बिहिबार, कार्तिक १४, २०८२
साहित्य

शिशिर र वसन्तको कथा

✍️ बोधविक्रम अधिकारी
एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर र वसन्त नाम गरेका दुई राजकुमार थिए । रानी पनि परम सुन्दरी थिइन् ।
राजा र रानीको परस्परमा बडो प्रेम थियो ।
एक दिन राजा सिकार खेल्न गएका थिए । रानी झ्यालमा बसेर बत्ती कात्न लागेकी थिइन् ।
अकस्मात् उनको नजर एउटा भँगेराको गुँडमा पर्यो । त्यो गुँडमा रहेका बच्चाहरूलाई माउले आफ्नो चुच्चामा आहारा ल्याएर बराबर खुवाइरहेको रानीलाई खूब रमाइलो लाग्यो ।
तर अपसोच ! एक कुमुहूर्तमा भँगेरी आफ्ना बच्चाहरूलाई चारा खुवाएर के बाहिर निस्केकी थिई, एउटा व्याधाले प्याट्ट गुलेलीले हानेर उसलाई मारिदियो, रानीको मनमा बडो विषाद पर्यो ।
एक क्षणमा भँगेरा आहारा लिएर आयो । बच्चाहरूलाई आहारा खुवाई च्याउँच्याउँ गरी पोथीलाई खोज्यो तर कतै पनि पत्ता नलाग्दा केहीबेरसम्म जिड्ग्रिङ्ग परेर झोक्राइरह्यो। अनि पछि आफ्नै सुसेधन्दामा लाग्यो ।
भोलिपल्ट पनि उसै गरी झ्यालमा बसी रानी भँगेराका गुँडतिर हेर्छिन् त भालेले अर्कै पोथी ल्याइसकेछ ।
केहीबेरसम्म त त्यो पोथीले सौताका छोराछोरीलाई आहारा ल्याउँदै खुवाउँदै गर्दथी ।
अलि बेरसम्म त उसलाई झर्को लागेर आयो । ‘जति खुवाए पनि आँआँ मात्र गरिरहने यी खन्चुवा बैरीका पोथ्राहरूका निमित्त केको यो भुटो ?’ पत्थरसमान दिल भएकी त्यसले ती बच्चाहरूलाई चुच्चाले तानीतानी गुंडबाट खसालिदिई ।
राम्रोसँग प्वाँख नउम्रेका ती बिचरा बच्चाहरू च्याँच्याँ गर्दै जमिनमा पछारिई मरे
सौताको दिल त्यहाँसम्म निष्ठुरी हुँदो रहेछ,भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले ढपक्क ढाकी अन्धकार पारिदियो । उनी मनमनै भन्छिन्- ‘केही गरी म चाँडै मरिहालें भने राजाले अवश्य अर्कै बिहा गर्नेछन्, अनि मेरा बालक छोराहरूको के दशा होला ?’ यही चिन्ताले आकुल भएर रानी बरबरती आँसु खसाल्न थालिन् । रुँदारुँदा दिन पनि बित्यो ।
जब साँझ परेथ्यो, अनि राजा सिकारबाट फर्केर रानीको त्यो अवस्था देखेर खूब हडबडाएर सोध्न लागे:
राजा – रानी ! तिमीलाई के भयो ? किन यसरी रोइरहेकी ?
रानी – यस्तो राम्रो संसार चटक्क छोडेर एक दिन जानुपर्दछ भनेर !
राजा – त्यो त छँदै छ नि । जुन कुराको उपाय छैन त्यसको चिन्ता गरेर आफ्नो भएको सुखमा बाधा पार्ने किसिमकी अवश्य तिमी होइनौ । भन, तिम्रो शोकको कारण निश्चय अर्कै कुरा छ ।
रानी – छैन प्रभु ! मरुँला कि भनेर शोक लागेको हो । तर आफ्ना निमित्तको शोक होइन, खालि मेरा बालक कुमारहरूका निमित्तको हो ।
राजा- किन ?
अनि रानीले भँगेराकी जहानको यथार्थ हाल राजालाई सुनाएर भनिन्- ‘म केही गरी चाँडै नै मरिहालें भने हजुरले दोस्रो विवाह नगरी अवश्य छोडिबक्सने छैन । अनि मेरा छोराहरूको कुन हालत होला ?’
राजाले झटपट अ‌ङ्कमाल गरेर रानीलाई भने- ‘त्यस्तो पनि कतै हुन सक्छ ? पहिले तिमी भर्खरकी छ्यौ, साधारण हिसाबले तिम्रो आयु अझ धेरै वर्ष छ । उसमा पनि दैवको कुदृष्टि केही गरी पर्न आएको पक्षमा म कहिल्यै दोस्रो विवाह गर्ने छैनँ।’
राजाको यो कुरा सुनेर रानीले मुलाहिजाको निमित्त मात्र चित्त बुझेको ‘जस्तो देखाइन्, तर भित्री मनमा उनको शङ्का गडिरह्यो ।
सौतेनी आमाको हातमा परेका भँगेराका बच्चाहरूको दुर्दशा उनको मनमा रातदिन ख‌ड्किरह्यो। ‘चिन्ता । चिन्ता । हरबखत चिन्ता ।’ चिन्तैले उनलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्ता भने व्यथा केही छैन, रातदिन झन्झन् दुब्लाउँदै गइन् र एक दिन यो अनित्य संसारको स्याहा-सेस्ता बुझाउन ईश्वरको सम्मुखमा उपस्थित भइन् ।
रानी परलोक हुँदा सारा दरबारमा रुवाबासी चल्यो । राजाले अलि दिनसम्म त पुनर्विवाहको विचारलाई मनमा झुल्कन पनि दिएनन् तर मरेकाको माया मात्र सधैं अटल किन रहन्थ्यो ।
दिन प्रतिदिन घट्दै गयो र ‘रानीबिनाको राजगद्दी शोभा भएन’ भनेर मन्त्रीवर्गले पनि कराउँदा राजाले अर्को विवाह गरे ।
केही काल त सुखैसँग बित्यो । राजाको मन राख्नका निमित्त कान्छी रानीले पनि बिचरा ती टुहुरा शिशिर र वसन्तमाथि निकै माया देखाएजस्तो गरिन्, तर यथार्थमा उनलाई सौतेनी रोगले दबाउँदै आएको थियो । आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उनलाई सोला दिन्थ्यो ।
एक दिन यी दाजुभाइ भकुन्डो खेल्न लागेका थिए । भकुन्डो अकस्मात् उफ्रेर आफ्नो शृङ्गार गर्न लागेकी रानीको ऐनामा बज्रन गई उनको लाली, गाजल इत्यादि जथाभाबी भयो । त्यो देख्दा रानीलाई साहै रिस उठ्यो । ‘ती पाजीहरूलाई यो भकुन्डो दिँदै दिन्नँ’ भनेर काखमा च्यापिराखिन् ।
केही बेरपछि हस्याङफस्याङ गर्दै वसन्त रानीको खोपीमा आएर ‘मुमा ! संयोगले हाम्रो भकुन्डो हजुरको खोपीमा पर्न आयो, हामीले जानीजानी गरेका होइनौं, रिसानी माफ रहोस्, भकुन्डो फिर्ता पाऊँ’ भनेर बिन्ती गरे ।
रिसले चूर भएर लाललाल आँखा गरेर रानीले भनिन्-‘सौताका छोराहरू भए पनि आफ्नै समान मानेर कत्रो दया-माया गरेको त झन् मलाई शत्रु देखी भकुन्डोले ताकेर हान्ने ! म भकुन्डो फिर्ता दिँदै दिन्नँ । जा, जे गर्छस् गर् ।
‘ रानीले यसरी झपार्दा बिचरा वसन्त के भन्न सक्थे, निन्याउरो मुख लाएर दाजु शिशिरकहाँ गएर ‘हामीहरूदेखि मुमा साहै रिसानी भयो, भकुन्डो बक्सिएन’ भनेर बिन्ती गरे ।
‘भैगयो, म मागेर ल्याउँछु’ भनेर शिशिरले मुमाको खोपीमा गएर भकुन्डो मागे । रानीले अनेक तरहको गाली गरी ‘भकुन्डो दिन्नँ’ भनेर अड्डी लिइन् । यो सब शिशिरलाई असह्य भयो। झटपट अगाडि गएर रानीको काखमा रहेको भकुन्डो टपक्क टिपेर उनी सरासर चले ।
अब रानीको रिसको सीमा रहेन । आफ्नो सिँगारपटार सबै बिगारी, बाटेको कपाल पनि लाछलुछ पारी, उल्टो आग्लो ठोकी रोएर बसिरहिन् ।
जब राजा साँझमा आएथे अनि रानीले हतपती ढोका नै खोलिनन्, खालि घुँक्कघुँक्क गरेर भित्रै बसिरहिन् ।
राजाले अनेक फुलाई, फकाई गर्दा मात्र बल्लतल्ल ढोका खोलिन् । उनको त्यो दुर्दशा देख्दा राजा भयभीत भए ।
राजाले सोधपुछ गर्दा रानीले आफूमाथि राजकुमारहरूले गरेको बनावटी अत्याचारको फूलजडी भनिन्-
‘हजुरका छोराहरूले मलाई भकुन्डोले हाने, किन यसो गर्यो भन्दा त उल्टो मलाई फ्याङ्गलफुङ्गल पारी कपालसमेत लुछिदिए । यो अत्याचार मलाई असह्य भयो ।’
रानीको यो कुरा सुनेर राजाले भने- ‘रानी ! सन्ताप नगर । लौ भन, ती पाजीहरूलाई के सजाय दिऊँ ?’ अब रानीलाई ठूलो मौका पर्यो । राजालाई झटपट बाचा बंधाई उनले भनिन्- ‘लौ त त्यसो हो भने ती दुई कुमारहरूलाई जङ्गलमा लगी काट्न लगाई यिनीहरूको मुटुकलेजो ल्याउन लाइदिबक्सियोस् ।’
अब राजालाई भारी फसाद पर्यो । रानीले भनेको मानूँ भने आफ्ना छोरा नबाँच्ने, नमानूँ भने आफूले बाचा गरिसके । आखिर केही सीप नलाग्दा राजाले भोलिपल्ट राजकर्मचारीहरूलाई बोलाई ‘यी राजकुमारलाई जङ्गलमा लगेर मारी यिनीहरूको मुटुकलेजो ल्याउनू’ भनेर हुकुम दिए ।
राजाको हुकुम त मन्त्रीले मान्नैपर्ने हो, तर त्यस्ता कलिला सुकुमार बालकहरूलाई मार्न कसको दिलले मान्ला ? जे भए पनि ती बालकहरूलाई लिएर राजकर्मचारीहरू एउटा घोर जङ्गलमा गए र दुइटा मृगहरू मारी उनीहरूको कलेजो-मुटु झिकी बालकहरूलाई त्यसै छोडेर आए ।
अब ती बिचरा बालकहरूले त्यो घोर जङ्गलमा के गरून् ! देखे-सुनेको कहीँ कतै छैन, रात पर्दै आयो, जाडोले मुटु पनि कमाउन थाल्यो । दुवै जना मिलेर झिँजा बटुले, तर आगो पार्ने सरजाम उनीहरूसँग केही थिएन्,
त्यस कारण शिशिरले वसन्तलाई भने- ‘भाइ । यो काइदाले भएन; तिमी यहाँ बसिराख म नजिकको गाउँमा गएर आगो लिई आउँछु ।’
यति भनेर वसन्तलाई एक्लै छोडेर शिशिर आगोको खोजमा गए । जङ्गलबाट निस्केर यताउता हेर्दा पूर्वपट्टि अलि टाढा आगो पिलीपिली गरिराखेको देखेर त्यतैतिर लागे ।
तर पनि जति जान्छन् तापनि आगो भएको ठाउँमा पुग्न सक्तैनन्;
हुँदाहुँदा उज्यालो पनि भयो, घाम पनि झुल्के, अनि उनको नजरमा एउटा ठूलो सहर पर्यो । सहरतिर उक्लेर अलिकति कदम के बढाएका थिए, गजबले झकिझकाउ भएको एउटा हात्ती आएर उनलाई समातेर पीठमा राखी राजदरबारमा लग्यो । त्यहाँ तयार रहेका गुरुपुरोहित, मन्त्रीवर्गले शिशिरलाई सुनको घडाले अभिषेक गरी राजगद्दीमा बसाले ।
यी सबै शिशिरलाई सपनाजस्तो भयो । कति कारणले आफूलाई राजा बनाएको हो, उनलाई केही थाहा भएन ।
भोजन समाप्त भएपछि मन्त्रीवर्गसँग कुराकानी गर्दा बल्ल उनले यथार्थ कारण बुझे । के रहेछ भने त्यो देशमा दिनको एउटा राजा फेरिँदा रहेछन् । दिनभर राज्यको सुखभोग गर्यो, राति सुत्न भनेर रानीको खोपीमा गयो, भोलिपल्ट बिहान त राजा मरिराखेका ! यसको हेतु बुझ्न नसक्दा सारा दरबारियाहरू हार खाइरहेका रहेछन् ।
शिशिरले पनि त्यो दिन त सुखमा बिताए तर जब रात परेथ्यो अनि ‘के होला ? कसो होला ? मरिने पो हो कि ?’ भन्ने चिन्ताले उनलाई पोल्न थाल्यो । जब सुकलाको समय भएथ्यो अनि उनी रानीको खोपीमा गए र त्यहाँ बसिराखेकी रानीको रूपयौवन देखेर छक्क परे । रानी पनि त्यस्तो राम्रो जवान पुरुषलाई पोइ पाउँदा दङ्ग परिन् । धेरैबेरसम्म राजारानी नसुती मीठामीठा कुरा गरिरहे। अब अलिअलि गरेर निद्राले रानीलाई छोप्तै आयो । उनी हाईहाई गर्न थालिन् । त्यो देखेर राजाले रानीलाई पलङमा सुताई आफूचाहिँ हातमा ना‌ङ्गो तरबार लिएर खूब चनाखो भएर बसिरहे ।
आधारातको समय भयो, जताततै सुनसान छ, आवाजको नाममा खालि रानीले मस्त निद्रामा परी फेरेको सास छ । रानीको रूप देखेर मोहित भई राजा एकटकसँग रानीकै मुखमा हेरिरहेका थिए । यस्तैमा रानीको नाकको दाहिने प्वालबाट एउटा मसिनो धागोजस्तै केही कुरा निस्क्यो ।
यो के होला भनेर राम्रोसँग राजाले विचार गर्न नपाउँदैमा त्यो त अकस्मात् भयङ्कर कालो नाग बनी राजालाई डस्न भनेर जाइलाग्यो। राजाले पनि केही नहडबाई आफ्नो हातमा रहेको तरबारले उसलाई चटाचट काटी टुक्राटुक्रा पारिदिए । अब बल्ल हरेक दिन राजा मारिएको कारण उनलाई थाहा भयो । अरू केही आउँछ कि भन्ने शङ्‌काले उनी फेरि बिउँझै रहे ।
जब मिरमिरे उज्यालो भएथ्यो, त्यो दिनको राजा खोज्न भनेर मन्त्रीवर्गले हात्तीलाई उठाउन लागे, तर हात्ती डेग चलेन । त्यो देख्ता सबैलाई अचम्म लाग्यो । उता राजाको लास लान भनेर नाङ्गै, मुडुलै भएका मलामीहरू घारो लिएर खोपीको दरबाजामा जान्छन् त गुनगुन गरेको शब्द भित्रपट्टिबाट आयो ।
उनीहरूले जब ढोकामा ट्याकट्याक गरेथे – ‘ए उज्यालो भैसक्यो ?’ भन्दै राजाले ढोका खोलिदिए । राजालाई जिउँदै देखेर उनीहरूले झटपट घारो दबाएर राजाको स्वस्ति गरी मङ्गल पढ्न थाले ।
यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्ग, गुरु, पुरोहित पनि जम्मा भए, हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैलाई थाहा भयो
। सधैं राजा फेरिरहनुपर्दा सब हैरान थिए, ‘अब भने चिरस्थायी राजा पायौं’, भनेर सबै हर्षले गद्गद भए र राज्यभारमा अनेक नाचगान, खुसीयाली भयो, सिन्दूरयात्रा पनि ठूलो समारोहका साथ गरियो ।
अब हामी शिशिरलाई छोडेर वसन्ततर्फ ध्यान दिऊँ ।
‘दाजु आउलान्, आगो ल्याउलान्’, भन्ने आशाले बिचरा वसन्त एक्लै जङ्गलमा जाडोले काँपेर बसिराखेका थिए । पशुहरू हिँडेर छस्राक-छसाक हुँदा पनि ‘लौ दाजु आए’ भनी आशाले फुल्दथे ।
तर बिचराको सब आशा निराश भयो, सारा रात बिती पूर्व दिशातिर लाली पनि चढेर आयो, तैपनि दाजुको पत्तै भएन । बिचराको रातभर अलापविलापले बित्यो ।
जब राम्ररी उज्यालो भएथ्यो अनि उनी दाजुको खोजमा हिँडे ।
राजाको छोरो भएर खाई, बढी आएका बिचराका कोमल हातपाउ जङ्गली काँडाले छियाछिया भए ।
बल्लतल्ल उनी जङ्गलबाट निस्केर सहरको बाटो लागेर जाँदा एउटा पसलमा पुगे । आफ्ना मालताल बिक्री गर्न पसलेले त्यस्तो राम्रो बालकलाई देखेर भन्यो- ‘नानी! आऊ बस, मेरा छोरा छैनन्, म तिमीलाई धर्मपुत्र पाल्दछु ।’
निराधार बालक हुनाले वसन्तले पनि पसलेले दिएको शरण ग्रहण गर्नैपर्यो । त्यहीं बसी पसलेको काम सगाई उनी आफ्नो दिन काट्न लागे । उनी पसलमा बस्ता सदाको भन्दा दोब्बर व्यापार हुन्थ्यो ।
यसै गरी प्रतिदिन उसको व्यापार बढ्दाखेरि ऊ असङ्ख्य धनी भयो ।
उसका छोरा-छोरीहरू पनि भए, तर सो मूर्ख पसलेलाई ‘मलाई धनजन, सम्पत्ति भएको यसै ठिटाको लक्षणले हो’ भन्ने होस भएन, उल्टो त्यो उनीमाथि कुदृष्टि गर्न थाल्यो । ‘मेरा सन्तान भइहाले, सित्तैमा यसलाई खुवाउने किन हो ? यसलाई अलिअलि गरेर हटाऊँ’ भन्ने कुविचारले त्यसले उनलाई अनेक घोचपेच गर्न थाल्यो ।
पसलेको टोकसो वसन्तले सकेसम्म सहन्थे, केही जबाफ गर्दैनथे ।
एक दिन साह्रै दिक्दार लाग्यो र मन ठन्डा होस् भन्नका लागि जङ्गलमा गएर शिशिर-वसन्तको गीत गाउन थाले। उनको गीतले सारा जङ्गल नै घन्क्यो । गीत ‘साह्रै राम्रो हुनाले पशुपंक्षीहरू पनि मोहित भएर चुपचाप लागेर सुन्न थाले ।
त्यस जङ्गलमा अर्कै एक देशका राजा सिकार खेल्न आएका रहेछन् । वसन्तको गीत सुनेर ‘यस्तो मीठो गीत गाउने को रहेछ’ भन्ने विचार गरेर उनी वसन्त भएको ठाउँमा आए ।
त्यस्तो राम्रो भर्खरको जवानलाई देखेर राजाले ‘तिमी को हौ ?’ भनेर सोद्धा ‘म एक अदना दुःखी हुँ’ भनी वसन्तले जबाफ दिए ।
तर राजालाई पत्यार भएन ।
‘यो जवान कोही राजकुमार हो’ भन्ने मनमा निश्चय गरेर उनले वसन्तलाई लिएर आफ्नो देशतर्फ फर्के र दरबारमा पुगी उनलाई कदरसाथ राखे ।
केही काल बितेपछि एक असल दिन ठहऱ्याउन लगाई राजाले वसन्तसँग आफ्नी छोरीको विवाह गरिदिए ।
अलि दिन सुखपूर्वक बित्यो । तर वसन्तलाई ‘पसलेले के भन्यो होला ?’ भन्ने विचारले शान्ति दिएन । उसैकहाँ फर्कने विचार गरेर उनी राजासँग बिदाबादी भए । राजाले पनि अनेक लावालश्कर र दाइजो साथ लगाइदिए । आफ्नी दुलहीलाई लिएर वसन्त पसलेको घरको बाटो लागे ।
केही बाटो काटिसकेपछि यो मालताल, धनदौलत पसलेको घरमा अटाउँदैन भन्ने ठानेर ‘जजसले जेजे बोकेको छ उसैउसैलाई भयो’ भनेर वसन्तले सारा लावालश्करलाई फर्काइदिए ।
खालि मैयाँलाई मात्र साथमा लिएर उनी पसलेको घरमा गए ।
वसन्तलाई देखेर पसलेले ‘यतिका दिन कहाँ गएको थिइस् ? यो कस्लाई ल्याइस् ?’ भनेर सोद्धा ‘कामविशेषले अर्कै देश गएको थिएँ, यो तपाईंकी सेठानीलाई सुसारे ल्याइदिएको हुँ’ भनी वसन्तले भने ।
त्यस्ती परम सुन्दरी युवतीलाई देखेर पसलेको मनमा पाप उठ्यो । उसले छ जना सार्कीहरू आफ्नो मतोमा लियो र एउटा बलियो छालाको धोक्रो सिउन लगाई सार्कीहरूकै मद्दतले वसन्तलाई बलजफ्ती समातेर धोक्रामा हाली नदीमा बगाइदियो ।
वसन्तको प्रभावले त्यतिको धनी भएर पनि अझ धेरै पाउनाको आशाले मैयाँलाई शिशिर राजाकहाँ लगी चढायो ।
त्यस्ती परम सुन्दरी युवती देखेर राजा खूब खुसी भए र त्यो पसलेलाई प्रशस्तै इनाम दिए ।
शिशिर राजा एक पत्नीव्रत हुन् । उनले ती मैयाँलाई बिहा गर्ने विचार गरेनन्, बरु ‘त्यस्ती राम्रीसँग भाइको विवाह गरिदिन पाए असल हुने थियो’ भन्ने विचार गरेर उनले भाइको पत्ता लगाउनका मतलबले ‘शिशिर र वसन्तको कथा जसले भन्न सक्तछ त्यो मानिसलाई खोजेर ल्याउनू’ भन्ने हुकुम दिए ।
उता छालाको थैलामा कोचिएका बिचरा वसन्तलाई नदीको वेगले बगाउँदै एउटा घाटमा पुऱ्यायो । त्यहाँ माझीहरू जम्मा भएका थिए, सबैले त्यो बगेर आइरहेको थैलो देखे ।
‘यो थैलामा के रहेछ हेर्नुपर्यो’ भनेर झटपट पानीमा हामफालेर त्यो थैलो खोल्छन् त एउटा जवान राम्रो मानिसलाई देख्दा उनीहरूलाई अचम्म लाग्यो अनि एउटा बूढो माझीले ‘मेरा सन्तान छैनन्, यिनीलाई म धर्मपुत्र पाल्छु’ भनेर वसन्तलाई आफ्नो घरमा लगेर राम्रा तरहले खान लाउन दिई राख्यो ।
राजाले शिशिर र वसन्तको कथा भन्ने मान्छे खोजेका छन् भन्ने हल्ला जताततै फैलियो । बिस्तारै वसन्तको कानमा पनि पर्यो।
‘राजालाई शिशिर-वसन्तको कथामा किन त्यस्तो चाख लागेछ’ भनेर वसन्तलाई अचम्म लाग्यो । यसको हेतु बुझनुपर्यो भनेर दरबारमा गई ‘यो कथा थोर-बहुत म जान्दछु’ भनेर राजाका हजुरमा खबर पठाए ।
राजाका हजुरमा हाजिर पुग्नासाथ वसन्तलाई बोलाहट भयो ।
वसन्तले राजाको दर्शन गरे । शिशिर-वसन्तको कथामा राजाको चाख लाग्नाको कारण पनि बुझिहाले, तर उनले झटपट आफ्नो परिचय दिन ठीक ठानेनन् । आफू झुत्रेझाम्रे माझीको धर्मपुत्र बनेर बसेका हुनाले त्यत्रा राजासँग ‘हजुरको भाइ वसन्त हुँ’ भनेर कसरी उनले भनून् ?
शिशिरले भने वसन्तलाई चिनेनन् । भोक, तिर्खा र अनेक कष्ट खानुपर्दा वसन्त नचिनिने भएका थिए ।
‘तिमी शिशिर वसन्तको कथा जान्दछौ ?’ भनेर राजाको सोधनी हुँदा
वसन्त भन्दछन्-
वसन्त – महाराज ! पूरा त जान्दिनँ, जङ्गलमा शिशिरसँग बिछोड भएपछिको वसन्तको कथासम्म त जान्दछु ।
शिशिर – त्यति मात्रै भए पनि भन । मलाई त्यति भए पनि पुग्छ ।
वसन्त – जो हुकुम महाराज । तर सरकारबाट एउटा कबुल गरिबक्सनुपर्छ, मैले कथा भनेसम्म हजुर रोइबक्सनु हुँदैन ।
शिशिर – लौ, कबुल भयो ।
त्यहाँपछि वसन्त कथा भन्न थाले ।
दुई भाइको उत्पत्ति, बाललीलादेखि सुरु गरी सानी आमाको पेचले घोर जङ्गलमा परी जाडोले सताउँदा दाजु शिशिर आगोको खोजमा गई बेपत्ता भएको र भाइ एक्लै जङ्गलमा दाजु आउलान् भन्ने आशाले काँप्दै बसिराखेको सम्म पुऱ्याउँदा शिशिरलाई असह्य भयो ।
उनले आँखाबाट बरबर आँसु खसाल्न थाले।
अनि वसन्त भन्दछन्- ‘महाराज कबुल नि ?’
वसन्तको यो निवेदन सुनेर
शिशिरले झटपट आँसु पुछेर भने- ‘म रोएको होइन, लौ फेरि भन ।’
वसन्तले फेरि भन्न थाले । पसलेको टोकसो असह्य भई वसन्त जङ्गलमा गएर शिशिर वसन्तको गीत गाउन लागेका कुरासम्म पुऱ्याउँदा राजाको फेरि गहभरि आँसु भयो।
तब वसन्तले फेरि राजालाई आफ्नो कबुल सम्झाए ।
राजाले आफूलाई सम्हालेर वसन्तलाई ‘कथा भन्दै जाऊ’ भनेर हुकुम गरे।
अनि जब वसन्तले आफूले राजाकी छोरी बिहा गरेर पसले कहाँ ल्याउँदा पसलेले धोका दिई छ जना सार्कीको मद्दतले उनलाई छालाको धोक्रामा हालेर नदीमा बगाइदिएको कुरासम्म पुऱ्याएथे,
अनि शिशिरलाई असह्य भयो । ‘भाइ वसन्त पसलेको धोकामा पर्दा उनको ज्यानसमेत गुमेछ क्यारे’ भन्ने मनमा उठ्दा उनी डाँको छोडेर रुन थाले ।
वसन्त – महाराज । किन यस्तो असावधान होइबक्सेको ? मरेका छैनन्, हडबडाइबक्सनु पर्दैन ।
शिशिर – (उज्यालो मुख लाएर) साँच्चै हो ? त्यसो भए हामी दुईको भेट हुनेछ । लौ अरू भन ।
वसन्त – अनि वसन्त छालाको थैलामा बग्दैबग्दै एउटा बन्दरगाहमा पुगेछन् । त्यहाँका माझीहरूले थैलाभित्र के रहेछ भनेर थैलालाई किनारमा ल्याएर खोल्दा त वसन्त पो निस्केछन्, अनि एउटा बूढो माझीले म धर्मपुत्र पाल्छु भनेर वसन्तलाई घरमा लगेछ ।
माझीको घरमा रहँदाबस्ता एक दिन वसन्तले फलानो देशका राजाले शिशिर-वसन्तको कथा सुन्न इच्छा गरेका छन् भन्ने खबर पाउँदा यथाशक्ति कथा सुनाऊँ भनेर दरबारमा हाजिर भएछन् ।
राजाको सम्मुख पर्नासाथ राजा त मेरो दाजु हुनुहुँदो रहेछ भनेर चिनिहालेछन् ।
वसन्तले यति के भनेथे शिशिरले झटपट सिंहासनबाट ओर्लेर वसन्तलाई अङ्कमाल गरे। परस्परमा हर्षका आँसु बहन थाले अनि
शिशिर भन्छन् – ‘भाइ ! तिम्री दुलही पनि बेपत्ता भइन् भन्ने मलाई लाग्दैन । एउटी परम सुन्दरी युवती मकहाँ चढाउन एउटा पसलेले ल्याएको थियो ।
मेरो बिहा भैसक्यो, यी कन्या मेरो भाइलाई लायककी छिन् भनेर उनीलाई अन्तःपुरमा राखेको छु। ती कन्या तिम्रै दुलही हुनुपर्छ ।’
यति भनेर ती कन्यालाई झिकाए । ती कन्या पनि राजाको बैठकमा आएर वसन्तलाई देखी ‘मेरा स्वामी !’ भनी वसन्तका पाउमा परिन् । अब शिशिर-वसन्तको आनन्दको मात्रा पूरा गर्नलाई केही बाँकी रहेन ।
अब त्यो धोकेबाज पसलेको के दशा भयो होला ? एकातिर वसन्त कोमल दिलका थिए, पसलेको नुन पनि उनको पेटमा परिसकेको थियो ।
उतातिर कन्या चढाएको इनाम खान्छु भन्ने लालचले, आफूलाई ऐश्वर्य र सन्तान दिने बिचरा निर्दोष वसन्तको ज्यानसमेत लिने अभिप्रायले उनलाई छालाको धोक्रामा हाली नदीमा फ्याँकिदिएको थियो । उसको के दशा भयो होला ? भनेर यो कथा सुन्ने, पढ्नेहरूले आफ्नो बुद्धिविवेकअनुसार निर्णय गर्नुहोला ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, ….

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै