सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र दुबैतिर (माइती–पोइली) का कागजात तयार हुनासाथ नागरिकता बनाएर दिएको बताइन् ।
उनले जीवनभर नै अनागरिक भएर बाँच्नु पर्दाको पीडा शब्दमा बयान गर्न नसकिने बताइन् । सहायक प्रमुख जिल्ला अधिकारीले भनिन्, ‘९६ वर्षसम्म पनि नागरिकता नहुनु धेरै दुखद कुरा हो । नबुझ्नेलाई त केही हुँदैन, बुझ्नेलाई नागरिकता नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुरा थाहा हुन्छ । नागरिकता नै नभए राज्यबाट के पाउनु र !’
थलाराको घोडादाउनामा बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मेकी जोशीको वि.सं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका ५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी हुन् ।
जिल्ला सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो,’ तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त ठाउँ देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन । उहिले जमाना उस्तै थिए ।’
घर, कामबाहेक आफूले कहिल्यै बाहिर जाने अवसर नपाएको उनले बताइन् । ‘हामीलाई बाहिर जाने काम पनि परेन । जताततै जानका लागि हाम्रो समुदायले छुट पनि दिँदैन । त्यसैले यही ठाउँ नै संसार भयो ।’ उनले भनिन् ।
आमालाई नागरिकताको आवश्यकताबारे छोरा नारायणदत्त जोशीलाई पनि जानकारी छैन । आमालाई नागरिकता चाहिने र यसको आवश्यकताबारे कसैले केही नभनेको र आफूलाई पनि जानकारी नभएको उनले बताए । ‘पहिले केही थाहा भएन,’ उनले भने, ‘अहिले आमाले पनि नागरिकताबारे यताउता कुरा सुनेर बनाउनुपर्ने चाँसो राख्नुभयो । आफन्तहरु सबैले पनि भने । त्यसपछि अहिले घरमै आएर प्रशासनको टोलीले नागरिकता दियो ।’
फेसबुक प्रतिक्रियाहरु