बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया हुने
अर्थ

विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया हुने

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिए । बैठकले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

सो कार्यक्रममार्फत विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता बरुवालले जानकारी दिए । यस्तै बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा अध्ययन गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने उद्देश्यले उपाध्यक्ष भुषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सो कार्यदलमा संघका सबै उपाध्यक्ष सदस्य रहेका छन् । उक्त कार्यक्रममा सम्पूर्ण गैरआवासीय नेपालीलाई सहभागी गराउन महासचिवद्वय गौरी जोशी र डा केशव पौडेलको नेतृत्वमा सम्पूर्ण उपमहासचिव, सचिव रहने प्रचारप्रसार समिति गठन गरिएको प्रवक्ता बरुवालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार