काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् ।
‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’
उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् ।‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? ’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’
अब परिस्थिति फेरिएको बताउँदै उनले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु