सोमवार, पुस १, २०८१
Breaking News

क्वाटरमा कुमारीत्व !

युगीन विवेक

रजस्वला हुनु अगावै एक बालिकाको ‘कुमारीत्वको मूल्य’ कति ? एक सय ? एक हजार ? कि एक लाख ? कति त ? उनले यसका लागि मात्र एक ‘क्वाटर’ मागेकी थिइन्, सिर्फ एक क्वाटर ‘सराब’ । यस घटनाले मलाई लामो समयसम्म सोचमग्न र बेचैन बनाएको थियो । म बाँचेको जुन भूगोलको बनावट हो । जुन समाजको संरचना हो त्यस हिसाबले यस कुरालाई लिएर सामान्यीकरण पनि गर्न सकिन्थ्यो होला । तर, त्यो दिनको घटनाले मलाई अझैसम्म झस्काइ रहन्छ । किन–किन मलाई यो विषय असामान्य हो भन्ने लाग्यो । अहिलेसम्म त्यहि कुराले गिदीमा बेलाबेला हतौडाले झैं हिर्काउँछ ।

मेरो साथी प्रेम र म नास्ता खाने तरखरमा थियौं उनी टुप्लुक्क आइपुगिन् । म बेकामेको लागि दिन काट्न मुस्किल भएपछि एकदिन उसँग घुम्न निस्कने भएँ । खासमा ऊ घुम्न हैन आफ्नो ‘फिल्ड वर्क’ तिर जाने भएको थियो । म बेरोजगारे ऊ रोजगारेसँग ‘ट्याम पास’ गर्न निस्केको थिएँ । नयाँ-नयाँ ठाउँ घुम्नु मेरो अभिरुचि हो । घरमा बस्दा-बस्दा छटपटी भएपछि मनमौजी ढंगले म उसँग निस्किएको थिएँ । त्यो दिन सडिल, सेरालागाउँ, भाटगाउँ, देवस्थली, आठबीस हुँदै घोडादाउना पुग्यौं । घोडादाउना खप्तडको फेदीमा अवस्थित एक सुन्दर गाउँ हो । घरबाट निस्किना साथ थलारी गाडको छेउछाउ भएर उकालै उकालो बाटो तय गर्नु थियो । खप्तड राष्ट्रिय निकुञ्जबाट बहने चिसो मन्द वायु र तलतिर देखिने बिस्खेतको जिउलोलगायत थलारातिरका खेतका फाँटहरूले बडो मोहित बनाउँछ ।

थलारा बाइसे चौबीसे राज्यकालमा बाइसे राज्य मध्येको एक राज्य थियो । यसै थलारा खोली बजारको एउटा सानो होटेलमा नास्ता अर्डर गरेर पछाडिपट्टी ढुसी गनाउने झुत्रा क्याविनमा बसेर थकाइ मेटाउँदै थियौं । प्रेम चुरोटको धुँवा उडाउँदै थियो । म एउटा बेन्चमा थकाइ बिसाउँदै थिएँ । हो, त्यसैबेला सपना (नाम परिवर्तन) हाम्रो अगाडि प्रकट भएकी हुन् । एउटा सिंगो युगले चुसेर मिल्काएको उनको अनुहार बडो निरीह र निकै टिठलाग्दो देखिन्थ्यो । सपनाको अनुहार कुन वादले चपाएको थिएन ? सामन्तवाद, ब्राह्मणवाद, भाग्यवाद, पुरुषवाद, जातीवाद, रुढीवाद र अहिले आएर दलाल पुँजीवाद ! भए जतिका सबै वादले चपाएको अनुहार बोकेर सपना हाम्रो अगाडि ठिङ्ग उभिएर एउटा बिन्ती बिसाइन् “मुलाई एक क्वाटर मागिदिहेल हजुर ।” त्यसो भन्नुभन्दा अगाडि उनले हामीलाई टाउको थोरै झुकाएर जदौ (दलित समुदायले गैरदलित समुदायलाई गर्ने नमस्कार) गरेकी थिइन् ।

सपना हाम्रो दिदी भन्न सुहाउने उमेरकी थिइन् । नास्ता खान मैले गरेको अनुरोधलाई इन्कार गर्दै उनले दोहोर्‍याइन् “मु नास्ता केई खान्न । साउजीबाट मेरा लागि एक क्वाटर मागी देऊ गोसाँई ।” यतिसम्म त मलाई केही लागेको थिएन तर जब उनले यो पनि भनिन्, “मेरी चेली ऐल १२ वर्षकी भई । ऊ छाउ (रजस्वला) भयाकी आछिन (छैन) । तमी जेई भन्ना छौ मु तेई अरुँला । नहुन्या मेरा बा की जोई हुन्या ।” सपना अरुको हैन आफ्नै छोरीको कुमारीत्वको कुरा गरेकी थिइन्, जो १२ वर्षकी मात्र थिइन् । महिनावारी नभएकी एक बालिका । उनको यो अनुरोध अनौंठो मात्रै थिएन । यो त एक भयंकर डरलाग्दो याचना पो थियो ! सपना यी शब्दहरू मेरो मानसपटलमा अझै घोचिरहन्छन् ।

त्यसपछि हो मलाई हजार भोल्टको करेन्ट प्रवाह भएर गिदी हल्लिए जस्तो भएको । उनले यसरी भन्न नभ्याउँदै मलाई झननन भयो । निधार र आँखा एकै पटक खुम्चियो । अचानक गला अबरुद्ध भयो । केही निमेषलाई मस्तिष्क शून्य भयो । म लाटो भएँ । सपना केके बोल्दै थिइन्, मलाई त्यति ध्यान हुन छोड्यो । मलाई उनले बोलेका ती शब्दहरूले यति सोचमग्न बनायो कि म के गरौं ? के भनौं ? के जवाफ दिउँ भयो । केहीबेरसम्म त म केही सोच्नै भ्याइन । उभिएको धरातल भास्सिए जस्तो भयो । स्तब्ध भएँ । चेतना शून्य-शून्य भयो । सपनाको याचनाले साथी पे्रमलाई छोएजस्तो मलाई लागेन । ऊ हेर्दा सामान्य देखिन्थ्यो । सपनाको अनुहारमा स्तब्धका नीला रेखा ओहोर दोहोर गरेर दौडेको मैले चाल पाइनँ । उनी त्यहाँ आउनु अगाडि नै थोरै दारु पिएर आएकी थिइन् र त्यसले नपुगेर थप नशा लिनका लागि हामी कहाँ याचना गर्न आइपुगेकी थिइन् । उनको अलिअलि लर्खराएको बोली र अनुहारमा आएको भावभङ्गी पढ्दा मैले त्यसो अनुमान गरें ।
यो आजभन्दा सात वर्ष अगाडीको कुरा हो । साँचै त्यो भन्दा पाँच वर्ष पूर्व उनले गरेको त्यो याचनालाई म कसरी बुझ्दो हुँ ? जब म किशोर उमेरको उत्तराद्र्धमा थिएँ । आज भन्दा १२ वर्ष अगाडि त्यो प्रस्ताव सपनाले मलाई राखेकी भए मसँग के उत्तर हुँदो हो ? मलाई पहिलो पटक पितृसत्तात्मक समाजको पुरुष हुनुको हिनताबोध भयो ।

सम्भवः म १०/१२ वर्षको हुँदा होला गाउँघरतिर दाइ, काका उमेरकाहरूबाट उनको सुन्दरताको बखान गरेको सुन्थ्यौं । थलाराभर उनको चर्चा खुबै हुन्थ्यो । सपनालाई मैले पहिलो पटक कहिले देखें याद छैन । सायद जन्त, मेला या यस्तै अन्य कुनै पर्वमा देखें जस्तो लाग्छ । यादहरूलाई सम्झाएर ल्याउने हो भने उनी खुबै रुपसी सम्झन्छु । त्यो किशोर कालमा देखेको उनको तेजस्वी यौवन सम्झन्छु र अहिले अभावले गाँजेको उनको जीवन सडकमा असरल्ल भेट्छु । कहिले झोता बजारतिर भोकले चाउरीएको अनुहार वेदनाको चङ्गुलमा राखेर हिँडेको देख्छु । कहिलेकाँही चैनपुरका भोका गल्लीहरू सन्ध्याकालमा उनकै देह चपाउन कुरेझैं लाग्छन् । उनका रंगीन सपनाहरू आफ्नै जीवनमाथि पोत्न नपाएर आँखाभित्रै गुजुल्टिएका भेटिन्छन्, त कहिले आँसु बनी परेलामा झुण्डीएका देखिन्छन् । भोकले आयतन फैलाएपछि लत्रिएको टाउकोमाथि अभावको हतौडाले हिर्काएपछि लर्खराएका खुट्टा जब देख्छु, निकै गम खान्छु । यस्तो पनि हुँदो रहेछ ? मनमा प्रश्नहरूको हुण्डरी मच्चिन्छ । सपनालाई यो अवस्थामा पुर्‍यायो कसले ? दोषी को हो समाज कि राज्य ? कि हिन्दु वर्ण तथा जात व्यवस्था ? केही अंश मेरो पनि दोष छ कि ? पितृसत्तात्मक समाजको हुर्काइबाट आएको मैले पनि कहिँकतै पुरुष अहंकारको ढुङ्गा उनीतिर हिर्काएँकी ? आफूलाई मानवता, सामाजिक न्याय र लैङ्गिक समानताको कठघरामा उभ्याएर प्रश्न सोध्छु । अलिअलि दोष आफ्नो पनि भेट्छु ।

हिन्दु वर्ण व्यवस्थाको मार

हिन्दु वर्ण व्यवस्थाको चरम मारमा कोही परेको छ भने त्यो दलित समुदाय हो । यो अकाट्य सत्य कथित उपल्लो तप्काले सहजै स्वीकार्दैन । देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सम्भवः सबैभन्दा ठूलो बलिदानी दिने समुदायमध्ये एक यो पनि थियो । त्यो परिवर्तनले निश्चित जाति÷नश्लको वर्गीय तथा सामाजिक उन्नयन, आर्थिक उत्थान र राजनैतिक हैसियत उकास्ने काम भने ग¥यो तर दलित समुदायको जीवनमा भने आशातीत परिवर्तन आउन सकेन । एउटा सत्य के हो भन्दा दोस्र्रो जनआन्दोलनले एउटा उभार भने ल्यायो । त्यो थियो, चेतनाको जागरण । त्यस परिवर्तनले थोरै भए पनि सामाजिक, साँस्कृतिक र संकुचित जातीय सोचलाई केही हदसम्म फराकिलो बनाउने कोसिस भने ग¥यो । आरक्षण प्रणालीले दलित समुदायमाथि सदियौँदेखि राज्यले गर्दै आएको दमन, अत्याचार, थिचोमिचो र राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वन्चित जो गराइएको थियो । जुन घाटालाई दलित, अल्पसङ्ख्यक तथा पिछडा वर्गले बेहोरेको थियो । उक्त घाटालाई आरक्षण प्रणालीमार्फत् क्षतिपूर्ति भर्ने कोसिस गर्‍यो । यो लोकतान्त्रिक गणतन्त्रको अर्काे उपलब्धि थियो ।

लामो कालखण्डसम्म शासकवर्गले धर्मलाई हतियारको रुपमा प्रयोग गर्‍यो । धार्मिक कानुनमा टेकेर बादी समुदायलाई ‘मागीखाने जात’ भनेर काम गरेर खाने अवस्थाबाट टाढा राख्यो । यसरी उनीहरूको श्रम गर्ने बाटो बन्द गरियो । त्यसमा जात व्यवस्थाको अहम् भूमिका रह्यो । आयआर्जनको कर्म गर्न पनि जात व्यवस्था अड्चनको रुपमा अगाडि उभियो । त्यो बखत अर्थाेपार्जनका दुईवटा मुख्य स्रोत थिए कृषि र पशुपालन । खेतमा अन्न उब्जाई त्यसलाई बेचेर अर्थ उपार्जन गरौंभन्दा जमिन छैन । अरूको खेतमा काम गर्न जाउँ रोप्न, हलो जोत्न आउँदैन । उनीहरूलाई मागी खाने बनाई सकेपछि । जमिनबाट टाढै राखेपछि खेती किसानीको काम नआउनु अस्वभाविक भएन । आयको त्यो बाटो बन्द भयो । पशुपालन गरेर दूध, दही, घ्यू, चिया बेचौँ भने कसले किन्ने ? अधिकांश उपभोक्ता गैरदलित समुदायको बाहुल्य भएको ठाउँ थियो । सम्भावनाको दोस्रो ढोका पनि थुनियो । गैरदलित समुदायले मह, घ्यू कन्टरका कन्टर झुलाघाट, टनकपुर पुर्‍याएर अर्थोपार्जन गर्‍यो भने बादी समुदायले त्यो गर्नसक्ने वातावरण नै भएन ।

हिन्दु वर्ण व्यवस्थाको आधारमा हाम्रो सामाजिक संरचना हेर्ने हो भने सवै भन्दा पछाडि पारिएको सिमान्तकृत समुदाय हो, बादी समुदाय । यो समुदाय जातीय छुवाछुत र भेदभावबाट अन्य जातिभन्दा उत्पीडनमा परेको प्रष्ट देखिन्छ । सामाजिक सोपानमा तल रहेको यो उत्पीडित समुदायका महिलाहरूको अवस्था झन् निकै दयनीय र जर्जर रहेको छ । हिन्दु वर्ण व्यवस्था मनु कालमा भयंकर अमानवीय, कुसंस्कारी र यति क्रुर रहेछ भन्ने कुरा त समाजमा विद्यमान जातीय विभेदका अवशेषहरूबाट सजिलै थाहा लाग्छ । धार्मिक ग्रन्थहरू, जनश्रुतीहरू तथा ऐतिहासिक दस्तावेजलाई केलाउने हो भने पनि त्यो समय निकै कहालीलाग्दो थियो भन्ने सहजै अनुमान गर्न सकिन्न र ? यसरी हेर्दा हिन्दु वर्ण तथा जात व्यवस्थालाई मलजल गर्नु र हुर्काउनु मनुस्मृतिको भूमिका सबैभन्दा ठूलो रह्यो ।

जात तथा वर्ण व्यवस्था मानव जातिलाई विभाजित गर्ने एक ठूलो कलङ्कीय अस्त्रको रुपमा दक्षिण एसिया तथा भारतीय उप–महाद्धीपका विशेषः हिन्दु बहुल देश नेपाल–भारत लगायतमा देखिन्छ । जात व्यवस्थाले मानवीय संवेदना, भावनाहरूलाई थिलथिलो बनाएर अलग बनाइदिएको छ । यसै जात व्यवस्थाको दलानमा जन्मिएकी सपनाको यौवन कथित मल्लो जाति भनाउँदाहरूले जीवनभर कसरी चुस्यो सजिलै सोच्न सकिन्छ । उनी गरिब परिवारमा जन्मेर होइन, कथित दलित (बादी) परिवारमा जन्मेकीले सपनामाथि मनचाइँदो ढंगले खेल्छ पित्तृसत्ता, पुरुष अहंकार र जात व्यवस्था ।

भारतको केरला राज्यकी नाङ्गेली नामक महिलाले आफ्ना दुवै स्तन काटेर हिन्दु धार्मिक पाखण्ड, र यसै धर्मको जगमा उभिएको पितृसत्ताका विरुद्ध विद्रोह गर्ने आँट त्यसै गरेकी थिइनन् । समानता र जातीय विभेदका विरुद्ध डा. भीमराव अम्बेडकरले बुलन्द गरेको आवाज र योगदान कम थिएन । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँहको मानवतावाद पनि समाजमा विद्यमान जातीय विभेद विरुद्धकै एउटा कदम थियो भन्न सकिन्छ । लामो कालखण्ड जातीय विभेदको आफरमा आफूलाई जोत्दै आएको यो समुदाय हिजोआज अशिक्षा, बेरोजगारी, गरिबी, भूमिहीनता जस्ता जटिलतासंग जुध्दैछ । अझ त्योभन्दा भीषण समस्या त जातीय विभेदजन्य कारणले हुने कठोर मानसिक यातनाबाट गुज्रिएर सकसपूर्ण जीवन जिउनु परेको तीतो यथार्थ हाम्रो सामु उभिएको छ ।

पितृसत्ताको उन्माद

पितृसत्तात्मक समाजमा जसरी महिलाहरू प्रताडित छन् के त्यसैगरी मातृसत्तात्मक कालमा पुरुषहरू पीडित थिए होलान् ? यसको उत्तर सजिलो भने छैन । तर यस्तै नहुँदो हो भन्ने मेरो ठम्याइ हो । हिन्दु वर्ण व्यवस्थाले कुल्चेको उनको जीवनलाई पित्तृसत्ताले थिलथिलो बनायो र नराम्रोगरी गिजोल्यो । मनलाग्दो गरेर आफ्नो वरीपरि नचायो । पितृसत्ताको पुरुष उन्मादले उनलाई कहाँ-कहाँ निचोरेन ? कहाँ-कहाँ चिथोरेन ? उनको कुमारीत्वको मोलमोलाई भएन कि ? ओछ्यानमै गएर आधारातमा लालाबालाहरूको सपना बिथोलेर बिचल्ली पारेन कि ? बाटोमा हिँड्दै गर्दा लत्र्याएर एकाग्र भंग गरेन कि ? विहे भोजमा नाच्दा नाच्दै उनकै श्रीमान् अगाडि उनलाई आफ्नो ह्वास्स गनाउने पित्तृसत्ताको बाहुपासोमा खैंचेन कि ? पुरुष उन्मादले उनलाई कहाँ-कहाँ के-के मात्र गरेन ? खान मिल्ने भए उनको अंग अंगका चोक्टाहरू लुछेर खान्थ्यो अहंकारी पुरुषले । उसै पनि उनलाई चपाएर घायल बनाएकै छ, एकतवरले ।

ऐंजेरुले त्यति पोल्दैन होला जति रक्स्याहाका नङ्ग्राहरूले पोल्छ । मौका पाउने बित्तिकै पित्तृसत्ताको अहम्ले निरिह स्त्रीलाई ब्वाँसोले झैं आन्द्राभुँडी लुछिलुछि खान सक्छ ! तिता, टर्रा भोगाइका यस्ता असंख्य पहाडहरू बोकेर हिड्दा गौंडा गौंडामा ढुकेर बस्ने मान्छेको अनुहार भएका भोका ब्वाँसाहरूबाट फुत्किन सकस झेल्नु परेको पीडाका खात गन्न नसकिने छन् ।

बादी समुदाय फागुन चैत लाग्यो कि आफ्नो थातथलो खोली बजारबाट मौसमी बसाइँ सथ्र्याे, लामातालको ओढारमा । जो मेरो घर नजिकै पथ्र्याे । यस ओढारमा करिब ८/१० परिवार बस्नेजति ठाउँ हुँदो हो । त्यतिबेला यो बाटो निकै चल्तीको थियो । लाहुर्‍या (भारतबाट आउने नेपालीहरू) आएर माथि चैनपुर, साइपालसम्म जाने गर्थे । यो समुदाय भेडा, खच्चर लिएर हिड्ने/बास बस्ने व्यापारी हरूलाई नाचगान गरेर मनोरञ्जन गराउँथ्यो । स्याउली हालेर, भारी बोकेर, सेती नदी वा गाडतिर गएर बल्छी थाप्दै माछा मारेर गुजारा टाथ्र्याे । यहाँ तीन चारवटा होटल तथा पसल थिए ।

एकदिन इन्द्रकला (नाम परिवर्तन) खोली बजारबाट लामाताल जाँदै थिइन्, एक जना दाइ यताबाट बेतोडले दगुर्दै गए उनको र आफ्नो भेट एउटा सानो खोल्सोमा हुने गरी । तर, बीच बाटोमा पुगेपछि उनका श्रीमान् देखापरे र ती दाइ खिस्रिक्क परेर फनक्क फर्किए । त्यतिबेला उनी त्यहाँ किन जान खोजेका थिए ? गइसकेपछि के गर्थे, के हुनेवाला थियो ? अलिअलि बुझ्ने भएको थिएँ । यो दृश्य पितृसत्ताको निचतम नमुना रहेछ भन्ने धेरैपछि बुझें । यो एउटा प्रतिनिधि घटनामात्रै थियो । यस्ता हजारौं घटनाहरूको सामना गरेका छन्, बादी समुदायका महिलाहरूले ।

मानिस जस्तो हिंस्रक यो सृष्टिमा अरु कोही छैन । मान्छेहरू बाघलाई हिंस्रक जन्तु ठान्छन्, जो कि बाघको आहारा भनेको नै जन्तु हो । जनावरलाई नखाइ घाँस खाओस् त बाघले ? के बाघ मान्छेभन्दा हिंस्रक छ ? के मान्छेको आहारा मान्छे हो ? हैन भने मान्छेले मान्छेको हिंस्रक ढंगले सिकार गरिरहेको छैन र ?

पुँजी, जमिनमाथिको स्वामित्व

हिजोसम्म सिङ्गो बादी समुदायको कुनै पनि व्यक्तिको नाममा एकटुक्रा जमिनको स्वामित्व थिएन । न त पुँजी विकासको कुनै स्रोत थियो । थियो त केवल उनीहरूसँग नाच्ने, गाउने कला । मादल तथा माटोका भाँडा बनाउने सीप । यत्ति थिए भोक मार्ने माध्यम र जिउने आधार । लामो कालखण्डदेखि सुन्दर कला र संस्कृतिको धनी रहँदै आएको यो समुदायलाई आजभोलिको दलाल पुँजी बजारमा बाँच्न र टिक्नै धौधौ परेको छ ।

परदेश भास्सिउँ बाटो खर्च छैन । रिन मागौं हुनेखानेहरूले पत्याउने हैन । उता गइहाले पनि लेखपढ छैन । उताको माग बमोजिमको आफूमा सीप छैन । परम्परागत सीपमाथि अहिलेको नयाँ प्रविधि र बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामाग्री हाबी भएपछि उनीहरूको पेशा चौपट भएको छ । कुनै आर्थिक उपज गर्नका लागि न त यो समुदायसँग एक टुक्रा जमिन छ न त पुँजी । भू-स्वामित्व हुन्थ्यो भने सम्भावनाका ढोकाहरू सजिलै खुल्थे र जिविका चलाउन सहज हुन्थ्यो ।

यसरी धनआर्जनका सबै ढोका बन्द भइसकेपछि महिलाहरू देह व्यापारमा धकेलिँदै आए । यसो भनौं, खासमा उनीहरूलाई धकेलीन बाध्य पारियो । त्यसपछि घरका महिलाहरू आयस्रोतको माध्यम बने । उनीहरू नै सम्पतिको रुपमा देखा परे र कबिला (परिवार) को मूल खाँबोको भूमिकामा उभिनु पर्‍यो । श्रीमतीलाई लोग्ने र छोरीलाई बुवा आमाले भोकको आयतन घटाउने साधनका रुपमा अगाडी सार्नुपर्ने कठोर बाध्यता आइलाग्यो र आफूहरू निरीह प्राणीजस्तो छेउमा बसेर टुलुटुलु हेरिरहनु सिवाय अर्काे विकल्प रहेन । अहिले उनीहरू जमिन हुनेहरूको खेतमा पोर्साे (मल) ढुङ्गा र भारी बोक्न अभिसप्त छन्, त कोही कोही आजभोलि कालापहाड, देहरादुनतिर खुन पसिना बगाएर गुजारा गरिरहेका छन् ।

अन्तमाः

अब उनीहरू क्रुर जात व्यवस्थाको चङ्गुलबाट फुत्किन चाहन्छन् । जात व्यवस्थाको लुतोबाट पछिल्लो पुस्तालाई टाढै राख्न चाहन्छन् । आफूहरूले भोगेको नारकीय जीवन भोग्न नपरोस् भन्ने प्रयत्न गरिरहेका छन्, आमाहरू । हिजो भोक ठूलो थियो अब आत्मसम्मान सहितको जीवन जिउन चाहन्छन् उनीहरू । छोराछोरीलाई पढाएर शिक्षित र चेतनशील बनाउन चाहन्छन् । अब महिलाहरू पितृसत्ताको साँङ्लो, धार्मिक जडता, जातीय विभेदका जञ्जिरहरू तोडेर बाहिर निस्कन खोजिरहेका छन् ।

संसारका सबै प्रताडित महिला एकै स्वरमा चिच्याउने हो भने त्यो चित्कारले यो धरती हल्लिन्छ होला । सदीयौंदेखि नओभाएका ती लोचनबाट आक्रोशको आगो ओकल्नुपर्ने हो । तर, किन शान्त छन् आँखाहरू ? किन सुस्त छन् पाइलाहरू ? किन लर्खरिएका छन्, बोलीहरू ? किन मन्द छन्, आवाजहरू ? यदि मैले देखे सुनेजस्तो भइरहेको छैन/होइन भने म पित्तृसत्ताको दलदलबाट उठ्नै नसक्या हो कि त ?

अँ, साँच्चै कुमारीत्वको मूल्य कति पर्छ ? एउटी निरीह आमालाई एक क्वाटर सराबमा छोरीको कुमारीत्व साँट्ने हालतमा कसले पुर्‍यायो ? यो प्रश्न कसलाई गरौं ? सिंहदरबार, शीतल निवास सुतेको धेरै भयो ! राष्ट्रको प्रमुख अङ्गमा महिलाहरूको प्रतिनिधित्व भइसक्यो । सयौं आइएनजीओ, एनजीओले हजारौं कार्यक्रम गरिसक्यो । कयौं राजनीतिक दलहरूले उनीहरूकै भोटले जितेर सत्तामा दर्जनौं पटक प्रतिनिधित्व गरिसके ।

दलित/महिला/मानव अधिकारजस्ता थुप्रै विभिन्न आयोगहरू गठन गरिएका छन् । यिनीहरूको हकहितमा काम गर्ने कयौं संघसंस्था, संगठन तथा अधिकारकर्मीहरू छन् । खै ! यिनीहरू कसैले कुनै दिन सपनाहरूलाई छुन सक्लान् ? बर्सौंदेखि चहर्‍याइ रहेको घाउ सुम्सुम्याएर मलम लगाइदेलान् ? ग्रामीण महिलाहरूको जीवनमा आशातीत परिवर्तन कहिले आउने होला ? यसै बीचमा यता सेती नदीमा धेरै पानी बगिसक्यो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार