शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु
Breaking News

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका ५ बजेसम्म भोट हाल्न पाइने छ । मतदान केन्द्रमा भोट हाल्नका लागि मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन । अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।

भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ । मतदाता परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र लाइसेन्स वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्रको आधारमा पनि मतदान गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।

आयोगले अरूको नाममा मत नहाल्न, दोर्होयाएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए नभएको यकिन गर्न पनि आग्रह गरेको छ । देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवार रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार