शनिबार, साउन ११, २०८२
  • होमपेज
  • जातीय विभेद र पुष्टि पूर्वग्रह
Breaking News

जातीय विभेद र पुष्टि पूर्वग्रह

प्रकाश विक

काठमाडाैँ । मानिसको सोचाइमा पुष्टि पूर्वग्रह गहिरो रुपमा व्याप्त छ । यसको अर्थ हो, हामी पहिलेदेखि नै विश्वास गरेका कुरा मात्रै सही छन् भन्ने सोचमा रहनु, अनि नयाँ जानकारीहरू पनि त्यही सोचलाई पुष्टि गर्नकै लागि प्रयोग गर्नु । यस्तो मनोवैज्ञानिक पूर्वाग्रह व्यक्तिगत मात्र होइन, सामाजिक र धार्मिक संरचनामा समेत गम्भीर असर पार्दछ ।

समाजमा जातीय विभेदको अन्त्य हुन नसक्नुको मुख्य दुई कारण छन्, धर्मको गलत प्रयोग र पुष्टि पूर्वग्रह । परिवर्तनका प्रयासहरू बारम्बार असफल हुनुको पछाडि मान्छेकै अडिग विश्वास प्रणाली र पूर्वाग्रह दृष्टिकोण लुकेको छ ।

पुष्टि पूर्वग्रह र धर्म: धार्मिक आस्थाहरूलाई मानिसहरू नश्ल, जात, वर्ग, वा लिंग विभेदको औजारको रूपमा प्रयोग गर्दछन् भने, पुष्टि पूर्वग्रह त्यसको सहयोगी शक्तिको रूपमा काम गर्छ । जब मानिस कुनै धर्मग्रन्थ वा परम्परामार्फत् “जात व्यवस्था” लाई ईश्वरको इच्छा ठान्छ, त्यसलाई चुनौती दिने नयाँ विचार, दलित अधिकार वा मानव समानतासम्बन्धी सन्देशहरूलाई अस्वीकार गर्न उसले पुष्टि पूर्वग्रहको सहारा लिन्छ ।

जब धर्मका नाममा मानिसलाई उच्च र नीचमा बाँडिन्छ, त्यसले विभाजनको रेखा अझ गहिरो बनाउँछ । अझ खतरनाक त के भने, मानिसहरू त्यही धर्मको अन्ध अनुसरणमा यति गहिरो डुबेका हुन्छन् कि उनीहरूले आफूले अपनाइरहेको विभेद नै ‘धार्मिक सत्य’ हो भन्ने पक्का विश्वास गर्छन् ।

पुष्टि पूर्वग्रह कसरी काम गर्छ भन्ने प्रश्नमा मानिसले आफूले मानिरहेको कुरालाई पुष्टि गर्ने प्रमाण मात्रै खोज्छ । उदाहरणका लागि, यदि कसैले “दलितहरू पूजामा अयोग्य छन्” भन्ने विश्वास राख्छ भने, ऊ धर्मग्रन्थका त्यही अंश पढ्छ जहाँ वर्ण व्यवस्था उल्लेख छ, तर ऊ त्यही धर्मले सन्देश दिएको समता, करुणा, र प्रेमका पक्षहरू उपेक्षा गर्छ ।

जातीय विभेद र पुष्टि पूर्वग्रह

धेरै मानिसहरूको मनमा एउटा गहिरो जड रहेको छ, “हाम्रो जात माथिल्लो हो”, “नीच जातलाई सेवा गर्नु स्वाभाविक हो”, “धर्म ग्रन्थले यस्तो भनेको छ”, आदि । यी सोचलाई परिवर्तन गर्ने प्रयास गर्दा, उनीहरू यसलाई खारेज गर्छन् । उनीहरू यस्ता विचारहरू मात्र पत्याउँछन्, जसले उनीहरूको जातीय श्रेष्ठताको भावना पुष्टि गर्छ ।

दलित पुरोहित विवाद (भारत)

केही राज्यहरूमा दलित समुदायका मानिसहरूलाई पुजारी बन्न दिने सरकारी प्रयासलाई धार्मिक परम्पराको उल्लंघन भनिएको थियो । यहाँ पुष्टि पूर्वग्रहले काम गर्‍यो, धार्मिक किताबहरूमा वर्णव्यवस्था देखिएको कारणले धेरै मानिसहरूले दलित पुजारीको सम्भावना अस्वीकार गरे ।

नेपालमा मन्दिर प्रवेश निषेध:

अहिले पनि नेपालका कैयौं मन्दिरमा दलित समुदायलाई प्रवेश गर्न दिइँदैन । जब दलित समुदायले आफ्नो अधिकारको माग गर्छ, तिनलाई धर्मको अपमान गर्ने भनेर दोष लगाइन्छ । धार्मिक आस्थालाई चुनौती नदिने पुष्टि पूर्वग्रहको कारण समाजले यो विभेदलाई सामान्य ठान्न थाल्दछ ।

जबसम्म हामी पुष्टि पूर्वग्रह त्यागेर निष्पक्ष दृष्टिकोणबाट धर्म र सामाजिक संरचना हर्दैनौं, जातीय विभेदको अन्त्य सम्भव छैन। भगवा वस्त्र लगाउनु पाप होइन । तर, त्यस वस्त्रको आडमा जातीय घृणालाई कायम राख्नु निश्चय नै गलत हो । धर्मको वास्तविक सार प्रेम, करुणा र समभाव हो । यसलाई पुष्टि पूर्वग्रहको कैदबाट मुक्त गरौं ।

यदि हामी साच्चै जातीयमुक्त समाज चाहन्छौं भने धर्मको मूल मर्म बुझ्नु आवश्यक छ । जुन करुणा, समता र सेवा हो । त्योभन्दा अगाडि, हामीले आफ्नो सोचाइको जडोमा रहेको पुष्टि पूर्वग्रहलाई स्वीकार गर्न र त्यसबाट मुक्त हुन सिक्नुपर्छ । धर्म मानवता विरोधी हुनु हुँदैन । मानवता पुष्टि पूर्वाग्रहको कैदमा पर्नुहुँदैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै