बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • साइपालको माझामा ‘अमेरिकी सेना’ भन्ने खबर भ्रामक
समाचार

साइपालको माझामा ‘अमेरिकी सेना’ भन्ने खबर भ्रामक

बझाङ । राजनीतिक विश्लेषक भरत दाहालले साइपाल गाउँपालिकामा अमेरिकी सेनाले सैन्य क्याम्प स्थापना गरेको भन्ने भिडियो फुटेज सार्वजनिक गरेपछि सरोकारवाला सबैले विरोध जनाएका छन् । दाहालले युट्युबमा भिडियो सामाग्री राख्दै बझाङको साइपाल क्षेत्रमा अमेरिकी सैन्य क्याम्प खडा भएको, त्यसमा केही व्यक्तिले एजेन्टको रूपमा सहयोग गरेको भन्ने अभिव्यक्ति दिएपछि उनको विरोध भएको हो ।

दाहालले प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री, सम्बन्धित पालिका र सरकारलाई अमेरिकी सैन्य क्याम्प खडा गर्दासमेत एजेन्टको काम गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस तरुण दलका अध्यक्ष विष्णु ऐडी, स्थानीय विराट कठायत, साइपाल गाउँपालिका ठेगाना दिइएकी रञ्जिता धामीले अमेरिकी सैनिकलाई सहजीकरण गरेको भन्ने भिडियो चौतर्फी फैलिएपछि साइपाल गाउँपालिकाले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

दाहालले नाम जोडेपछि आफू आश्चर्यमा परेको ऐडीले बताएका छन् । उनले आफू अहिलेसम्म साइपाल गाउँपालिका समेत नपुगेको जनाएका छन् । दाहालले सैन्य क्याम्प खडा गरेको दाबी गरेपछि साइपाल गाउँपालिकामा अफवाह फैलाएर जनतालाई भ्रममा नपार्न आग्रह गरेको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साइपाल गाउँपालिकामा बाह्य शक्तिको उपस्थिति छैन । त्यो क्षेत्रमा गाडी पुग्ने सडक छैन । राहत पनि सीमित मात्रामा गएको छ । चर्चामा रहेका कुरामा सत्यता छैन ।’ साइपाल गाउँपालिका अध्यक्ष मानबिर बोहराले पनि हल्लाका पछि नलाग्न अनुरोध गरेका छन् ।

‘दाहालको भिडियोअनुसार माझामा अमेरिकी सेनाले ट्रकका ट्रक चामल ओसारेकोसमेत भनेका छन्,’ बोहराले भने, ‘उनले भनेको कुनै कुरामा पनि सत्यता छैन । साइपालमा सडक सञ्जालबाट धेरै टाढा भएको र साइपाल पैदल यात्रा गर्दासमेत पाँच दिन हिड्नुपर्छ । त्यो ठाउँमा कसरी जान्छ गाडी ? कसरी गए अमेरिकी सेना ?’ उनी प्रश्न गर्छन् । उनले यस्ता भ्रामक समाचारले राष्ट्र र राष्ट्रियतामा नै प्रश्न उठ्ने भएकाले कुनै प्रमाणबिना यस्ता खबर नफैलाउन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि दाहालको अभिव्यक्ति भ्रमपूर्ण भएको बताएका छन् । उक्त क्षेत्रमा कुनै बाह्य शक्तिको उपस्थिति नरहेको पाण्डेले दाबी गरे । ‘सामाजिक सञ्जालमा उक्त विषय चर्चामा आएपछि आफूले जनप्रतिनिधि, सुरक्षा निकाय स्थानीयसँग सोधपुछ गर्दासमेत उनले बोलेको कुनै कुरा तथ्य भेटिएन ।’ पाण्डेयले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार