बझाङ । नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । शारजाहमा १ सय ७० माथिको योगफल पूरा गर्न निकै चुनौतीपूर्ण मानिन्छ ।
नेपालका ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रन बनाए । चौथो विकेटलाई सन्दीप र आसिफले १ सय रनको शतकीय साझेदारी गरेका थिए । नेपालको टी२० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारी हो । यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टी२० आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टी२० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।
नेपालको सुरुवात दोस्रो खेलमा पनि राम्रो हुन सकेन । स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई दुई रनमा एलबीडब्लू आउट र कप्तान रोहित पौडेललाई तीन रनमा बोल्ड आउट गर्दै ३.३ ओभरमा १४(२ को अवस्थामा पुर्याएका थिए । त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए । ननस्ट्राइकबाट रन लिन कुशल दौडिएपनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुन ननस्ट्राइकमा फर्किनेक्रममा रन आउट भएका थिए ।
नेपाल ६.४ ओभरमा ४३(३ को अवस्थामा हुँदा क्रिजमा आएका सन्दीप जोराले आसिफ शेखसँग मिलेर राम्रो योगफल बनाएका थिए । आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले २-२ विकेट लिए ।
फेसबुक प्रतिक्रियाहरु