शनिबार, पुस ६, २०८१
  • होमपेज
  • छायामा पारेका सुजन-बीरेन्द्रहरू !
Breaking News

छायामा पारेका सुजन-बीरेन्द्रहरू !

बालकृष्ण जोशी

काठमाडौँ । घटना जति पुरानो भयो, सम्झनामा पनि टाढिने रहेछ । ९ महिनाअघि भएको त्यो बालकुमारी घटना अहिले धेरैको सम्झनाबाट हराइसक्यो । धेरै घुलमिल भएकाहरूले केही याद गरे पनि राज्य १० लाख दिएपछि बिस्र्यो । राज्यलाई त्यस्ता घटना दोहोरिँदा पनि नौलो लाग्ने छ । तर, परिवारमा भने त्यो अनुहार भएको पुरूष आउँछ नै भनेर दैलोतिर हेरिरहेको छ, प्रतिक्षारत छ ।

सुजन राउत, वीरेन्द्र शाहहरू आउने प्रयास गरेको र हामी पुगेको मुलुक एउटै हुँदा र उनीहरूका जस्तै सपना देख्ने प्रयास गरेका हामी एउटै हौँ । त्यसैले हरेक दिन सुजनहरू, बीरेन्द्रहरू सम्झनामा आइरहन्छन् । बाटो एउटै, उद्देश्य एउटै, नियति एउटै भएका हामी श्रमिकहरू कहिल्यै बिर्सन सक्दैनौँ । सुजन, बीरेन्द्रहरूलाई ।

प्रिय सुजन, बीरेन्द्र

हामी वसन्त ऋतुमा फुल्ने फुलको गुच्छा जस्तै ढकमक्क भयौँ । जहाँ हजारौं भमराको ध्यान हुन्छ । हामी एक सुन्दर देशको असक्षम नागरिक बन्यौँ । जसलाई अरूले आँखा गाडेर आफ्नो फाइदाको लागि निकै प्रयोग गर्छन् । तिमी सपनामा भए पनि यो बिरानो देशको माटोमा पसिना बगाउन आउ । तिमी आफ्नो अशक्त बुवाले तिर्न नसकेको रिणको झोला भरिदेउ । आफ्नी आमाले देखेको खुसीको संसार बनाइदेउ । तिमी गर्मीमा ४० डिग्री सेन्टिग्रेटको रापमा आफ्ना पसिना बेच्न पछि नपर । अनि हिउँदको कठ्याङ्दो जाडोमा माइनस २० डिग्री सेल्सियससम्म पनि आफ्ना सपनाहरूलाई जम्न नदेउ ।

सुजन र बिरेन्द्रले आफ्ना सपना गुमाएको त्यो क्षण देशको लागि एउटा नागरिक गुमेको होला । गाउँको लागि एक होनहार युवा गुमेको थियो । साथीको लागि अति प्रिय दोस्ती मेटिएको थियो । आफ्नो सर्वस्व ठानेकी आमाको लागि संसार गुम्यो । आफ्नो साहारा र अस्तित्व सम्झिने बुवाका लागि एक पक्की घरको जग ढल्यो, खुसी संसार भित्रको एक सुन्दर सपना गुम्यो । आमा बुवाले देखेका ती सपनाहरू अनि परिवारले देखेको खुसी चिसोयामको मिरमिरे बिहानीको सितसँगै हराएर गए ।

कोरिया जाने पैसा जोहो गर है आमा ! भनेको शब्द फेरियो । यो एक सुजनले बिर्सिन नदिएको घट्ना मात्र हो । दिनहुँ मेरो देशमा हजारौं सुजन र बिरेन्द्रहरू छट्पटी रहेका छन् । जसलाई मेरो देशका शासकले बेवास्ता गरिरहन्छन् । आफ्नो देश सबैको लागि प्यारो हुन्छ, चाहे भौतिक रूपमा ऊ जहाँसुकै किन नहोस् । मलाई चाल्र्स डार्बिनको भनाइ सम्झना आउँछ, ‘बाच्नका लागि संघर्ष’ । यही सिद्धान्तलाई आत्मसात गर्दै आफ्नो बाटो हिडिरहेका अनेकौँ सुजनहरू हरेक पाइलामा भेटिन्छन् । केही गर्छु सरकारभन्दा त्यही माटोमा मेटिन्छन् । मान्छेले हरेक दिन बाँच्ने अनेकौँ तरिका खोजिरहन्छ । उ नमरेसम्म । म अनि तपाई/हामी पनि अर्कै नाम गरेको सुजन प्रवृत्तिको सदस्य हौँ । जसले बाँच्नको लागि मात्रै शरीर विदेश र आत्मा स्वदेशमै छोडेको छ ।

एउटा सुजन गुम्दा हाम्रो देशलाई केही फरक पर्दैन होला । किनकी हाम्रो देशले यहि सुजन प्रवृत्तिलाई देख्न रुचाउँछ । वा भनम यहि प्रवृत्तिबाट हुर्किएको हो । तर, जसको एउटा सहारा भनेको त्यही सुजन हुन्छ, उसको लागि कसले सोची दिने ? कसले भनी दिन्छ, कसले बोली दिन्छ ? मैले गाउँ घरमा सुन्ने गरेको थिएँ ‘आफ्नो पिठ्युँमा बन्चरो नलागेसम्म चोट थाहा हुदैन रे !’ यो वास्तविक मेरै देशको पीडा हो । जहाँ हिजोदेखि नेतृत्व गरिरहेका शासकहरुलाई एक रति पनि जनताको दुःख थाहा छैन । बुझ्नै चाहँदैनन् शासकहरू । त्यसैले उनीहरूले यो घटनाको गरिमा र पीडा बुझ्दैनन् । तर, आफ्ना सन्तानहरूलाई भने निकै सुविधा सप्पन्न हुने गरि मलजल गरिदिन्छन् । मानौँ यहीँ देश नै संसारको सुख भोग गर्ने देश हो ।

विदेशी ऋणले थलिएका ३ वटा टाउकोहरू त मेटायो सरकारले । तर, हजारौं टाउकोहरू अझै छ्टपटी रहेकै छन् । सायद अब सबै नेपालीहरूले बुझी पनि सकेका होलान्, एउटा गलत नेतृत्वले देशको स्तर र जनताको भविस्यमाथि कतिसम्म शोषण गर्न सक्छ भन्ने कुरा । देशले कोही एक असल छोरा जन्माएछ भने सुनाउँला सबै सुजनहरूका कथा । अब सबैले बुझिसके एउटा गलत शासकले कसरी हजारौं सुजन जन्माउँछ भनेर ।

कयौं देशको अस्तित्व नहुँदै जुरमुराएको मेरो देश अहिले विश्वको सामु शिर झुकाएर हिड्नु परेको छ । सँगै उदाएका देशको आर्थिक तालमेल नै आकाश पातल जस्तै छ । खैर, तुलना गर्न बाँकी केही छैन । आफ्नो देशमा रोजगार देउभन्दा सक्दैन । बरू गोलीले पेट भर भन्ने शासकले आफ्नो पेट पाल्न बिदेशी ऋण लिएरै भए पनि सुख भोग गरिरहेका छन् । अरूकै देशमा भए पनि आफ्नो भोको पेट पाल्छुभन्दा पनि सुजन र बीरेन्द्र बनाइदिन्छ ।

तपाईं अनि म सबैलाई थाहा छ, अरूको देश सजिलो हुँदैन भन्ने । तर, त्यही जोखिमसँग लड्न जान्छुभन्दा पनि तातो गोली चढाइदिन्छन् । यो एक सुजन र बीरेन्द्रको सपना तुहिए जस्तै दिनहुँ हजारौं सपनाहरू पानीको बाफजस्तै उडिएरहेका छन् । हजारौं कोखहरू रित्तिएका रित्तियै छन् । मुलुक यो अवस्थामा छ, अझै हामी सचेत भएनौँ भने यस्ता कयौं सुजन र बीरेन्द्रहरू देख्नु पर्नेछ । योभन्दा अगाडि यस्तो नभएको हैन तर हामी नेपालीको सोझोपना र गलत मान्छे प्रतिको बारम्बार विश्वासको परिणाम हो । तपाईं हामी सच्चिनुपर्छ अब । अरू सुजनहरूको सपना तुहिन दिनुहुन्न । यो एक सुजन सहिद हुनुमा तपाईं हामी अछुत रहन सक्दैनौँ ।

प्रिय सुजन,
प्रिय, बीरेन्द्र

हावाको बेगसँगै तिमीहरू आफ्नो गति बढाउ । अनि तातो गोलीको रफ्तारलाई उछिनेरै भए पनि आफ्नो परिवारको सपना तुहिन नदेउ है । अझै तिमीप्रति न्याय खोजिरहेका परिवारलाई निरासाको बाटोमा नधकेल्नु । सपनामा आएर पनि परिवारलाई उठ्ने ढाडस दिनु….।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार