बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरा क्वारेन्टिनमा
Breaking News

अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरा क्वारेन्टिनमा

 

व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन् । ती साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ । अमेरिकाबाट फागुन १३ गते सातवटा साँढे हवाइजहाजमार्फत नेपाल ल्याइएका थिए । एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज सापकोटाले अनलाइनखबरलाई जानकारी दिए । पोखराको क्वारेन्टिनमा रहेका ती साँढे स्वस्थ छन् । प्रजनन कार्यालय, कास्कीका अनुसार पोखरा ल्याइएका साँढेको रगतदेखि अन्य आवश्यक विभिन्न स्वास्थ्य परीक्षण गरिसकिएको छ । ‘अहिलेसम्म अमेरिकी साँढेमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । विस्तारै पोखराको हावापानीमा बानी पर्दैछन्,’ वरिष्ठ पशु विकास अधिकृत सापकोटाले भने, ‘अब पनि ५÷६ दिनसम्म कुनै स्वास्थ्य समस्या देखिएन भने फिल्डमा लैजान्छौं ।’
अमेरिकादेखि ल्याइएका ती साँढेलाई २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने सापकोटाले जानकारी दिए । नेपालमा ल्याएकै दिनदेखि क्वारेन्टिन समय गणना गरिएकाले दुई हप्ता हुन लागिसकेको उनले बताए । नेपाल लाइभस्टक सेक्टर इनोभेसन (एनएलएसई) आयोजनाले ती साँढेहरु खरीद गरेको हो । अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन् । एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ । क्वारेन्टिन अवधि पूरा गरेपछि ती साँढेहरू वीर्य उत्पादनका लागि योग्य हुनेछन् । प्रजनन कार्यालयले ती साँढेलाई पोखरामै राखी वीर्य उत्पादन गर्ने र देशैभरि पठाउने योजना बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार