बझाङ । बझाङमा धार्मिक गुरूहरु सामाजिक कुप्रथाको बिरुद्धमा उभिन थालेका छन् । गाउँ गाउँमा अभियान नै चलाएर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछुतलगायत सामाजिक विकृतिजन्य कुरितीको विरुद्ध एकजुट हुन थालेका हुन् ।
शुक्रबारदेखि बुंगल नगरपालिका वडा नं ६, ७, ९, १० र ११ मा कुरिती अन्धविश्वासको विरुद्धमा कुरिती अन्धविश्वासको विरुद्धमा हिन्दु धर्म गुरू संस्कार शिरोमणी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त पञ्चांगकार र बैदिक पुरोहित सुरेश सनातनी आर्यले धार्मिक प्रवचन दिन थालेका हुन् ।
धार्मिक प्रवचनमा पण्डित पन्तले आफूले अध्ययन गरेको वेद तथा गीतामा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको बताए । उनले बेद तथा गीतामा नभएको कुरालाई सनातनी हिन्दु धर्म मान्नेहरू कुनै किसिमको कुरितीलाई स्वीकार गर्न नसकिने बताए । धर्मले नभनेको कुरालाई अधार्मिक कुरा गरेर कुरितीको पछि नलाग्न उनले आग्रह गरे । “जसले सबै कुराको ज्ञान राख्छ, सबै किसिमका आविष्कार गर्छ, त्यही ठूलो मान्छे हो ।” उनले भने ।
संसारमा अधिकांश मेसिनरी सामाग्रीहरु विश्वकर्माहरूले बनाएको र सबैले प्रयोग गरेको उनले बताए । उनले विभिन्न आविष्कार गर्ने, मेसिनरी सामाग्री बनाउने वैज्ञानिकहरुलाई ठूलो मान्ने कि हामी जातीय विभेद गर्नेलाई मान्ने ?” उनी प्रश्न गर्छन् ।
महिनाबारीको विभेद पनि धर्ममा उल्लेख नभएको उनले बताए । उनले भने, “महिनाबारी प्राकृतिक कुरा हो । महिनाबारी नहुनु भनेको अस्वस्थ हुनु हो । बाँझोपन हुनु हो । जब सृष्टिकर्तामा नै बाँझोपन आउँछ भने उसले उत्पादन गर्न सक्दैन । त्यसैले महिनाबारी भएको मान्छेलाई सम्मानका साथ राख्नुपर्छ ।”
उनले राम्रो कुरालाई तिरस्कृत गर्नु भनेको पाप गर्नु भएको बताए । “हाम्रो हिन्दु धर्मले त झनै महिनाबारी भएको मान्छेलाई तिरस्कृत गर्नु भनेको हजारौँ ब्राह्मण, हजारौँ गाई मारेसरह पाप लाग्छ भनेको छ ।” उनले भने ।
उनले गलत अर्थ लगाएर मपाइत्व, पुरुषत्वको सोचले मात्रै विभेद भएको तर धर्मले कहिल्यै कुरितीलाई सम्मान नगरेको बताए ।
हिन्दुले नवरात्रमा देवीको पुजा, कैलाश पर्वतमा शिव पार्वती, मन्दिरमा राधा कृष्णलगायत सबै ठाउँमा महिला जातिलाई सम्मान गर्ने गरेको तर, हाम्रो समुदायमा मात्रै गलत अर्थको सिकार भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
बैदिक पुरोहित सुरेश पार्की सनातनी आर्यले परम्परागत रुपमा प्रयोग गरिने गहुँत गोबर तथा सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको बताए । त्यसलाई कुप्रथासँग जोडेर गहुँत खाएर मात्रै शुद्ध हुने बुझाई भएको गलत भएको बताए ।
उनले परम्परागत रुपमा गरिएको गहुँत, गोबर, सुनपानी प्रयोगको वैज्ञानिक कारण भएको बताए । “गहुँत छर्कनु भनेको त्यसले किटाणुहरु मार्नु हो । गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्छ । त्यसमा त्यस्तो शक्ति हुन्छ । त्यसैले त्यो बेलामा मान्छेले प्रचलन चलाएको हो । त्यो बेलामा साबुन, सोडा, सेम्पु थिएनन् । तर, अहिले अछुत बनाइएको छ । त्यो गलत हो ।” उनले भने ।
विभिन्न प्रकारको वनस्पतिसहितको घाँस सेवन गरेको हुँदा गाइको गोबरले लिपपोत गर्दा पनि सेनिटाइजरको काम गर्ने हुँदा प्रयोग गरिएको उनले बताए ।
समाजमा भएका यस्तै हानिकारक व्यवहारलाई परिवर्तन गर्नका लागि बझाङमा युएमएन तथा दलित सहयोग समाजद्वारा सञ्चालित समान व्यवहार परियोजना (ईभीई)ले काम गरिरहेको छ । समाजमा भइरहेका विकृतिबारे धर्ममा के छ, धार्मिक दृष्टिकोण के हो भन्ने उद्देश्यले धार्मिक प्रवचन कार्यक्रम गरेको समान व्यवहार परियोजनाका फिल्ड अधिकृत भीम रसाइलीले बताए । उनले परम्पराका नाममा, संस्कृतिका नाममा समाजमा भएका हानीकारक व्यवहारहरुलाई निर्मुल पार्नका लागि संस्थाले काम गरिरहेको उनले बताए । -राससबाट
फेसबुक प्रतिक्रियाहरु