बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चैते धानको सफल परीक्षणपश्चात् ड्रागनको परीक्षण हुँदै
Breaking News

चैते धानको सफल परीक्षणपश्चात् ड्रागनको परीक्षण हुँदै

बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो । त्यसरी नै ८ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए ।

धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यवसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यवसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरीले नोक्सान गर्न सक्ने उनी बताउँछन् । ‘कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुन सक्छ,’ उनले भने, ‘बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा भयो । पहाड क्षेत्रमा व्यवसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पु¥याउन सक्ने देखिन्छ ।’

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । ‘अहिले माटो र मौसम हेरेर ड्रागन भदौमा रोप्ने र मंसिरसम्ममा फल दिन्छ,’ उनले भने, ‘गर्मी सिजनमा हुने हुँदा यो पटक ५÷५ लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौं । परीक्षणमा कस्तो रिजल्ट आउँछ, त्योअनुसार अगाडि बढ्छौं ।’

ड्रागनका लागि बेर्ना कैलाली कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । ‘एउटै बिरुवालाई १५ सय जति पर्छ,’ उनले भने, ‘यो पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।’ भदौको दोस्रो सातानै रोपिसक्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार