बझाङ । बर्खायाम सुरू हुन लागेको थियो । घरायसी कामको चटारो पनि उत्तिकै थियो । छिमेकीहरूले गहुँबाली भित्र्याएर धान रोपाईको तयारी गरिसकेका थिए । राजेशको भने गहुँ बारीबाट निकालेकै थिएन । धान रोप्नु त झनै परको कुरा ।
खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका कार्कीलाई घरायसी समस्याले काममा बाधा पुगिरहेको थियो ।
समस्या थियो, उनकी आमा बेलुदेवी बिरामी हुनु । बेलुदेवी बारीबाटै सामान्य ज्वरो आएर घरमा आराम गर्न थालिन् । एक छिनमा ठिक हुने आसा गरेको बिराम लम्बिन थाल्यो । दोस्रो दिन छोरा राजेशसँगै कालुखेतीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकीमा उनको औषधी सामान्य भएकोले सिटामोल थमाएर घर पठायो ।
स्वास्थ्य चौकीले दिएको औषधीले केही फरक भएन । पाँच दिनसम्म दिएको औषधीले केही राहत हुनुपर्नेमा उल्टै दोस्रो दिन बिरामले च्याप्यो । औषधीको मात्राको मिति पुग्नसम्म उनीहरू घरमै बसे । त्यसपछि पनि केही फरक नभएपछि उनीहरू जनस्वास्थ्य निरीक्षकको दरबन्दी भएको गाउँपालिका नजिकै रहेको पसलबगर स्वास्थ्य चौकीमा गए । त्यहाँ पनि सिटामोलसहितको औषधी थमायो । त्यसलेसमेत केही राहत गरेन । कार्की परिवार फेरि जिल्ला अस्पतालमा गए । जिल्ला अस्पतालमा दुई दिन आपतकालीन शय्यामा उपचार गरेपछि सामान्य शय्यामा सारियो । अस्पतालमै आधा महिना बिताए । त्यसबीचमा अलपत्र रहेको घरायसी काम भने छिमेकीले सघाइदिए ।
जिल्ला अस्पतालमा लामो समय बस्दा पनि स्वास्थ्यमा सुधार नआएपछि कार्की परिवार कैलालीको धनगढीमा उपचारमा गए । निशर्ग अस्पतालमा दुई साता उपचार गरेपछि भने बेलुदेवीले बिरामबाट मुक्ति पाइन् ।
••••••••••••
तलकोट गाउँपालिकाका रविन्द्र विष्टलाई ग्याँष्ट्रिकको समस्या भएको तीन वर्ष पुग्यो । जीवनको उत्तराद्र्धमा प्रवेश गरेका रविन्द्रको घर आगनमै छ, रूपातोलाको स्वास्थ्य चौकी । नजिकै स्वास्थ्य चौकी भए पनि उनलाई औषधीका लागि सदरमुकाम जानुपर्छ । कहिले स्वास्थ्यकर्मी नभेटिने त कहिले औषधि सकिएको भन्दै पठाउने हुँदा आजभोलि उनलाई स्वास्थ्य चौकी जानै मन लाग्दैन । स–सानो बिराम निको पार्ने औषधि नभएपछि जाने मन नै नलाग्ने गरेको उनले सुनाए ।
आफैँमा सुन्दर ठाउँ, त्यसैमा सुन्दर सेवा भएको भए यहाँका मान्छे कोही पनि बिस्थापित नहुने उनको बुझाई छ । ‘बिभिन्न समस्याका कारण अहिले मान्छे तराईबासी भइसकेका छन् । राज्यले दिएको सुविधा पनि प्रयोगबिहीन हुँदा यस्तो समस्या भएको हो ।’ उनले भने ।
••••••••••••
चारैतिरबाट हरियाली । सिरसिर बतास लाग्ने अग्लो डाँडा । वरपर मनोरम दृश्य । चराचुरुङ्गीको चिरविर आवाजले गुञ्जयमान भइरहन्छ ।
त्यो डाँडाको बीच भागमा देखिन्छ, एउटा पक्की भवन । झट्ट हेर्दा लाग्छ कि त्यो भवन कुनै आध्यात्मिक व्यक्तिले साधनाका लागि बनाएको हुन सक्छ भनेर । बस्तीभन्दा टाढा जंगलको बीचमा भएको दृश्यले आध्यात्मिक झल्को नै दिन्छ । तर, त्यो साधाना केन्द्र नभई स्वास्थ्य चौकी हो ।
दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनपसेला स्वास्थ्य चौकी । स्वास्थ्य चौकी वरिपरिका बस्ती हुन् चुवाबन, बाइकाट्या र सैन । बस्ती बाहिरको स्वास्थ्य चौकी भएकै कारणले मान्छेको आवतजावत प्रायः शून्य जस्तै हुन्छ ।
अघिल्लो वर्ष विदेशी पर्यटकको एक टोली सदरमुकाम चैनपुरबाट दुर्गाथलीतर्फ लम्कियो । दुर्गाथलीको वडा नम्बर ५ मा पुगेपछि त्यो टोली उकालो चुवाबनतर्फ लाग्यो । बीच बाटोमै टोलीका एक सदस्यलाई स्वास्थ्यमा समस्या भएपछि टोली सैनतिरै फर्कियो । नजिकैको स्वास्थ्य एकाइमा उपचार ग¥यो र दोस्रो दिन उकालो चढ्यो । लेकाली भेगको हरियालीसँगै रमाइलो गरेर टोली स्वास्थ्य चौकी पुग्यो ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू बिरामीको पर्खाइमा थिए । स्वास्थ्य चौकीमा कार्यरत अहेव विकास रोकाया सम्झन्छन्, ‘टाढैबाट देखिएको हुँदा आज त बिरामीहरू आए भन्दै तयारी अवस्थामा बसेका थियौं । उनीहरू पर्यटक रहेछन् ।’ चुवाबनतर्फ हिडेको पर्यटकको टोलीले केही बेर स्वास्थ्य चौकीमै बस्यो । ‘वाओ ! भेरी ब्युटिफूल प्लेस !’ भन्दै तस्बिर खिच्न थाल्यो,’ उनले भने, ‘केही बेर हामी गफियौं । उनीहरूले चारैतिरबाट अग्लो तथा उज्यालो ठाउँमा स्वास्थ्य चौकी भएको हुँदा उनीहरूले त्यसलाई पर्यटनको कार्यालय राख्न सुझाव दिए ।’
विकास आफैं पनि स्वास्थ्यकर्मी हुन् । उनको घर सैन हो । सरूवा भएर स्वास्थ्य चौकीमा आएको बेला गाउँघरका बिरामीको औषधी गर्न पाइने भयो भन्दै निकै उत्साहित थिए । तर, उनको उत्साह लामो समय टिकेन । ‘सुरूमा पासआउट हुने बेलामा पूर्वतिर थिए,’ उनी भन्छन्, ‘यता स्वास्थ्य चौकीमा दरबन्दी खाली भएपछि गाउँमै आएको । यता त बिरामी शून्य रहेछन् ।’
स्वास्थ्य चौकी गाउँभन्दा टाढा भएपछि बिरामीको संख्या अति कम भएको उनको बुझाई छ । ‘हाम्रो गाउँबाट स्वास्थ्य चौकी जान उकालो १ घण्टा हिड्नुपर्छ,’ उनी भन्छन्, ‘आज त कोही बिरामी आउन सक्छन् भनेर अलि छिटै गयो, उता बिरामी न सिरामी । अनि हाजिर लगायो, अफिस कुर्यो, फर्कियो । यस्तै छ दैनिकी ।’
सैनपसेला स्वास्थ्य चौकीमा विकास जस्तै १० जना स्वास्थ्यकर्मी छन् । दरबन्दी पनि एचए, एएनएम, अहेव र कार्यालय सहयोगीसहित १० जनाकै छ । स्वास्थ्यकर्मीहरु पनि दैनिक रूपमा स्वास्थ्य चौकीमै हुन्छन् । तर, बिरामीको नाममा भने कहिलेकाँही गोठाला जानेहरूको कतै हात खुट्टामा चोट लागेपछि आउनेबाहेक अन्य बिरामीको संख्या अत्यन्तै कम भएको स्वास्थ्य निरीक्षक मनोज जप्रेल बताउँछन् ।
‘म यहाँ काम गर्न थालेको ५ वर्ष भयो,’ निरीक्षक जप्रेलले भने, ‘सुरूसुरूमा बिरामीको चाप नै हुन्थ्यो । त्यसपछि स्वास्थ्यकर्मी पनि थपिए । तर, पछिल्लो समयमा भने महिनामा १५ दिन बराबर शून्य बिरामी हुन्छन् । बाँकी १५ दिन जति दैनिक रूपमा एक÷दुई जनाभन्दा बढी बिरामी हुँदैनन् ।’
सैनपसेलाका स्वास्थ्यकर्मीहरू बिरामीको सेवा गर्न चाहन्छन् । तर, बिरामी बिहीनको स्वास्थ्य चौकी भएपछि दिनभर घाम तापेरै बस्नुपरेको छ । ‘हामी स्वास्थ्यकर्मी हौं,’ जप्रेलले भने, ‘बस्ती बाहिरको स्वास्थ्य संस्थामा बिरामी नै आउँदैनन् ।
हामीले बिरामीलाई फोन गरेर बोलाउन सकिन्न । हामीले के गर्नु ?’ बस्ती नजिक स्वास्थ्य चौकी सार्नका लागि ताकेता गर्दा पनि सम्बन्धित निकायले नसुनेको उनी बताउँछन् । उनका अनुसार स्वास्थ्य चौकीबाट नजिकको गाउँ हो सैन । सैनबाट १ घण्टा, चुवाबनबाट २ घण्टा र बाइकाट्याबाट स्वास्थ्य चौकी पुग्न ३ घण्टा समय लाग्छ । तर, बस्ती नजिक सार्न कुनै निकायले चासो नदिएको उनी बताउँछन् ।
सैनपसेला स्वास्थ्य चौकी मातहत अहिले गाउँ गाउँमा स्वास्थ्य इकाई तथा वर्थिङ सेन्टरहरु छन् । स्वास्थ्य इकाईमा २ जना र वर्थिङ सेन्टरमा १ जना कर्मचारीले गाउँ गाउँमा सानो तिनो सेवा दिएपछि बिरामीहरु स्वास्थ्य चौकीमा घटेको उनी बताउँछन् । ‘स्वास्थ्य चौकी टाढा हुँदा इमरजेन्सीका बिरामी पनि अन्यत्रै जाने गर्छन्,’ उनले भने, ‘स्वास्थ्य चौकी सबै गाउँबाट टाढा छ । उकालो पनि छ । इमरजेन्सी बिरामी सैनपसेलाभन्दा अर्को पालिकामा जान छिटो र सजिलो मान्छन् । त्यसैले यहाँ खासै बिरामी आउँदैनन् ।’
••••••••••••
खप्तडछान्ना गाउँपालिका–१ की सत्य जोशीले पनि त्यस्तै समस्या भोगे । सामान्य सितखरो सन्नीपात (टाइटफाइट) को समस्या भएर पौवागढी स्वास्थ्य चौकीबाट ल्याएको औषधीले सञ्चो नभएपछि जिल्ला अस्पताल पुग्नु परेको सुनाए । आफन्तहरूको सहयोगमा जिल्ला अस्पतालमा जाँदा उपचार सम्भव भयो ।
घर आँगनमै रहेका स्वास्थ्य चौकीमा प्रर्याप्त औषधी तथा जनशक्ति नहुँदा सामान्य बिरामको उपचारका लागि पनि अस्पताल धाउनुपर्ने उनको गुनासो थियो ।
यसरी राज्यले दिएको सुविधा पनि कतै दुरुपयोग त कतै प्रयोगबिहीन हुँदा स्वास्थ्य चौकीहरू सेवाग्राहीको विश्वास गुमाउँदै आएका छन् । जयपृथ्वी नगरपालिका–४ का लोकेन्द्र जोशी भन्छन्, ‘राजनीतिक नियुक्ति हुनु, दरबन्दी प्रर्याप्न नहुनु, औषधि समयमै नपुग्नुजस्ता समस्या, बिरामीसँग खासै चाँसो नराख्नेजस्ता समस्याले स्वास्थ्य संस्थाहरू विश्वास गुमाउँदै आएका छन् ।’
उनी यसको जिम्मेवार स्थानीय तह हुनुपर्ने बताउँछन् । ‘यसमा स्थानीय सरकार अति नै जिम्मेवार हुनुपर्छ । राज्यले दिएका ९८ थरीको निःशुल्क औषधिहरू नपाएर बिरामीले निजी मेडिकलबाट किन्नुपर्छ । स्थानीय सरकार जिम्मेवार भएको अवस्थामा सबैलाई राहत मिल्ने थियो ।’ जोशीले भने ।
दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्याल विभिन्न समस्यामा रहेका स्वास्थ्य चौकीलाई चलायमान बनाइरहेको बताउँछन् । ‘हाम्रो पालिकामा कसैले सुविधा नपाएको भनेर खबर आएको छैन । बस्ती बाहिरका स्वास्थ्य चौकीलाई बस्तीमा ल्याउने तयारी गरिरहेका छौँ ।’
दौल्यालले जनतालाई सुविधा दिनका लागि सबै सरोकारवालाहरू दृढ इच्छाशक्तिका साथ लाग्नुपर्ने बताए । ‘यहाँ सबै जिम्मेवार व्यक्तिहरू विभिन्न पदमा हुनुहुन्छ । सबैले जनताको सेवा गर्छौं भनेर संकल्प लिनुभएको छ । यति संकल्प लिने व्यक्तिले बदमासी गरेमा, वेवास्ता गरेमा, अनुपस्थिति भएमा सबै पालिकाले डन्डा चलाउनैपर्छ ।’ उनी भन्छन् ।
फेसबुक प्रतिक्रियाहरु