बझाङ । काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने मुकुन्द दवाडीसहित पाँच जनाको टिम जेठ पहिलो साता खप्तड पुग्यो । डोटीको झिग्राना हुँदै खप्तड पुगेका उनीहरूलाई स्थानीयले पाँच घण्टामात्रै समय लाग्ने बताएका थिए ।
झिग्रानाबाट बिहान ९ बजे खप्तडका लागि हिँडेको दवाडीको टोलीले खप्तड व्यारेक पुग्न १० घण्टा समय लगाएर साँझ ७ बजे मात्रै पुग्यो । उकालो हिँड्नुपर्ने र अक्सिजन कम भएपछि टोलीका सदस्य विजय महतलाई बाटोमा लेक लाग्ने समस्या भएको थियो । महत साथीहरूको सहायताले खप्तड पुगे र नेपाली सेनाको ब्यारेकमा रहेको मेडिकलमा उपचार गराए । ‘साथीहरूको सहयोगमा खप्तड पुगियो,’ महतले भने, ‘खप्तडमा मेडिकल नभए बाटोबाटै फर्किनुपर्ने थियो । खप्तडमा उपचार हुन्छ भन्ने थाहा पायौँ र अलि अलि हिँड्ने जाँगर पनि चल्यो ।’
दोस्रो र तेस्रो दिन खप्तडमा उनलाई त्यो औषधीले निकै राहत गर्यो । स्वर्गभूमि खप्तडले आफ्नो पुकार सुनेर सञ्चो पारिदिएको उनी बताउँछन् । ‘खप्तडमा सामान्य लेक लाग्ने समस्या हुन्छ भन्ने मात्रै सुनेका थियौँ । तर, त्यो दिन अझै बाँच्न लेखेको रहेछ । सेनाको निःशुल्क उपचार र परामर्शले क्षणभरमै सञ्चो बनायो । अहिले तन्दुरूस्त छु ।’ खप्तडमै भेटिएका महतले सुनाएका थिए ।
राष्ट्रिय वाणिज्य बैंक दमक झापामा कार्यरत रमेश खत्रीसहित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू गत साता खप्तड भ्रमणमा पुगे । खप्तड पुगेको दोस्रो दिन नै रमेशलाई रूघा ज्वरोले समात्यो । दिनभर पानीमा भिजेको हुँदा राति ज्वरो बढेपछि आपतकालिन अवस्थामा उनीहरू व्यारेकमा रहेको मेडिकलमा गए र उपचार गराए ।
‘खप्तडजस्तो ठाउँमा कुनै स्वास्थ्य केन्द्र नभएको भए धेरै मान्छे जोगिन मुस्किल हुन्छ,’ खत्रीले भने, ‘यो मध्यवर्ती क्षेत्रको मान्छेहरूले त चिसो, तातो, हावापानी पचाइसकेका हुन्छन् । तर, धेरै टाढाका पर्यटकलाई भने नेपाली सेनाको मेडिकल नभएमा निकै गाह्रो हुन्थ्यो । उहाँहरू मानवीय धर्म भन्दै निःशुल्क उपचार गरिरहनुभएको छ । यो ठाउँमा मानवीयता देखाउनु महानता हो ।’
राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेनाले खप्तडमा आएर अप्ठेरोमा परिरहेका सबैको उद्धार तथा सहयोग गरिरहेको काभ्रेपलाञ्चोकको पाँचखालबाट आएका जीवन नेपालले बताए । उनले नेपाली सेनाको जसरी सरकारले नै खप्तडमा स्वास्थ्य संस्था, राम्रो आवासहरू, होटलहरूको व्यवस्था गरिदिएको भए पर्यटकको ओइरो लाग्ने बताए ।
खप्तडमा नेपाली सेनाले पर्यटकको मात्रै होइन । स्थानीयको झन् आकर्षणको केन्द्र बन्ने गरी निःशुल्क स्वास्थ्योपचार गरिरहेको छ । कतिपय मध्यवर्ती क्षेत्रका बासिन्दाहरू उपचारका लागि खप्तड नै पुग्ने गरेका छन् । स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाका भर नमानेर खप्तड जानुपरेको खप्तडछान्ना गाउँपालिका–३ कि यशोदा जोशीले बताइन् । उनले दम, ग्याष्ट्रिकको औषधी खप्तड ब्यारेकबाट ल्याएकोले मात्रै काम गर्ने गरेको बताइन् ।
‘मलाई ग्याष्ट्रिकको औषधी खान थालेको ५ वर्ष भइसक्यो । स्थानीय स्वास्थ्य चौकीबाट ल्याएको औषधीले खासै काम गर्दैन । खप्तडबाट ल्याएको औषधीले भने आराम गराउँछ । त्यसैले खप्तड पुगिरहन्छु । गोठालो भएको बेला त झन् उपचारमा समस्या हुँदैन ।’ उनले भनिन् ।
खप्तडमा हरेक वर्ष मेलाहरूमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गर्दै आएको छ । गंगा दशहरा मेला, उकालु पूर्णिमा मेला, ओरालु मेलामा सयौँको संख्यामा बिरामीको उपचार गर्ने गरेको छ ।
खप्तडमा रहेको समरजित गुल्मका गुल्मपति सेनानी रामकुमार थापाका अनुसार सेनाले हरेक वर्ष मेलाको समयमा र अन्य समयमा गरेर हजारौँको संख्यामा बिरामीको निःशुल्क उपचार गरिरहेको छ । गत महिना खप्तडमा लागेको गंगा दशहरा मेलामा मात्रै दुई दिनमा ६६३ जनाको उपचार गरिएको थियो ।
थापाका अनुसार उक्त दुई दिने स्वास्थ्य शिविरमा ३६५ जना महिला र २९८ जना पुरूष गरी जम्मा ६६३ जनाको स्वास्थ्योपचार सेवा लिएका थिए । त्यस्तै गएको पूर्णिमाको उकालु, ओरालु मेलामा लगाइएको शिविरमा पनि ६ सय जनाको हाराहारीमा सेवा गरेको उनले बताए ।
मेलाको समयबाहेक पनि नेपाली सेनाले बिरामीको उपचार गरिरहेको हुन्छ । गुल्मपति थापाले भने, ‘बिरामी भएर आउनुहुन्छ । यहाँ अन्त कतै स्वास्थ्योपचारको विकल्प पनि छैन । हामीसँग उपचारको आशा गरे आइसकेपछि रित्तै पठाउनुभएन । जति आउनुहुन्छ, हाम्रो तर्फबाट सकेको उपचार गरेर पठाउँछौँ ।’
थापाका अनुसार खप्तड भ्रमणमा जाने पर्यटक, गोठ बनाएर बसेका गोठालाहरू, पुजापाठमा गइरहने मध्यवर्ती क्षेत्रका बासिन्दाहरू, आवतजावत गरिरहने यात्रीहरू बिरामी भएर हरेक दिन जसो २५÷३० जनाले सेवा लिइरहेका छन् । खप्तडमा प्रायः चिसोबाट हुने रूघाखोकी, ज्वरो, लेक लाग्ने, लड्ने, चोटपटक लागेका जस्ता बिरामीहरू आउने गरेको उनले बताए ।
नेपाली सेनाले स्वास्थ्योपचार मात्रै होइन । खप्तड आउने जो कोहीलाई पनि समस्या पर्दा सहयोग गर्दै आएको छ । ‘जाडो ठाउँ, सानोतिनो जुनसुकै बिराम पनि हुनसक्ने हुन्छ । प्रायः राति होटलमा ठाउँ नभएर बस्नका लागि सहयोग गर्नुप¥यो भनेर पर्यटकहरू हाम्रो गेटमा आउनुहुन्छ । त्यस्तो अवस्थामा मानवीय दृष्टिले पनि हामीले उहाँलाई सहयोग गर्नुपर्छ भनेर सके जति व्यवस्था गरिरहेका हुन्छौँ ।’ गुल्मपति थापाले भने ।
फेसबुक प्रतिक्रियाहरु