शुक्रबार, अशोज ४, २०८१
Breaking News

को हुन् भानुभक्त जोशी ?

बझाङ । प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशी उम्मेदवार बनेका छन् । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको (बाम–लोकतान्त्रिक गठबन्धन) ले साथ दिएको छ । एमालेमा साढे ४ दशक समय बिताएका र अहिले एकीकृत समाजबादीबाट उम्मेदवार भएका जोशी छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी हुन् ।

वि.सं २०३५ सालमा शान्ति मावि चौघानपाटा पढ्दै गर्दा राजनीति चेत पलाएका भानुभक्त जोशीले २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौँ पटक गिरप्तारीमा परे ।

२०४६/४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंतिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । तर, झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

२०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा सदस्यको मूख्य काम संविधान बनाउनु थियो । तर, २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्षको तोकियो । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुर्नगठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षणमन्त्री जोशी थिए । उनको कार्यकाल ४ महिना मात्रै रह्यो । अहिले जोशी आउँदो मंसिरको ४ गतेका लागि उम्मेदवार भएका छन् ।

नेकपा एमालेमा हुँदा जोशीले जिल्लामा विभिन्न पद सम्हाल्दै जिल्ला नेतृत्व, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे भने गत वर्ष मात्रै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको उनी स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

आफू पदमा रहँदा महत्वपूर्ण काम गरेको जोशी सम्झन्छन् । २०५१ सालमा नेकपा एमालेको सरकार हुँदा जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षाभत्ता, आफ्नो गाउँ आफैं बनाऔंजस्ता दर्जनौँ लोकप्रिय काम गरिएको थियो । त्यससमय राजनीति स्थायित्व नभएकै कारण जुनसुकै सरकार आए पनि ५ वर्ष नटिक्ने अवस्था भएका कारण धेरै काम गर्न नसकेको उनले बताए ।

‘म राजनीतिमा आउँदा बझाङ जिल्ला सडक सञ्जालबाट धेरै टाढा थियो । डडेल्धुराको पोखराबाट बझाङी दाजुभाईले नुन तेल किनेर ल्याउनुपथ्र्यो । त्यो बाध्यतालाई बझाङ जिल्लामा सडक पुर्‍याउने जिम्मेवारीका साथ निरन्तर ट्याक खोल्ने काममा लागेपछि बझाङमा गाडी पुगेको हो ।’ ट्र्याक खोल्दे सडक ग्राभेल गर्ने काम गरेपछि पक्की सडक बनाउँदै आजको मितिसम्म सडक सञ्जाल विस्तार भएको उनी दाबी गर्छन् । उनको लक्ष्य सडकलाई ताक्लाकोटसम्म पुर्‍याउने छ । ‘यो सडकलाई चाँडोभन्दा चाँडो ताक्लाकोटसम्म पुर्‍याउँछौँ ।’ उनले भने ।

वडा वडामा सडक पक्की गर्नुपर्ने, विद्युत सबै गाउँमा पुर्‍याउने, केन्द्रीय प्रशारण लाइन नपुगेका ठाउँमा सबै विद्युत पुर्‍याउने, विभिन्न पालिकामा ग्रामीण विद्युतीकरण गरेर अघि बढ्ने, टेलिफोन सेवालाई स्तरीकृत बनाउनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषिमा आमुल परिवर्तन गर्ने, चिकित्सक तथा अन्य स्वास्थ्य संस्थामा स्तरयुक्त गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका योजनाहरू जोशीले अघि सारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार