शुक्रबार, कार्तिक ३०, २०८१
साहित्य

आततायीहरू !

पार्वती भट्ट ‘प्रेमाश्रु’

भरिएको पाथीजस्तै
चुलिएका बर्ताबहरू
बेमेल – बेगठित
र बेहिसाब आतंकहरू
भोग्नेहरूले त बिर्सेका छैनन् होला !
दुश्चरित्र व्यक्तिको–
अहंकारमुक्त मुखौडो;
ओहो ! समयसँगै कति फरक देख्न थाले
यी आँखाहरू पनि,
हिजो लखेटी–लखेटी गरेको
गरीब, अबोध बालकको हत्या
जहाँ बाच्न निर्विकल्प बन्यो
एउटा निर्दोष परिवार
र गर्न पुग्यो, आफ्नै धुरीमा आफ्नै संहार ।
फेरि आज
दुरुस्तै, अबोधको हात लछार्दै
रोड क्रस गराइरहेछ;
एउटा आततायी ।
बालक भयभीत छ–
उसको आतंककारी बेहोरासँग ।
तुच्छ चरित्रले
पवित्र गुच्छा सुम्सुम्याएजस्तो;
कस्तो नमीठो दृश्य !
अति संवेदनाहीन हौ तिमी
झट्कार्ने र लघार्ने बानी हो तिम्रो
स्नेह भुलिसकेको तिमी
हात समात्न र सुम्सुम्याउन जान्दैनौ;
भैगो, छोडिदेऊ अब
संवेदनशील र सहयोगी बन्ने
ढोँगी प्रयत्न गर्न
नटेश्वर बन्दैमा सबैले पूज्दैनन्
र पुज्नेहरू सबै भक्त हुदैनन् ।
चाहे सखरकै डल्लो बनिदेऊ;
तिम्रो वास्तविक गुण
तिक्तता नै हो महासय !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार