शनिबार, साउन १८, २०८२
  • होमपेज
  • माथिल्लो सेती जलविद्युतको लगानी जुटाउन कुमारी बैंक र समृद्धि इनर्जीबीच सम्झौता
अर्थ

माथिल्लो सेती जलविद्युतको लगानी जुटाउन कुमारी बैंक र समृद्धि इनर्जीबीच सम्झौता

काठमाडौं । २१६ मेगावाट क्षमताको माथिल्लो सेती आयोजनाको लगानी जुटेको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने आयोजनामा ४१ अर्ब ६० करोड लगानी जुटेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंक लिमिटेड नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्ये एक, हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य उर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) दुई हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरणअन्तर्गत समेत) योगदान प्रदान गरेको छ ।

जसमध्ये केही सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन् । ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी सम्पन्न भइसकेको छ ।

यो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ । जसमा ४.५ घण्टाको पिकिङ क्षमता रहनेछ । आयोजनाकोे डिजाइन डिस्चार्ज ३४.१ घन मिटर प्रतिसेकेन्ड रहेको छ । ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) २०८० साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति (जेनेरेसन लाइसेन्स) प्राप्त भइसकेको छ । आयोजना पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य सहित अघि बढाइएको छ ।

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । वर्षायाममा ८३४.४९ गिगावाट आवर र सुक्खायाममा ३९५.११ गिगावाट आवर उत्पादन हुनेछ । जसमा १६३.६३ गिगावाट आवर पीक इनर्जी हुनेछ । सुक्खायाममा पिक इनर्जीको विद्युत् दर प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र नन पीक इनर्जीको दर ८ रुपैयाँ ४० पैसा रहनेछ ।

उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० के.भी.को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ अर्ब २५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित सात अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । ठूला लगानीकर्ताहरूमा सिउरी न्यादी पावर लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी, माई खोला हाइड्रो र एस होल्डिङ लगायतका ठुला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, भोगेन्द्रकुमार गुरागाईं, र दिनेश गुरुङजस्ता अनुभवी लगानीकर्ताहरू रहेका छन् ।

स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै