आइतवार, कार्तिक १७, २०८२
Breaking News

चाडपर्वमा पशुबलि कति ठीक ?

केही वर्ष अगाडि पशुपति क्षेत्र आसपास हिन्दूहरूको महान चाड बडा दसैँको अवसरमा हजारौँ पशुको बलि चढाइएको थियो । त्यसै बखत नेपाल घुम्न आएका एक विदेशी नागरिकले भनेका थिए– “नेपाली (हिन्दू) हरूको धर्ममा त यति ठूलो रगतको खोलो बग्छ भने यो भन्दा पाप के नै हुन सक्ला र ?” यो समाचारले देशैभरी सनसनी मच्चाएको थियो । त्यो बेला कतिपयले हत्या हिंसा रोक्नु नै पर्छ भनेर विरोध जनाएका थिए त कतिपयले हिन्दू धर्म नै त्यागेका थिए ।

हुन पनि हो, कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ? पृथ्वी मानिसको मात्र होइन, सृष्टिका सबै पशुप्राणीहरूको पनि हो । सजीव प्राणीहरू सबैलाई बाँच्ने अधिकार छ । त्यसैले वेदले भन्छ– “कुनै पनि प्राणीको हत्या गर्नु हुँदैन । पूजाआजाको निहुँमा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरूलाई जस्ताको त्यस्तै राखी ईश्वरका अबोध, लाटासुधा, निरीह, प्राणीहरूमाथि खुँडा, खुकुरी, तरबार जस्ता हतियार चलाउनु कायरता हो ।” बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन । त्यसैले समाजमा चेतना फैलाउनु जरुरी छ ।

नेपाली तथा (हिन्दू) समाजमा पशुबलीले परम्परादेखि नै निकै जरा गाडेर बसेको पाइन्छ । पूजाआजा भन्ने बित्तिकै कतिपयले पशुबलीको झझल्को देख्ने गर्छन् । प्राचीन कालदेखि नै पशुबलीबारे विभिन्न तर्कवितर्क पनि चल्दै आएका पनि छन् । एकथरीले भन्छन्– “मठ मन्दिरमा देउता तथा जङ्गलहरूमा भियालाई खुसी पार्न पशुको बलि नै चढाउनुपर्छ ।” अर्कोथरीले भन्छन्– “पशुको बलिलाई रोक्नुपर्छ । पशुको पनि बाँच्न पाउने अधिकार हुन्छ ।” समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अँगाल्ने गलत प्रवृत्तिले गर्दा पशुबलिको औचित्यबारे औँला उठ्दै आएको छ ।
कतिपयलाई बलि चढाउन कुनै चाडबाड नै हुनुपर्छ भन्ने छैन । आफ्नो जिब्रो तिर्खाएको बेला जुन सिजनमा पनि देवताको नाम बेच्दै पशुको हिंसा गर्ने गरिन्छ । महान चाडलाई मध्यनजर गर्दै एक दुई महिना अगावै राँगा, खसीबोकाको व्यापार तीव्र पारिन्छ । दसैँ तथा तिहारमा स्थानीय चर्चित मन्दिरमा बलि दिने गर्छन । त्यसलाई हाम्रो समाजले हत्या मान्दैन । देउता दाइना (खुसी) भएको संज्ञा दिन्छ ।

दसैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सद्भाव र सम्मानको पर्वका रूपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलि प्रथा हटाउन चेतना बढाउनु नितान्त आवश्यक छ । एक्काइसौँ सताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउता छुट्याउँदै चेतना भएकाहरू पनि हिंसा गर्नमा उद्दत देखिन्छन् । यसले गर्दा धर्मको नाममा हिंसा बढ्नु विकृति हो, यसलाई रोक्नु सबैको कर्तव्य हो ।

पशुहत्यामा खुसी हुने हाम्रो समाजले पशुको पनि प्राण हो भनेर अब सोच्ने बेला आएको छ । मठ मन्दिरमा पशु डोर्याई कान र जिउमा पानी पोखेर राँगाबोकाले जीउको पानी हल्लाए देउता खुसी भए भन्दै धारिलो हतियारले गर्धन काट्नु कतिसम्मको चेतना हो हाम्रो समाजको ।

हिन्दू धर्मशास्त्रको कुरा गर्ने हो भने परोपकार, दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको भुषण तथा मोक्षको आधार मानिएको छ । प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ । तर हाम्रो समाजमा हत्या गर्नेलाई बहादुर भनेर पुकार्छन् । अझ एउटै चोटले पशुको गर्धन रेट्नेलाई त महामहिमको जस्तै गरी सम्मान गर्छन । ताकी हत्या अपराध हो भन्ने सिकाइँदैन ।
पद्मपुराणको पद्मोत्तर खण्डमा भगवान् शिव र पार्वतीबीच संवादको प्रसङ्गमा भनिएको छ– हे शङ्कर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरूको जसले मारकाट गर्छ, त्यसको राज्य, वंश, सम्पत्ति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ । त्यस्तो व्यक्ति मृत्यु पश्चात् नरकमा जान्छ ।

हिन्दूधर्ममा मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ । तर विभिन्न धर्म मान्नेहरू पछि गएर आआफ्नो स्वार्थ र चाहनाअनुसार धर्मको व्याख्यालाई आफ्नो अनुकूल बनाउन अनेकन् भ्रम र अपव्याख्या गर्दै प्राणीको हत्या, हिंसा बढी गर्ने गरेको पाइन्छ । अधिकाशं धर्मग्रन्थमा शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरूले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन् । त्यो हामी माझ छर्लङ्ग देखिन्छ ।
दार्शनिक पाइथागोरसले भनेका थिए– “जीवहरू मारेर सिकार बनाउनु भनेको अन्तिममा मानव मृत्युको सिकार बनाउनु जस्तै हो । निर्दोष पशुहरूको घाँटीमा नाङ्गा चक्कु घिसारी कायरतापूर्वक हत्या गर्छ र सिकार भन्दै मासु खान्छ । उसले आफ्नो दुःखी शोक खुवाउनु चरा र जनावरहरू मार्ने गर्छ । यसलाई धेरै तुच्छ स्तरको व्यक्ति बुझ्नुपर्छ । यसरी हत्या गरेरै आफ्नो खुसी बटुल्छ भने अन्तिममा मृतक मानवको रगत पनि पिउन सक्छ ।”

अतः सम्पूर्ण पशुबलिबारे निषेध गर्ने कानुन नबनेसम्म हिंसाविरुद्धका केही आवाजहरू खासै प्रभाव पार्न सक्दैन । नेपालमा पनि हिन्दू राज्यको परिकल्पना भएसम्म यस्ता काननु बनाउन गाह्रो हुन्छ । हिन्दू धर्मका नीतिकारहरूलाई पनि थाहा के थाहा छ भने पशुबली बन्द हुनासाथ केही प्रतिशत हिन्दूहरू हिन्दूत्वमा रहने छैन ।
पशुबलिविरुद्ध कानुन निर्माण भएमा समाजमा अहिंसाको चेतना फैलिँदै जान्छ । हत्याहिंसा गर्नेहरूले पनि पाप काटियोस् भनेर पशुबलि विनाको धर्मकर्म गर्नेछन् । त्यसपछि महामानव गौतम बुद्धको जस्तो शिक्षा फैलिन्छ । हिन्दूका नीतिकारहरू पनि वास्तविक हिन्दूको नीतिमा फर्किन्छन् । गीता, वेदले सिकाउने सत्कर्मको बाटोमा सबै धकेलिन्छन् ।

किराँत वा जनजातिलाई हिन्दूकरण गर्नमा पशु बलिले ठूलो भूमिका खेलेको छ । यो बन्द हुने बितिक्कै उनीहरूको पनि आँखा खुल्नेछ र आफ्नो वास्तविक धर्मले भनेका कुराहरूमा फर्किनेछन् । हिन्दूहरूले हिन्दू ग्रन्थ वा धर्मप्रति मानिसका आस्था बनिरहन हिन्दू धर्ममा हिंसा छैन ।
यसर्थ बडा दसैँमा रमाइलो गर्ने नै हो भने परिवारसँगै बसेर कोला, फर्सी र स्याउ काटेर खुशीको माहोल तयार पार्न पनि सकिन्छ, पशु बलि नै चढाउनुपर्छ भन्ने छैन ।

कुनै धार्मिक ग्रन्थमा पशुबलिबाट पुण्य मिल्छ भनेर कही उल्लेख नभएको दुई दशकअघिदेखि चर्चा हुँदै आएको हो । दसैँ पर्वमा क्रोधको प्रतीक भनेर निर्दोष खसीबोका तथा राँँगोलाई बलि दिनु कदापि धर्म हुन सक्दैन । जीव भएर जीवको हत्या गर्नु महापाप हो । बलि पशुलाई हैन, काम, क्रोध, लोभ, मोह र मात्सर्यलाई बलि दिनुपर्छ । त्यसपछि मात्र आत्माले शान्ति र संरक्षण पाउँछ । ₋[email protected]

 

मङ्गलबार, २४ असोज २०७४ गते रातोपाटी डट्कममा प्रकाशित लेख

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै