बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पृथ्वीबहादुर सिंह र अफिलाल ओखेडाबीच प्रतिष्पर्धा
Breaking News

पृथ्वीबहादुर सिंह र अफिलाल ओखेडाबीच प्रतिष्पर्धा

बझाङ । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि बझाङ १ बाट नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह र नेकपा एमालेका नेता अफिलाल ओखेडाबीच प्रतिष्पर्धा हुने भएको छ । लामो समय जिल्लामा राजनीति गर्दै आएका दुवै जनाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । मनोनयन दर्ताको बेला कांग्रेस नेता जगतप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि निराश बनेका कांग्रेस र एमाले उनको उम्मेदवारी फिर्तापछि भने क्षेत्र नम्बर १ आफ्नै पोल्टामा आउने दाबी गरिरहेका छन् ।

सिंहलाई बाम–लोकतान्त्रिक गठबन्धन (नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र)को साथ छ भने अफिलाल ओखेडालाई एमालेकै मतदाता बढी भएको भन्दै आफू जित्नेमा ढुक्क देखिएका छन् । सिंह र ओखेडा बझाङको राजनीतिमा नयाँ अनुहार नभए पनि प्रत्यक्षमा जितेर सार्वजनिक पद धारण भने गरेका छैनन् । ओखेडा समानुपातिक सूचीबाट संविधानसभा सदस्य भएका हुन् भने सिंह २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका भैरवबहादुर सिंहसँग पराजित भएका हुन् ।

को हुन् पृथ्वीबहादुर सिंह ?

सिंहले २०३१ सालमा एसएलसी पास गरेपछि ०३२ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भएर नेविसंघको सदस्यता लिएर राजनीति प्रारम्भ गरेका हुन् । सिद्धनाथ क्याम्पसकै पहिलो पहिलो व्याच नै सिंहको थियो । त्यसपछि २०३६ सालको जनमत संग्रह हुँदा उनी नेपालगञ्जमा कानुन पढ्न गएका थिए । नेपालगञ्जमा उनी नेविसंघको जिल्ला सभापति भएर काम गरे । २०४२ सालमा सत्याग्रहमा पनि भाग लिएका सिंहको त्यो बेलामा कञ्चनपुरमा बसोबास थियो ।

२०४६/४७ सालको जनआन्दोलनमा सरकारको विरोध गरेको आरोपमा उनलाई तत्कालिन सरकारले पक्राउ गरी कञ्चनपुरमै जेल हाल्यो । पछि ०४७ सालमा उनी बझाङ आए । त्यसै वर्ष भएको अधिवेशनमा सिंह नेपाली कांग्रेसको जिल्ला कार्य समितिको पार्टी सचिव भए । त्यस बेलामा जिल्ला सभापति सत्यराज भण्डारी थिए । दोस्रो अधिवेसनमा पनि सिंह सचिवकै जिम्मेवारीमा रहे । २०४९ सालमा गाविस अध्यक्ष पनि भए । २०५४ सालमा पार्टीले जिविस सभापतिको टिकट दियो तर, झिनो मतले पराजित भए ।

कांग्रेसमा तेस्रो अधिवेशन हुने बेलामा पार्टी बिभाजन भयो । तीन वर्षसम्म अलग अलग भएको पार्टी एकता हुँदा सिंह सभापति र भण्डारी सह–सभापति भए । २०६७ सालमा पुनः जगतप्रसाद जोशी, सिंह र भण्डारी पार्टी सभापतिका लागि लडे । त्यसमा पहिलो चरणमै सिंहले ५० प्रतिशत ल्याएर सभापति पद जिते । ०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा ७ हजारभन्दा बढी मतले पराजित भए । पार्टीमा भने महासमिति सदस्य हुँदै आएका छन् ।

अहिले उनको जित्ने आधार भनेको गठनबन्धन नै हो । लामो समयदेखि जिल्लामा क्रियाशिल भइरहँदा उनको लोकप्रियता पनि उत्तिकै छ । व्यक्तिकै लोकप्रियता भए पनि अघिल्लो चुनावमा बाम घटक मिलेर आफू पराजित भएपछि यो पटक भने ३ पार्टीसँगै चुनाव लडेर जितिने उनले सोच बनाएका छन् ।

‘चुनावमा सबै पार्टीको मत आउने भएकाले म ढुक्कसँग जित्नेछु,’ सिंहले भने, ‘हाम्रो बलियो आधार भनेकै गठबन्धन हो । त्यसपछि हामीले गरेका कामले पनि जनता सन्तुष्ट छन् । अहिलेसम्म कुनै सार्वजनिक पदमा नरहेको हुँदा यो पटक जनताले मलाई काम गर्ने ठाउँमा पठाउने छन् भन्ने विश्वास लिएको छु ।’

सिंहले अरूभन्दा फरक पहिचान र व्यवहार भएको हुँदा आफूलाई सबै पार्टीले पनि रूचाउने गरेको बताए । ‘म कार्यकर्ताको बीचमा गए पनि यसले केही गर्छ है भन्ने मनोभावना दर्शाउँछन् । कार्यकर्ताको विकासका लागि मैले फरक ढाँचामा जाउला सोचेको छु । त्यसैले म जित्नेछु । ३० वर्षदेखि जिल्लामा बसेर जेजति काम गरे त्यसको मूल्यांकन जनताले गर्नेछन् भन्ने लागेको छ ।’

को हुन् अफिलाल ओखेडा ?

२०५४ सालमा हेमन्डवाडा गाविस वडा नम्बर ५ बाट राजनीति सुरू गरेका ओखेडाको राजनीतिक यात्रा करिब साढे दुई दशक भइसकेको छ । पार्टीको वडा सचिवबाट राजनीति सुरू गरेको ओखेडाले २०५४ सालमै हेमन्तवाडा गाउँ कमिटीको अध्यक्ष भए । २०५७ सालमा इलाका कमिटीको सदस्य, ५९ सालबाट ६६ सालसम्म २ कार्यकाल जिल्ला कार्य समिति सदस्य भएर काम गरेका थिए ।

२०६६ सालबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, २०७० सालबाट अञ्चल कमिटी सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्जको रुपमा काम गरिरहेको छन् । नेकपा एमालेको आठौं र नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका ओखेडा उत्पीडित जातीय मुक्ति समाजको गाउँ कमिटी अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । २०४६ सालबाटै सत्यवादी माविबाट भानुभक्त जोशी, अर्जुनबहादुर सिंहलगायतका नेताहरूबाट प्रभावित भएर राजनीति चेत पलाएको ओखेडा ०५४ देखि भने राजनीतिमै होमिए ।

अहिले उनले जित्ने आधार भने २०५१ को जस्तै लोकप्रिय काम गर्नेछ । ‘२०५१ सालमा गाउँ विकास समितिमा गएको ३ लाख बजेट बिस्तारै विकासको गतिमा अगाडि बढेको छ,’ ओखेडाले भने, ‘३० वर्षको बीचमा जति हुनुपर्ने त्यति नभए पनि धेरै विकास भएको देखिन्छ । जिल्लामा पहिले घरहरु खरले छाएको र अहिले गाउँ गाउँमा पिल्लरवाला घरसमेत बन्दै गरेका छन् । सडक, खानेपानी, स्वास्थ्य, शिक्षाजस्तै सबै विकासका पूर्वाधारमा विकास भइरहेको उनले बताए । आफूलाई त्यस्तै विकासशील काममा इँटा थप्नका लागि पार्टीले उम्मेदवार बनाएको बताए ।

उनले एमालेकै सरकारको पालामा आलु जोन कार्यक्रम लागू भएको बताए । त्यसै कार्यक्रममार्फत् नै अहिले अहिले बझाङबाट वार्षिक ८/१० करोडको आलू निर्यात हुने गरेको छ । त्यस्तै कामका लागि पनि बझाङबाट एमालेले नेतृत्व गर्नुपर्ने उनले बताए ।

ओखेडाले निर्वाचन जित्नका लागि धेरै आधार सार्वजनिक गरेका छन् । जडिबुटी प्रशोधन केन्द्र बझाङमै बनाउने, घरघरमा राष्टिूय प्रशारण लाइन पु¥याउने, बझाङमा कृषि प्रणाली परम्परागत मात्रै भएको र आधुनिकीकरण कृषि प्रणालीतिर विकास गर्ने, भू–क्षयबाट कालंगा, सेती, बाहुलीगाड, सुनीगाड लगायतका नदीहरूबाट कटान भएका फाँटहरू तटबन्धन गर्ने, शुसासन कायम गर्नेलगायतका बुँदाहरू सार्वजनिक गरेका छन् ।

उनले राजनीतिक पेशा शासक नभई सेवक भएको बताए । ‘म राजनीतिमा प्रवेश गरेपछि आफूलाई कहिल्यै शासक ठानिन । जहिल्यै सेवक ठाने । फेरि त्यसलाई प्रमाणित गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले जयपृथ्वीबहादुर सिंहको जिल्लामा जनताको न्यायका लागि अग्रजलाई सम्मान गर्दै युवा पुस्ताबाट प्रतिनिधित्व गर्नका लागि पार्टीले टिकट दिएको बताए ।

‘संसदीय अभ्यास गर्ने सबैले चालेका योजनाहरू पूरा गर्न पनि मेरो उम्मेदवारी हो,’ उनले भने, ‘१४ जना प्रत्यक्षबाट प्रतिनिधित्व गरेका नेताहरू चन्द्रजंगबहादुर सिंह, गगनजंगबहादुर सिंह, अर्जुनजंगबहादुर सिंह, भानुभक्त जोशी, सुरेश मल्ल, लोकराज जोशी, भैरवबहादुर सिंह, नरेशबहादुर सिंह, देवकी मल्ल, मानप्रसाद खत्री, अर्जुनबहादुर थापा, एलबी रावल, शंकर खड्कालगायतले प्रतिनिधित्व गर्दा उठाइएका विकास निर्माणका हरेक कामलाई म पूर्णता दिनेछु ।’

ओखेडाले पुस्तान्तरणको अभ्यास र दलित समुदायको मान्छे भएको हिसाबले जिल्लामा पहिलो पटक टिकट प्राप्त हुँदा जिल्लालाई नै न्याय हुनेमा विश्वस्त भएको बताए । ‘बझाङबासीले न्याय गरेर जिताएको खण्डमा बझाङ न्यायको पक्षमा, मानवताको पक्षमा, जयपृथ्वीबहादुर सिंहले उठाएको चिन्तनको पक्षमा, अन्तर्राष्ट्रिय स्तरमा पनि नाम उँचो हुने गरि काम गर्नेछु ।’ उनले भने ।

उनले आफू जहिल्यै जनताको लागि जुनसुकै माध्यमबाट उपलब्ध हुने भएकाले जनताले पनि न्याय गर्नेमा विश्वस्त रहेको बताए । ‘म चुनाव जिते पनि यहाँहरूकै वरिपरि हुनेछु । मेरो लागि कसैले भनसुन गर्नुपर्दैन । भेट्नका लागि अरूमार्फत् सम्पर्क गराउनुपर्दैन । मलाई जसले, जहिले, जतिबेला पनि भेट्न सक्नेछन् ।’ उनले जनताको हुलाकी भएर सरकारमा बुलन्द आवाज उठाउनका लागि आफू लागि पर्ने बताए ।

ओखेडा आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउँछन् । ‘म त जहिल्यै हाइड्रोपावरको पक्षपाती हुँ । म सांसद हुँदा सरकारलाई पटक–पटक घच्घचाएको थिएँ । राधा ज्ञवाली उर्जामन्त्री हुँदा २१० मेगावाटको सर्वे भएको धमेनाको हाइड्रो मा ८ करोड रूपैयाँ विनियोजन गराएको थिएँ । अहिले त्यसको डिटेल स्टमेटको काम अगाडि बढेको छ ।’ उनका अनुसार अहिले धमेनाका स्थानीयले मेला, भीर, जमिन भएका स्थानीयले ५०/६० लाख रूपैयाँ मुआब्जासमेत लिइसकेका छन् ।

कालंगा हाइड्रोका लागि पनि आफूले ७७ मेगावाटको निर्माणमा संसदमा सशक्त ढंगले वकालत गरेको उनले स्मरण गरे । ‘रसुवाको चिलिमे हाइड्रो बनेपछि नुवाकोटका मान्छेले पनि लाभ लिइरहेका छन् । त्यसरी नै बझाङमा विद्युतको विकासका लागि व्यक्तिगत सम्बन्धका कारण पनि कोरियाली नागरिकलाई बाहुलीगाडको भामचौरमा ३ देखि ५ मेगावाटको विद्युत, सुनीगाडको ओखल हाइड्रोका लागि पनि वकालत गरिरहेको उनले बताए ।

‘बझाङमा हाइडूोको ठूलो सम्भावना छ,’ उनले भने, ‘अहिले ३३ केबी लाइन मात्रै भएको छ । करिब ४ सय लाइन केबी लाइनको परिकल्पना गरिरहेका छौँ । कालंगाबाट बागथलासम्म लाइन पुर्‍याउनका लागि पनि ७ करोड खर्च हुने र निर्माण कम्पनीले पनि सरकारले गर्नुपर्ने भनिरहेको छ । विद्युत पनि विकासको नितान्त पूर्वाधार भएको र बझाङमा सम्भव हुने हुँदा यसको निरन्तर वकालत गरिरहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका ओखेडा जनताको स्वाभिमान, सेवक, निष्ठाका लागि पनि बझाङी जनताले आफूलाई मतदान गरि जिताउनेमा ढुक्क भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार