आइतवार, अशोज १९, २०८२
  • होमपेज
  • नेताज्यू, के हेरेर फेरि तपाईँलाई भोट दिने ?
Breaking News

नेताज्यू, के हेरेर फेरि तपाईँलाई भोट दिने ?

दिपेन्द्र सुदिप

म यो लेख केही दिनअघि नै लेख्न चाहन्थेँ । तर‍, पहिले नै तय भएको यात्रा र आफ्नै स्वास्थ्य समस्याले केही ढिला गरायो । मैले Gen Z को आन्दोलनपछि ठूला दलका नेताहरूले कसरी सम्बोधन गर्लान् ? जो केही वर्ष यता सत्ताको वरिपरि घुमिरहेका थिए भनेर एक हिसाबले प्रतीक्षा गरेको थिएँ । आन्दोलनको हप्ता दश दिनभित्र एमालेका ईश्वर पोख्रेलको वक्तव्य आयो । काँग्रेसका गगन थापा र विश्वप्रकाश शर्माका सन्देश आए । माओवादीका प्रचण्डको भिडियो आयो । मलाई लागेको थियो कि नेताहरूले पक्का पनि यो मनन गरेका होलान् कि यो आन्दोलन केही क्षणको आवेग मात्र थिएन, न त कुनै निहित स्वार्थ समूहको उक्साहटमा भएको थियो । यो त दशकौँदेखि थुप्रिएको निराशा, आक्रोश र राज्यप्रतिको अविश्वासको विस्फोट थियो ।

दशकौँको असफल नेतृत्व, भ्रष्टाचार, अवसरहीनता र निराशाको परिणाम थियो । मलाई लागेको थियो कि उनीहरूका वक्तव्य र सन्देशहरूमा उनीहरूले आफ्नो असफलता स्विकार्नेछन् र इमानदार जवाफ दिनेछन् । सुरुमा आएका प्रतिक्रियाहरू दुर्भाग्यवश अपेक्षाकृत आएन । उहाँहरूका सन्देशमा केवल आफ्नो घर जलेको, पार्टी कार्यालय जलेको र अब झन् भव्य पार्टी कार्यालय बनाइने, देश दौडाहामा जाने र पार्टी झन् बलियो बनाउने, नेतृत्वले आफूले भनेको नमानेको जस्ता सतही र आत्म केन्द्रित मात्र देखियो । यतिसम्म कि सबै ठूला दल एमाले काँग्रेस र माओवादी मिलेर Gen Z विरुद्ध लड्नेछौँ, हामी केपी ओलीलाई फेरि बाजागाजा र भव्यताका साथ कुमारी भित्र्याए झैँ फिर्ता गर्ने छौ । मेरो घरमा पैसा जलेका भनेका भिडियोहरू झुट हुन् इत्यादि ।

नेताजीहरू ! कृपया यो आन्दोलनको मर्मलाई बुझिदिनुस् । तपाईँहरूको असफलता, गुट र व्यक्तिगत सत्ता मोह, सङ्गठित भ्रष्टाचार इत्यादिको कारण राज्यले ठूलो मूल्य चुकाउनु पर्‍यो । ७२ जनाको मृत्यु, २१ सयभन्दा बढी घाइते, सार्वजनिक र निजी सम्पत्तिमा २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति, संसद् भवन, सरकारी कार्यालय, निजी व्यवसाय र होटेल आदि खरानी भए । तपाई आफ्नी छोरीको खेलौना डढेको गुनासो गर्नुहुन्छ । माथिका यी आँकडा केवल आँकडा मात्र होइन, कति परिवारले आफ्नो सदस्य मात्रै नभएर पारिवारिक आशा भरोसा र परिवारको सपना गुमाए, कतिको आफ्नो जीवनभरिको कमाइ नष्ट भयो, के तपाई त्यसको पीडाको एक अंश पनि महसुस गर्न सक्नुहुन्छ ? अहँ सक्नुहुन्न । नत्र त्यस्ता सतही र आत्म केन्द्रित प्रतिक्रिया आउने थिएनन् । मलाइ आशा थियो, तपाईँको सन्देशमा यो मर्मलाई सम्बोधन गर्नुहुनेछ । अहँ, एक छेउ पनि गर्नु भएन ।

एक त आन्दोलन मागहरू साधारण थिए । भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना, पारदर्शी शासन, राष्ट्र–केन्द्रित नेतृत्व । के यी मागहरू नाजायज थिए र तपाईका छोरा छोरी र नाति नातिनीका उमेरका व्यक्तिहरूलाई गोली ठोक्न जायज सम्झिनु भो ? हामीले गोली हान भनेको होइन त भन्नुभयो । ल मानौँ, गोली हान भन्नु भएन रे, तर आफू त्यो ठाउँमा बसेपछि नैतिक जिम्मेवारी त लिनुस् । त्यसपछि जे भयो त्यसको प्रतिक्रियामा भयो, विज्ञानमा एउटा नियम छ, हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ । अझै पनि तपाईका क्रियाहरू भ्रष्टाचार अन्त्य गर्न, देशमा भविष्य सुरक्षित गर्न र देशभित्र आशा जगाउन तिर तत्पर छैनन् । तपाईँहरू सबै मिलेर Gen Z विरुद्ध लड्नेछौँ भन्नुहुन्छ । सम्पूर्ण नेपाल आज Gen Z सँगै उभिएको छ । भन्नुस् अब तपाईँहरू कससँग लड्ने ? आफ्नै सन्तानसँग ? आफ्नै भविष्यसँग ? विचार गर्नुस्, तपाईँहरू जिम्मेवार ओहोदामा हुनुहुन्छ, तपाईँका यी क्रियाहरूको प्रतिक्रिया बराबर र विपरित अवश्यम्भावी छ, यो विज्ञानको नियम हो ।

कतिपय नेताहरूले तपाईको घरमा आउँछौ । हामी पार्टीलाई अझ बलियो बनाउँछौँ । हामी खरानीबाट पुनः उठ्नेछौँ भन्नुभएको छ । तपाईको पार्टीले चन्द्रमा छोए पनि सभापतिको घर पैसा र बहुमूल्य धातुले भरिए पनि जनतालाई अवसरहीनता र निराशाबाहेक के दिनुभयो ? हिजो जनताको घर आँगन जान केले रोक्यो ? अझै पनि यो आन्दोलनले पार्टी बलियो बनाउन होइन, भ्रष्टाचार अन्त्य गर्न, भविष्य सुरक्षित गर्न र आशा जगाउन हामीलाई म्यान्डेट दिएको छ किन भन्न सक्नुहुन्न ? किन तपाईँको ध्यान जनताको पीडाभन्दा पार्टीको भव्य भवन निर्माणतर्फ मात्र सीमित भयो ?

अब के आश गरौँ तपाईँबाट ? कयौँ पटक प्रधानमन्त्री भइसकेको अर्को एउटा पार्टीका अध्यक्षले शानसँग भन्नुभयो, अब हामी अझ ठूलो र भव्य पार्टी कार्यालय निर्माण गर्नेछौँ । देश र विदेशबाट सहयोग गर्नुस् । हे भगवान् ! हजारौँ जनताले ज्यान गुमाए । हजारौँ घाइते भए । अर्बौँको सम्पत्ति खरानी भयो । त्यो बेला तपाईँको प्राथमिकता महलजस्तो पार्टी अफिस हो ? नबुझेको भनौँ बुझक्कड हुनुहुन्छ, नबुझेको भनौँ । यस्तो छ हालत, कसले बुझाइदिन सक्छ तपाईँलाई ?
अब चुनावको मिति तोकिसकिएको छ, जसले यो आन्दोलन गरे, उनीहरूको न तपाईहरूको जस्तो लामो इतिहासको विरासत छ, न स्कुल क्याम्पसमा युनियन छन्, नत समानान्तर सत्ताको रसास्वादन छ, न चुनावमा खसी कहाँ किन्ने कुनै च्यानल छ ।

केही नयाँ आउलान् । तर, चुनावमा हाली मुहाली त तपाईकै होला । बुथ क्याप्चर गर्नेदेखि मतपेटिका चपाएर निल्नेसम्म । त्यसपछि त राज्यसत्ता तपाईकै हो । तपाईहरूको पारा त्यही हो । देश विकासको लागि के नेपाली जनताले फेरि पनि अर्को जेनेरेसनको यस्तै आन्दोलनको अपेक्षा गर्नुपर्ने हो ? आन्दोलन सकिएर सडक शान्त भए पनि जनताको मनमा उठेका प्रश्नहरूको राँको अझै बलिरहेको छ । ती प्रश्नहरू केवल शब्द होइनन्, ती त रगत र आँसुले लेखिएका छन् । प्रत्येक सहिदको परिवारको आँसुले सोधिरहेको छ । प्रत्येक घाइतेको पीडाले सोधिरहेको छ । आफ्नो सम्पत्ति गुमाएका हरेक नेपालीको मौनताले सोधिरहेको छ ।

के तपाईँहरूले साँच्चै देख्नुभएन ? जब युवाहरूले “नो भोट, नो सपोर्ट भन्दै थिए, त्यो कुनै पार्टीविरुद्धको नारा थिएन । त्यो त पूरा राजनीतिक प्रणालीको असफलता विरुद्धको घोषणा थियो । जब हजारौँ युवाहरूले सडकमा नारा लगाए, के तपाईँहरूले त्यो आक्रोशको आवाज आफ्नो महलको झ्यालबाट सुन्नुभएन ? त्यो आवाजले भनिरहेको थियो, हामीले तपाईँहरूलाई विश्वास गर्‍यौँ, तपाईँहरूले धोका दिनुभयो ।

के तपाईंहरूलाई जनताको पीडाभन्दा साँच्चै पार्टी, गुट र व्यक्तिगत सत्ता मात्रै महत्त्वपूर्ण छ ? सोझा जनताको मृत्यु, सयौँ घाइते र त्यो बिघ्न क्षति सबै तपाईँहरूको असफलताको प्रतिफल होइन ? किन तपाईँहरूले केवल सतही अभिव्यक्ति दिनुहुन्छ । तर, आत्मालोचना गर्न सक्नुभएन ? हामीलाई नेताहरूको ठूला-ठूला भाषण चाहिएको छैन । खै इमानदार क्षमा याचना ? खै हो, हामीले गल्ती गर्‍यौँ, हामी तपाईँहरूको अपेक्षा पूरा गर्न असफल भयौँ । हामीलाई माफ गर्नुहोस्, भनेको खै ? कृपया एउटा कुरा बताइदिनुस्, के हेरेर तपाईँलाई फेरि भोट दिने हो हामी नेपालीले ?

दिपेन्द्र सुदिप
बलेवा बाग्लुङ्ग
हाल : बोस्टन प्राज्ञ समूह, अमेरिका

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै