बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • लोपोन्मुख अवस्थामा सुदूरको देउडा
Breaking News

लोपोन्मुख अवस्थामा सुदूरको देउडा

बझाङ ।
भरखरै गौण्या भेट भयो, बौला झल्का रेल
कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल

बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङीले छिमेकी जिल्ला बाजुराका देउडियालाई सुरूवातमै स्वागत गर्ने हरफ हुन् माथिका । बझाङ र बाजुराका देउडियाले सैन्डाँडा भेट गर्दा हालखबर–देखि पारिवारिक गफसम्म देउडाबाटै गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौंको संख्यामा हुन्थे । पाटादेवलको चौरदेखि खापरमाडौं– सम्मै दर्जनौं ठाउँमा देउडा चल्थ्यो । बझाङी देउडियाले सुरूवात गरेपछि बाजुरेली देउडियाले फर्काउथे ।

पिलाली तिरखुलो हाली, पेल्दा पेल्दै भया
हौसिया दाजुका खेल, खेल्दाखेल्दै भया

देउडाका यी हरफपछि निरन्तर रातभर देउडामै सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, विहेबारीका कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्छन्, ‘सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत साटिन्थ्यो ।’

वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडियाहरू दोस्रो वर्षको पर्खाईमा हुने गरेको उनी सम्झन्छन् । ‘अघिल्लो पटक जवाफ दिन नपाएकाहरू दोस्रो वर्षको पर्खाईमा हुन्थे,’ उनी भन्छन्, ‘हाम्रा त्यो बेलाका देउडिया साथीहरूसँग अहिले पनि सौहार्दपूर्ण तरिकाले कुराकानी हुन्छ । तर अहिलेको पिँढी भने त्यसप्रति चासो नै देखाउँदैनन् ।’

युवावस्थामा रातभर, दिनभरसमेत देउडा खेल्ने गरेको पाध्याय सम्झिन्छन् । ‘हामे तन्नेरी हुने बेला त मेलामा रातदिन देउडा खेल्थ्यौं । खुट्टा दुखेर सुन्निसकेका हुन्थे । तर, हाम्रो देउडा रोकिएको हुँदैनथ्यो ।’ रातभरि देउडा खेलेपछि बिहान छुट्टिने बेलामा आफूले हालेको देउडा सम्झिन्छन् उनी ।

पिमीली पातको दुनु दही खाया चोलाकी
छुट्न्या भइग्याउ मैना चणी फेरि भेट होला की ?

त्यसपछि बाजुरामा देउडिया महिलाले छुट्टिने बेलाको जवाफ दिन्थे ।

दाजुको दाणिम्या बल्द दैझाला दैझाला
बाँच्यापछि डाँडाबाझ फेरि भेट होइझाला

यसरी सुरूवात भएर टुंगिने देउडा अहिले सुन्न पाइदैनन् । लय पुरानै भए पनि देउडाका शब्द नै अनौठा लाग्छन् पाध्यायलाई । ‘हाम्रा सैन्डाँडा र दशहरामा गाइने देउडा गीत अहिले बुझिदैनन्,’ पाध्याय भन्छन्, ‘हाम्रा लोकसंस्कृतिका शब्द बिरलै कम पाइन्छन् । डोट्यालका शब्द पनि यतै छन्, नेपाली, हिन्दी, अंग्रेजीसमेत देउडामा मिसिएका छन् । यस्ता शब्द हामी देउडियालाई बुझ्न त कठिन छ, अरूलाई सजिलो हुने त कुरै भएन ।’

उनी नयाँ पिँढीलाई सिकाउन खोजे पनि चासो नदेखाएको बताउँछन् । ‘मेलामा गएको बेलामा नयाँ पिँढीलाई खेलमा हात समातेर लिन्छु । तर, एक घण्टा पनि टिक्न सक्दैनन् ।’ नयाँ पुस्ता मोबाइलले बिग्रेको उनी गुनासो गर्छन ।

मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले वनपाखाहरूमा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीत ओझेलमा परेको उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्याय बताउँछन् । ‘सहरीकरणले युवाहरू संस्कार भूलेका छन्,’ उनी भन्छन्, ‘परिवेश फेरियो, पुरानो पुस्ता फेरियो, प्रविधिको विकासले सोच फेरियो । देउडा पनि फेरिँदैछ ।’

नयाँ पुस्तालाई देउडाप्रति चासो नै नभएको उनले बताए । ‘पहिलेका देउडाका भाष्यहरू सबै हराइसके । मौलिक देउडा विकाससँग जोडियो । राजनीतिसँग जोडियो ।’ त्यसले गर्दा मातृभाषासमेत फेरिएको उनले बताए । भाषा, संस्कार, स्रष्टा सबै फेरिएको हुँदा अहिले सुदूरको लोकदेउडा लोप हुँदै गएको उनी बताउँछन् ।

सुदूरको संस्कृतिलाई जोगाइ राख्न अब लेख्न, पढ्न सक्ने युवा शक्ति अघि आउनुपर्ने उनले बताए । ‘पश्चिमेली संस्कृतिको विकाससँगै मौलिक लोक गीतहरू ओरालो लागेको उनी बताउँछन् । ‘पहिलेको पुस्ता स्वतः स्फूर्त रूपमा चासो राखेर देउडा खेल्थे । उनलाई कुनै पुरस्कारको, कुनै निर्णायकको मतलब हुँदैनथ्यो । अहिले भने जति पुरस्कार राखे पनि गहिरो चाँसो कोही राख्दैनन् ।’ पाध्याय भन्छन् ।

सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आर्कर्षित हुँदा देउडा पनि लोभ हुँदै गएको सह–प्रा.डा बद्री शर्मा बिनाडी बताउँछन् । उनले तेस्रो ध्रुवसँग कुरा गर्दै भने, ‘देउडा मासिनु र लोप हुनु पश्चिमा संस्कृतिको प्रभाव हो । अहिलेको पुस्ता मोबाइल केन्द्रित भयो । नृत्य पनि अरू गीतमै हुन थाल्यो ।’

उनले परम्परागत गीतहरु हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको पनि कमजोरी भएको बताए । उनले संस्कृतिलाई जोगाउन स्थानीय तहले पनि ध्यान दिनुपर्ने बताए । ‘आफ्नो संस्कृति स्थानीय पठ्यक्रममा राख्नुपर्ने, तिनीहरूको महत्व, विशेषता, ऐतिहासिकता, देवी देवताहरूको उत्पतिबारे लेखेर अनिवार्य पाठ्यक्रममा राख्ने हो भने संस्कृति जोगाउन सकिन्छ ।’ डा. बिनाडी बताउँछन् ।

उनले जयपृथ्वीबहादुर सिंहजस्ता वीर पूरूषकै बारेमा बनेका गाथाहरू संरक्षण गर्न सके पनि संस्कृति जोगिने बताउँछन् । ‘कुनै पुराना कविताहरू व्यक्तिले रचेकै भए पनि यिनको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको नै हो । त्यसले ध्यान दिदैन भने पछि शिक्षित भनिएकालाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुने छैन ।’

कतिपय ठाउँमा स्थानीय पाठ्यक्रम भनेर पुस्तक निकालेका तर लोक साहित्यमा ध्यान नदिएको उनले बताए । ‘अहिले स्थानीय निकाय नै अधिकार सम्पन्न भएका छन् । तिनीहरूले संस्कृति झल्काउने देउडा, फाग, मांगलहरू पाठ्यक्रममा समेटेर अनिवार्य गर्ने हो भने संस्कृति जोगाउन कठिन छैन ।’ उनले भने ।

अहिले देउडामा भाषिक क्षयीकरण भएको हुँदा भाषामा मिठाससमेत नभएको उनले बताए । ‘अहिलेका जवरजस्त बचाएका देउडामा पनि भाषिक क्षयीकरण भइसक्यो । परम्परागत भाषाका शब्दहरू नभएर विभिन्न भाषाका शब्द मिश्रित गर्दा रहेछन् । त्यो भनेको पहिचान गुमेको देउडा मात्रै हो ।’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार