बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • भारतीय नागरिक सवार हेलिकप्टर बझाङ पुगेर फर्कियो
Breaking News

भारतीय नागरिक सवार हेलिकप्टर बझाङ पुगेर फर्कियो

 

भारतीय नागरिक सवार हेलिकप्टर बझाङको थलारा गाउँपालिका–९ छालागडामा पुगेर फर्किएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रिएको र आधा घन्टापछि फर्किएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका जनाईएको छ । आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष मोहनराज जोशीले बताए । उनका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको ती भारतीयले भनेको बताएका थिए ।
त्यसपछि आफूहरूले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै भारतीयहरू हेलिकप्टर लिएर उडेको उनले बताए। हेलिकप्टरमा चालकसहित पाँचजना भारतीय मूलका नागरिक रहेको वडाध्यक्ष जोशीले बताए। उनले भने, ‘हिन्दी बोलिरहेका थिए। साथमा नक्सा पनि बोकेका थिए। उनीहरू करिब आधा घण्टा बसेपछि गए ।’ हेलिकप्टरमा को–को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ रहेको जनानाईएको छ । हेलिकप्टरको विषयमा सोधिखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार