शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बन्दै,
Breaking News

एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बन्दै,

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बनिरहेको बताएका छन् । आज बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाण्डौमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण गरिरहेको बताए । उनले ऐनमा व्यवस्था नभइ सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेशले नै एसईई जिम्मा लिने बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयअनुसार नतिजा प्रकाशन गर्न सक्ने पनि बताए । उनले भने, ‘एसईईको सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो । हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा गृहकार्य गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ । प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको कुरा गरेको छ । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ । ’
अध्यक्ष शर्माले यस पटकको एसईईमा दुई हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताए । बोर्डले झन्डै पाँच लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुन सक्ने अनुमान गरेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार