बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खप्तडछान्नामा युवा नेताहरूबीच प्रतिस्पर्धा, यस्तो छ उम्मेदवारको राजनीतिक पृष्ठभूमि
Breaking News

खप्तडछान्नामा युवा नेताहरूबीच प्रतिस्पर्धा, यस्तो छ उम्मेदवारको राजनीतिक पृष्ठभूमि

काठमाडौं । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमाले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । गत पौष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक भएका पाँच दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनावसम्म जाने रणनीतिअनुसार अहिले चुनावमा तालमेलकै आधारमा निर्वाचनसम्म पुगेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जितेको ठाउँमा मात्रै गठबन्धनको भागवण्डा र बाँकी सबै ठाउँमा पहिले निर्वाचित भएका ठाउँमा सोही दलले उम्मेदवारी दिने केन्द्रीय सर्कुलरअनुसार स्थानीय तहमा भागवडा गरिएको हो । सोहीअनुसार बझाङको खप्तडछान्ना गाउँपालिकामा पनि सत्ता गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका युवा नेताहरु अहिले खप्तडछान्नामा प्रतिस्पर्धा गरिरहेका छन् ।

लोकेन्द्रबहादुर सिंह

नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर सिंह (एलबी सिंह) खप्तडछान्ना गाउँपालिका–५ का स्थायीबासी हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा आवद्ध उनी अहिले विद्यार्थीकै संगठन अनेरास्ववियूको केन्द्रीय स्तरको राजनीति गरिरहेका छन् । २०५७ सालमा खप्तड माविमा अनेरास्ववियूको इकाइ कमिटी सदस्यबाट राजनीति सुरू गरेका सिंह २०५८ सालमा खप्तड माविको अनेरास्ववियूको अध्यक्ष भएका थिए ।

क्याम्पस जीवनमा प्रवेश गरेपछि उनी जयपृथ्वी क्याम्पसमा अनेरास्ववियूबाट २०६० सालमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को सदस्यमा निर्वाचित भए । २०६२ मा जयपृथ्वीबाटै स्ववियू सचिवमा निर्वाचित भए । २०६३ सालमा अनेरास्ववियूको जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भए । तत्कालिन कमिटीले सिंहलाई नै दोस्रो कार्यकालका लागि दोहोर्‍यायो ।

२०६६ सालमा सेती अञ्चल कमिटी सह–इन्चार्जमा निर्विरोध चयन भए । २०६८ सालमा त्रिभुवन विश्वविद्यालयको अखिल फोर्सको इन्चार्ज भएर संगठनको काम गरे । २०६९ सालमा भएको अनेरास्ववियू २०औं महाधिवेशनबाट सिंह केन्द्रिय सदस्यमा निर्वाचित भए । २१औं महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको सदस्य, २२औं महाधिवेशनबाट केन्द्रीय सचिवालय सदस्य र २३औं महाधिवेशनबाट अनेरास्ववियूको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

अहिले सिंह नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा खप्तडछान्ना गाउँपालिकाको इन्चार्जको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् ।

उत्तमबहादुर रोकाया

सत्ता गठबन्धनबाट अध्यक्षको उम्मेदवार भएका उत्तमबहादुर रोकाया नेपाली कांग्रेसमा आवद्ध युवा नेता हुन् । आधारभूत तहमै २०५२ सालमा राजनीति यात्रा प्रारम्भ गरेका उनले राजनीतिक पहिलो पाइला खप्तड मावि कालुखेतीबाटै चालेका हुन् ।

नेपाल विद्यार्थी संघको इकाइ सचिवबाट सुरू गरेको राजनीति दौडमा उनी अहिले जिल्लाको पदाधिकारीसम्म पुगेका छन् । महोत्वाकांक्षी नेता रोकाया सुरूवाती अवस्थामै जिल्ला स्तरको राजनीति दौडमा प्रवेश गरे । खप्तड माविबाट प्रतिनिधि भएका उनी नेविसंघको जिल्ला कार्यसमितिमा भने प्रवेश पाएनन् । २०५४ मा खप्तड मावि कालुखेतीबाट एसएलसी पास भएपछि उनी कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए ।

कैलाली क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर काम गरे । त्यसै बेलामा नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) मा नेविसंघबाट सह–सचिव पदका लागि निर्वाचन लडे । त्यसमा असफल भए । त्यस पनि नेपाल विद्यार्थी संघमा लगातार काम गरे ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको बेलामा २०५९ सालमा लामो आन्दोलनमा सहभागी भए । द्वन्द्वग्रस्त क्षेत्रमा राजाको विरोध सम्पूर्ण विद्यार्थी कमिटी गरेका थिए । रोकाया पनि विरोधको अग्रपंतीमै हुने गर्थे । २०६२ सालमा उनी नेपाल विद्यार्थी संघको बझाङ जिल्ला अध्यक्षमा चयन भए । दुई कार्यकाल नै उनलाई पार्टीले अध्यक्षको जिम्मेवारी दियो ।

२०७० सालमा बझाङ जिल्ला कमिटी सदस्यमा सर्वाधिक मतले विजयी भएका रोकाया १४औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कमिटी सचिव पदमा समेत लोकप्रिय मतका साथ निर्वाचित भए । अहिले उनी जिल्ला कार्य समिति बझाङको सचिव पदमा रहेर काम गरिरहेका छन् ।

देवकी जोशी

नेकपा एमालेबाट खप्तडछान्ना गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी देवकी जोशीको राजनीतिक यात्रा २०५४ सालबाट सुरू भएको हो । मालिका मावि मार्तडी बाजुराबाट अनेरास्ववियूको सदस्यता लिएर राजनीतिक यात्रा प्रारम्भ गरेकी जोशीले २०५५ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सचिव भएर काम गरिन् ।

२०४१ सालमा बाजुराको (साविकको कुल्देवमाडौं गाविस) मा जन्मिएकी नेतृ जोशीले बझाङको खप्तडछान्ना गाउँपालिका–४ का केशवराज जोशीसँग वैवाहिक बन्धनमा बाँधिएपछि राजनीतिक यात्रा बझाङबाट सुरू गरिन् । लामो समयदेखि नै नेकपा एमालेको साधारण सदस्य भएर काम गरिरहेकी जोशी २०७४ सालको अधिवेशनबाट गाउँ कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइन् ।

२०७४ सालमै पार्टीले उनलाई क्षेत्रीय कमिटी सचिवालय सदस्यको जिम्मेवारी दियो । अखिल नेपाल महिला संघ (अनेमसंघ) को चौथो जिल्ला अधिवेशनबाट जोशी बझाङ जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भइन् । अनेमसंघकै पाचौं अधिवेशनबाट उनी जिल्ला कमिटी अध्यक्ष पदमा निर्वाचित भइन् ।

शिक्षा संकायबाट स्नातक उत्तीर्ण गरेकी जोशी अहिले उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा खप्तडछान्ना गाउँपालिकाको सह–इन्चार्जको जिम्मेवारीमा छिन् ।

विष्णुबहादुर थापा

नेकपा माओवादी केन्द्रका नेता तथा सत्ता गठबन्धनबाट उपाध्यक्ष पदका साझा उम्मेदवार थापाको राजनीति यात्रा २०४८ सालबाट सुरू भएको हो । खप्तडछान्ना गाउँपालिका–७ स्थायी ठेगाना भएका थापाले महेश्वरी मावि गडरायबाट विद्यार्थी संगठन अखिलको सदस्यता लिएर राजनीति यात्रामा प्रवेश गरेका थिए । गडरायपछि उनी बाजुराको डोगडीस्थित मष्टेश्वरी माविमा अखिलको अध्यक्ष भएर काम गरेका थिए ।

२०५४ सालमा नेकपा एमालेबाट गाउँ कमिटी सचिव भएर काम गरेका थापा पछि भारत गएपछि नेकपा माओवादी केन्द्रमा आवद्ध भएका थिए । २०५६ सालको निर्वाचनपछि २०५७ सालको साउनमा उनी मजदूरीका लागि छिमेकी मुलुक भारतमा गए । २०५७ को भदौमा नेकपा माओवादीको प्रवास शाखाबाट सदस्यता लिएपछि उनी पूर्ण रूपमा माओवादी कार्यकर्ता भए । जनमुक्ति सेनामा भर्ति भए । लामो समय युद्ध लडेपछि उनी शान्तिवार्तापश्चात् पार्टीले उनलाई विभिन्न जिम्मेवारी दियो ।

द्वन्द्वकालमा समेत खप्तडछान्ना इलाकाको इन्चार्जको जिम्मेवारी निभाएका थापा विभिन्न जिल्लामा प्रशिक्षणसमेत दिन्थे । माओवादीभित्र उनी प्रशिक्षकको रूपमा पनि चिनिन्छन् । पछिल्लो समय कम्युनिष्ट घटक (नेकपा माओवादी केन्द्र र नेकपा एमाले)को एकतापछि नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य पदमा रहेर काम गरे । सर्वोच्च अदालतले कम्युनिष्ट पार्टीलाई पूरानै पार्टीमा फर्काएपछि भने उनी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा खप्तडछान्ना गाउँपालिकाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारीमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार