बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै,ऊर्जा सचिव कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुने
Breaking News

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै,ऊर्जा सचिव कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुने

आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्न लागेको हो । काठमाण्डौमा बस्ने बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् ।

यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बैठकमा सहसचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ । सहसचिवस्तरीय कार्यदलमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेतृत्व गर्दै छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सहसचिवले गर्दै छन् । भोलि भने सचिवस्तरीय बैठक हुनेछ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । निर्यातको अवसर नपाउँदा प्राधिकरणले गएको मनसुनमा झण्डै ५ अर्ब बराबरको बिजुली खेर गएको जनाएको छ ।

यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपालि भौतिक रूपमै हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार