बझाङ । ‘गाउँमा जहिल्यै पानीको हाहाकार हुने । वर्षायाममा पनि पानी नहुँदा बारी नै बाँझो राख्नुपर्ने गाउँलेको नियति नै हो,’ छविसपाथिभेरा गाउँपालिका–७ कि किट्टी धामीले खुसी हुँदै आफ्ना भोगाई सुनाउँदै भनिन्, ‘बारीमा रोपेको बीउ पनि अंकुराउन नपाउँदै ओइलाउने समस्या अब भने निकै दूर हुने भएको छ । गाउँलेका दुःख कोल्टे फेर्ने विश्वास छ ।’
आकाशे पानीकै भरले जमिन बाँझो राख्नुपर्ने अवस्था अब हटेको उनले सुनाइन् । ‘पानीकै समस्याका कारण उब्जनीयोग्य जमिन उजाड हुन्थ्यो,’ उनले भनिन्, ‘सुख्खा खडेरीपछि उत्पादन नहुँदा धेरै परिवारलाई खाद्य संकट पनि हुन्थ्यो । हिउँदेबाली केही नहुने वर्खाबालीले खान नपुग्ने समस्या थियो । अब भने हिउँदेबाली पनि फल्नेछ । गाउँमा प्रर्याप्त पानी पुगेको छ ।’
अहिले मजखोरीमा पानी आएपछि गाउँलेहरू उत्साहित भएका छन् । सबैले राहत महशुस गरेको उहाँको बुझाई छ । किट्टीले भनिन्, ‘विगतमा करेसाबारीमा समेत पानी नहुँदा तरकारी हुँदैन थियो । सुख्खा खाना खाइन्थ्यो । अब भने गरेर खानेका लागि पानीको समस्या हुने छैन । कतिपय परिवार त तरकारी खेती गर्ने भनेर जुटिसक्नुभएको छ ।’ उनले अब बर्खेबाली मात्रै नभई हिउँदेबालीमा पनि राम्रो उत्पादन हुने बताइन् ।
‘अब बर्खेबाली जस्तै हिउँदेबाली हुनेछ,’ मजखोरीका सुनिल मण्डेलले भने, ‘मजखोरी, खोरी, बुड्खोरीमा प्रायः हिउँदे उत्पादन हुँदैन । बर्खे उत्पादनले बजार पाउँदैन । अब सिचाइँको सुविधा भएपछि हिउँदे उत्पादन निकै फस्टाउने र बजारसमेत पाउनेछ ।’ वर्षायाममा सडक अबरूद्ध हुँदा आवतजावतमै समस्या हुने गरेको उनले बताए ।
मण्डेलका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय बझाङबाट मजखोरीमा सिचाइँ परेको थियो । गाउँलेहरू जुटेर आयोजना निर्माण गरेपछि सधैँको काकाकुल मजखोरीमा खुसीयाली छाएको उनले बताए ।
जिल्लाको सबैभन्दा टाढा पर्ने गाउँ मजखोरीमा करिब तीन किलोमिटर टाढा बुड्खोरीको छेउको खोलाबाट पानी ल्याइएको उनले बताए । मण्डेलका अनुसार अहिले मजखोरीमा ९६ हजार लिटरको पानी ट्यांकी निर्माण गरेर ११ वटा साना इन्टेकमार्फत् सबैलाई पायक पर्ने गरि पानी वितरण गरिएको छ । ‘मझ्खोरी सबैको नजरमा दूरमा रहेको गाउँ हो,’ मजखोरी सिचाइँ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले भने, ‘यहाँको मलिलो माटोमा जे लगाए पनि राम्रो फल्छ । अब गाउँमा धेरै जना व्यवसायिक कृषक बन्नु हुनेछ ।’
मण्डेलका अनुसार मजखोरीमा विशेषगरि आलु उत्पादन बढी हुन्छ । लेकाली ठाउँ भएको हुँदा टर्नेलमा विभिन्न प्रकारको तरकारी र बाहिर कोदो, फाँपर, जौलगायतका बाली फल्ने गरेको उनले बताए । मजखोरीका १५० वटै परिवार कृषि खेतीमा निर्भर भएको उनले बताए । अब मजखोरीको उत्पादनले जिल्लाभरि बजार पाउनेमा उहाँले विश्वास व्यक्त गरे ।
मजखोरी सिचाइँ निर्माणमा धेरै अवरोध भए पनि अहिले निर्माण भइसकेपछि भने सबै खुसी भएको उनले बताए । उनले भने, ‘सुरूवातमा केहीले विरोध जनाए । गाउँमा बढी मान्छे एकजुट भएपछि समयमै काम पूरा पनि ग¥यौँ । आयोजना निर्माणमा हामीलाई घाटासमेत भयो । तै पनि गाउँमा बलियो योजना निर्माण भयो । पानी आयो । सबैलाई राहत मिल्यो । यो उपयोग गर्ने हामीले नै हो भनेर चित्त बुझायौँ । अहिले सबै खुसी छन् ।’
फेसबुक प्रतिक्रियाहरु