आइतवार, पुस ६, २०८२
  • होमपेज
  • तलकोटमा धेरै रूचाइएका मिजासिला प्रशासक
Breaking News

तलकोटमा धेरै रूचाइएका मिजासिला प्रशासक

बझाङ । काठमाडौँबाट बझाङ भन्ने वित्तिकै निकै ‘दूर’को ठाउँ भनेर सबैको मनमा आउँछ । गत वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादव भट्टराईलाई बझाङको तलकोट गाउँपालिकामा सरूवा गर्दा उनलाई पनि त्यस्तै लाग्यो । सेवा गर्ने उद्देश्यले जागिर खाएपछि राज्यले खटाएको ठाउँमा जानैप¥यो भने उनी काठमाडौँबाट धनगढीसम्म हवाइजहाजमा आए । त्यसपछि बझाङको यात्रा गर्दा बसमै बझाङीको मौलिक भाषा, बाहिरतिर डाँडाकाँडा, ग्रामीण परिवेश, जीवनशैली देखेपछि उनलाई लाग्यो यो ठाउँमा भावनात्मक सम्बन्ध विस्तार हुनेछ ।

भट्टराई सदरमुकाम चैनपुरमा एक हप्ता बसे । त्यो बेलासम्म तलकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भनेर कसैले चिनेका थिएनन् । पछि जिल्ला प्रशासन कार्यालयमार्फत् पालिकाका जनप्रतिनिधिसँग भेट भयो र तलकोटतर्फ लागे । गत वर्ष असोज ७ गतेबाट पालिकामा हाजिरी भएपछि उनी विशेष कामबाहेक चाडपर्वहरूमा पनि बिदा बसेनन् ।

सडक, बिजुली, नेटवर्क, शिक्षाजस्ता जनताका आधारभूत आवश्यकतालाई पूरा गर्न उनी दृढ संकल्पका साथ उभिए । विभिन्न वडामा नेटवर्कको समस्याले गुमराह रहेका जनतालाई बाहिर ल्याउन दर्जनौँ पटक नेपाल टेलिकमको क्षेत्रीय कार्यालय धाइरहे । यतिसम्म कि ‘तलकोटमा नेटवर्क नआउनसम्म यही अत्तरियामै धर्ना बस्छु’ भनेपछि टेलिकमका कर्मचारीले नेटवर्क बिस्तारमा सहमति जनाए । ‘कहिले एक्लै गइयो, कहिले जनप्रतिनिधिसँग गइयो । धेरै दबाब दियौँ । बल्ल तलकोटमा नेटवर्कको समस्या समाधान भयो ।’ भट्टराईले भने ।

अहिले तलकोट गाउँपालिका विभिन्न वडामा नेटवर्क पुगेको छ । ‘टेलिकमसँगै बिजुली पनि अनिवार्य हो,’ उनले भने, ‘टेलिकमसँगै विद्युतका लागि पनि धेरै दौडधुप गर्नुप¥यो । अहिले विजुली लोकण्डबाहेक सबै वडामा पुगेको छ ।’ सबै वडामा राष्ट्रिय प्रशारण लाइन पु¥याउन अत्तरिया बाट नै पालिकाले पोल ल्याएर तलकोटसम्मै पु¥याएर लाइन विस्तार गरेको उनी सम्झन्छन् । पालिकाका विभिन्न वडामा रहेका साना लघु जलविद्युतलाई पनि त्यसैमा जोडेको उनले बताए । तलकोटमा भट्टराई आइसकेपछि जिल्ला सदरमुकामबाट हुने सेवालाई पनि पूर्णरूपमा पालिकामै सारिएको छ । स्थानीयलाई सेवा तथा उपभोक्ता समितिका भुक्तानीका लागि चैनपुर पुग्नुपर्ने समस्याको अन्त्य गरेपछि तलकोटी जनता ‘हाकिम’ को प्रशंसा गरे ।

गल्याम नगरपालिका–११ स्याङ्जाका स्थायीबासी भट्टराईको तलकोट गाउँपालिकामा एक वर्षको अवधि तलकोटीलाई लामै सम्झने गरी बित्यो । आफ्नै ठाउँ, आफ्नै छरछिमेकीको जसरी सेवामा लागेका भट्टराईले कर्मचारी, जनप्रतिनिधि, शिक्षक विद्यार्थी, राजनीतिक दल तथा स्थानीयको नजरमा अभिभावकको जसरी काम गरे ।

गणित विज्ञानका शिक्षक स्थायी भएर अन्यन्त्र गएपछि एसईई दिने विद्यार्थीलाई बाधा नपुगोस् भनेर हरेक बिहान हिमालय माविमा अध्यापन गराएपछि शिक्षक विद्यार्थीले पनि उनलाई सुखद नजरले हे¥यो । उनको पालामा जलस्रोत परियोजना तलकोट गाउँपालिकामा ल्याउने काम पनि भयो । छविसपाथिभेरा र तलकोटमा लागू भएको परियोजनाले सिचाई, कृषि, वन संरक्षण, जनचेतनाबारे काम गर्ने गरेको छ । मङ्सिरदेखि प्रयास गर्दा गर्दै चैतमा सम्झौता भएको थियो ।

भट्टराई आइसकेपछि खाद्य गोदामको लागि सम्झौता भएको हो । गोदाम नभएर सहुलियतको खाद्य समयमै नपाउने समस्या समाधानका लागि खाद्य संस्थानसँग नियमित पहलपछि सम्भव भएको हो । त्यस्तै टाढाबाट आउने कर्मचारीका लागि निवासको समस्या भएको हुँदा पुरानो पालिकाको भवनलाई आवास बनाइएको हो ।

कार्यालयमा समयमा कर्मचारीलाई उपस्थित गराउन नियमित बिहान १० बजे राष्ट्रिय गानमा सरिक हुने नियम बनाए । त्यसमा सहभागी नहुनेले स्पष्टिकरण दिनुपर्ने भयो । कार्यालयमा बिदा स्वीकृति नगराएरै बिदा बस्ने चलन थियो । त्यो पनि अनिवार्य गरेपछि कर्मचारीहरू कार्यालयमै भेटिन थाले । कर्मचारी कतै जाँदा कार्यालय प्रमुखलाई अनिवार्य जानकारी गराउने नियम बनाइयो । त्यस्तै कर्मचारीले के गरिरहेका छन् भन्नका लागि पनि उनी आएपछि पालिकामा कर्मचारीको मासिक बैठक हुन थाल्यो । कर्मचारीले बैठकमा महिनाभरि आफूले गरेका काम देखाउनुपर्ने भयो । त्यसो भएपछि कर्मचारी पनि आफ्नो नतिजा देखिने गरी काम गर्न थाले । बैठकमा शाखाले मात्रै नभई वडासचिवले पनि आफ्ना कामहरू देखाउन थाले ।

गाउँपालिकाको हकहितका लागि सोही ठाउँका राजनीतिज्ञलाई बोलाएर बेला बेला सर्वदलीय बैठक बसाउनुपर्छ भनेर सबै पार्टीका नेतालाई पत्र पठाउन लगाए । त्यसपछि बैठक बस्न थाल्यो । जसले गर्दा पालिका कस्तो बनाउने ? कसरी सुचारू गर्ने र विकासका काम के के गर्ने भन्नेमा सकारात्मक सुझाब लिए र सकिए जति कार्यान्वयनतर्फ लागे । भट्टराईले मागेको सुझाब जहिल्यै तलकोटी नेताले सकारात्मक रूपमा लिए । सहयोग गरे पनि गरे ।

लामो समयदेखि वडा कार्यालयमा संकेत विनाका वडा सचिव थिए । तिनलाई पनि हटाएर स्थायी कर्मचारीलाई जिम्मेवारी दिए । उनी आइसकेपछि ५ वटा वडा सचिव हेरफेरसमेत गरियो । करारका कर्मचारी तथा प्राविधिक धारका कर्मचारी लाई दिइएको वडाको जिम्मेवारी फिर्ता अन्य सम्बन्धित जिम्मेवारीमा खटाए ।

तलकोटका मान्छेहरू साह्रै सोझा, दयालु भएको हुँदा त्यहाँ बस्दा कहिल्यै बिदा बस्ने मन नलागेको उनी बताउँछन् । ‘हामीले धेरै काम गरेका छैनौँ,’ उनले भने, ‘सानो काम गर्दा पनि धेरै जस दिए । त्यो माया कहिल्यै बिर्सन सकिन्न ।’ तलकोटमा कर्मचारीप्रति हुकुमी शैलीभन्दा गाउँ घरमा गइदिनुपर्ने, सेवा भाव राख्नुपर्नेजस्तो बुझाई भएका जनता भएको उनले बताए । ‘हामीले त्यसै अनुसारले कर्मचारीलाई पनि गाउँ गाउँमा पठायौँ । विपदका बैठक, सामाजिक, सांस्कृतिक अभिमुखीकरणलगायतका बैठकहरूमा उपस्थिति जनायौँ । सुझाब सल्लाह दियौँ/लियौँ ।’ यसले गर्दा त्यहाँका मान्छे पनि सन्तुष्ट देखिए । यादव भट्टराईले तलकोट गाउँपालिकामा कार्यरत हुँदा ल्याएका दीर्घकालीन योजना, सेवा प्रवाहमा गरिएको सुधार लगायतका कामको तलकोटबासीले सम्झना गरिरहेका छन् । भट्टराईको अगुवाईमा सामान्य काम भए पनि वृहत रूपमा सुधारको अवधारणा ल्याइएको स्थानीयको बुझाई छ ।

भट्टराईको निडरपन, निष्ठा र समन्वयकारी भूमिकाको प्रशंसा पालिकाका विभिन्न चोक–चोकमा हुने गरेको छ । उनलाई वडा नं ५ का अध्यक्ष विष्टले साहसिक, कुशल र दूरदर्शी प्रशासकको रूपमा सम्झन्छन् । ‘तलकोटको समग्र विकास निर्माण गर्नका लागि खेलेको भूमिकाको तलकोटबासीले सधै स्मरण गरिरहनेछन् । उहाँ हाम्रो पालिकाको हाकिम मात्रै होइन, प्रेरणादायी पात्र पनि हो ।’ कर्मचारीका अभिभावक जनप्रतिनिधि विहीनताको अवस्थामा छोटो समयमा तलकोटको प्रशासकीय नेतृत्व गरेका भट्टराईलाई कर्मचारीले भने अभिभावकको रूपमा सम्झिएका छन् ।

गाउँपालिकाका लेखा अधिकृत नारायण उपाध्यायले उनी प्रशासक मात्र भन्दा पनि कर्मचारीका लागि अभिभावकको रूपमा रहेको सम्झिन्छन् । उपाध्याय भन्छन्, ‘कर्मचारीको मात्रै होइन, जनप्रतितिनिधि नभएको समयमा पनि दीर्घकालीन विकासको खाका ल्याउने क्षमता भट्टराईमा रहेको भन्दै कर्मचारीहरू प्रति कहिल्यै पनि प्रशासकको रूपमा नभई सहकर्मीको रूपमा व्ययभार गर्ने गरेको थिए । समन्वयकारी व्यक्तित्व जनप्रतिनिधिले पनि भट्टराई कुशल र समन्वयकारी प्रशासकको रूपमा सम्झना गरेका छन् । ‘सबैलाई विश्वासमा लिएर काम गर्ने क्षमता भएको, कुशल प्रशासक र कर्तव्यनिष्ठ कर्मचारीको गुण उहाँमाथि थियो ।’ उपाध्यायले भने ।

स्थानीय तहको सुधार गर्ने हो भने जनप्रतिनिधिसँगै कर्मचारीको पनि उत्तिकै हात हुन्छ । जनप्रतिनिधिलाई ‘हस्तेमा हौँसे’ गर्न भट्टराई उदाहरणी बनेको स्थानीय जनक कुँवरले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार