शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवासँग अहिले साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने
Breaking News

प्रधानमन्त्री देउवासँग अहिले साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने

 

तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि मात्रै नयाँ दिल्ली पुगेका हुन । देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि छन्। प्रधानमन्त्री देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को विमानमार्फत भारत गएको हो ।

प्रधानमन्त्री देउवासँग अहिले साढे ४ बजे भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीमा रहेको नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् ।

भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवासहितको टोलीले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार