महेशराज पण्डित
लोकसेवाको परीक्षा दिने दिन थियो । बिहानै घामको पहिलो किरणले झ्यालबाट कोठा उज्यालो पर्नासाथ म उठेँ । मनमा एक किसिमको उत्साह र बेचैनी मिसिएको थियो । भविष्यको ढोका खोल्ने एउटा महत्त्वपूर्ण मोड । तर, किन हो, मनमा केवल परीक्षा मात्रै होइन, कुनै अनजानी उत्सुकता पनि खेलिरहेको थियो । किताब पल्टाएँ । अक्षरहरू पढ्न खोजेँ । तर, मन कतै हराइरहे जस्तो लाग्यो । मेरा आँखा अक्षरहरूभन्दा बाहिर कुनै अनिश्चित क्षितिजतिर दौडिरहेका थिए । गोडामा चिसो सिरकको स्पर्श अझै महसुस भइरहँदा, एकपल्ट म सोच्न बाध्य भएँ, “के आजको परीक्षा म पास गर्न सक्छु ?” “सक्छु !” भन्ने विश्वासका साथ किताबका पाना पल्टाएँ । केहीबेर रिभाइज गरेँ ।
परीक्षा केन्द्र टाढा थियो, प्रोलिफिक मावि, धुम्बाराही । मेरो बाटो पहिल्यै निर्धारण भइसकेको थियो, तर यात्रा कस्तो हुनेछ, त्यो भने अज्ञात । कोटेश्वर र चाबहिलको जाम सधैं झन्झटिलो हुन्थ्यो, त्यसैले समयमै पुग्न ८:३० बज्नासाथ म कोठाबाट निस्किएँ । बाहिर चिसो हावा बहिरहेको थियो, मानौं बिहानले नै आजको यात्रामा केही विशेष संकेत दिन खोजिरहेको छ । सडकमा गाडी र मानिसहरूको चहलपहलले बिहानलाई नै अलि व्यस्त बनाएको थियो । म बाटो लागेँ, मनमा केवल प्रश्नहरू दोहोरिँदै थिए । “संविधानका धारा कति छन् ?, नेपालको बजेट प्रणाली कस्तो छ………? यस्तै यस्तै ।”
पेप्सीकोलाबाट मध्यपुर यातायातको गाडी चढेँ । शनिबारको दिन भए पनि गाडीमा भरिभराउ यात्रु नै थिए । कोही घुम्न निस्केका थिए होलान्, त कोही म जस्तै परीक्षा दिन । मनमा धेरै कुरा खेलिरहेका थिए । प्रश्न कस्तो आउने हो ? पढेका कुराहरू पर्लान् कि नपर्लान् ? यस्तै…। गाडी पेप्सीकोलाबाट अगाडि बढ्यो ।
बसमा चढ्दा सिट पाइएन । जडीबुटीको जाममा एउटा यात्री झरेपछि, मैले पछाडिको सिटमा बस्ने अवसर पाएँ । मोबाइलमा भएका नोटहरू हेर्दै मनन् गर्न थालेँ । बाटोमा धेरै मानिसहरू ओर्लिए, चढे । तर, आज मेरो ध्यान केवल नेपालको कानून र बजेटतिर मात्र केन्द्रित थियो । नत्र प्रायः म सधैं गाडीको झ्यालबाट बाहिर हेर्दै यात्रा गर्थे । धेरैजसो म एक्लै हिंड्ने हुँदा काठमाडौँका प्रायः ठाउँका नामहरू याद छन् । साथीहरू धेरै नभएकाले, सधैं मोबाइलमा गाना सुन्दै, झोला साथमा बोकेर बाटो हेर्दै एक्लै हिंड्ने बानी ।
सधैंजसो आजको दिन पनि झोला बोकेरै हिंडेको थिएँ । झोलामा किताब, कपी, कलम थिए, इअरफोन चाहिँ सधैंजसो बोक्ने बानी । तर, परीक्षाको तनावले गर्दा इअरफोन आज कोठामै छुटेछ । त्यसैले मोबाइलमा भएका नोटहरू हेर्दै मनन् गर्नेबाहेक अरु बिकल्प मसँग थिएन । गाडी कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल हुँदै करिब १०:१० मा धुम्बाराही पुग्यो ।
धुम्बाराहीमा गाडीबाट ओर्लिएपछि, मोबाइलबाट परीक्षा केन्द्रको लोकेशन हेर्न थालेँ । गुगल म्यापले धुम्बाराहीबाट पाँच मिनेट दक्षिणतिर देखायो, जुन परीक्षा केन्द्र थियो । त्यसैको सहायतामा म अघि बढेँ । करिब चार मिनेट हिँडेपछि परीक्षा केन्द्रको ढोकामा पुगेँ । बाहिर करिब पाँच सय परीक्षार्थीहरू थिए । कोही पुस्तक हेरिरहेका, कोही मोबाइलमा नोटहरू दोहोर्या उँदै, कोही एक-अर्कासँग गफ गरिरहेका ।
त्या परीक्षा दिन आएका कोही पनि मेरो चिनजानका थिएनन् । त्यसैले एक्लै उभिएर भित्त्तामा टासिएको कागजमा आफ्नो रोल नम्बर र कोठा खोज्न थालेँ । कोठा नम्बर १११ मा परेको रहेछ । ढोका १०:३० मा मात्र खुल्ने भएकाले बाहिर नै १५ मिनेट कुर्नुपर्योो । सबै परीक्षार्थीहरू आ-आफ्नै धुनमा थिए । म पनि आफ्नै सोचहरूमा हराइरहेको थिएँ । मोबाइलमा भएका नोटहरू हेर्दै ।
१०:३० भयो । गेट खुल्यो । सबैजना आफ्नो कोठा खोज्दै अगाडि बढ्न थाले । कोठा नम्बर १११ तेस्रो तल्लामा रहेछ। परीक्षा हलमा पस्दा, मेरो मनमा एउटै मात्र कुरा थियो । आजको परीक्षा जसरी भए पनि पास गर्ने । तर, जब म आफ्नो सिटमा बसेँ, अचानक मेरो आँखा अगाडिको सिटमा बसेकी ‘सुकुमारी’मा गयो । (सुकुमारी मैले कल्पना गर्दै राखेको उनको नाम) ।
अनुहारमा चन्द्रमाको जस्तो चमक, जादुमय आँखा, बहुरूपी, काल्पनीक पात्रजस्तै लाग्ने । सुकुमारीतर्फको पहिलो नजरले नै लक्ष्यबाट डाइभर्ट गराइदियो । कालो कपाल, उज्यालो अनुहार, हल्का गुलाबी लिपस्टिक, सेतो कुर्ता । उनलाई एक झलक हेर्दा नै मेरो मुटुको गति बढ्यो । म त परीक्षा पास गर्न आएको थिएँ । तर, परीक्षाका प्रश्नभन्दा कठिन प्रश्न उनका आँखामा देखिन थाले । सुकुमारी चुपचाप आफ्नो कलम सुम्सुम्याउँदै, सायद, अन्तिम मिनेटको रिभिजन गर्दै थिइन् । तर, मेरो मनमा चाहिँ परीक्षा गडबड हुने संकेत आउन थालिसक्यो ।
परीक्षा सुरू भयो । प्रश्नपत्र आयो, परीक्षा हलमा छिर्दै गर्दा, मनमा केवल प्रश्नहरूको उत्तर मात्र याद थियो, “संविधानका धारा कति छन् ?” “नेपालको बजेट प्रणाली कस्तो छ…………?” यी कुराले मेरो दिमाग भरिएको थियो । तर, उनको एक झलकले मेरो सबै तयारीलाई ध्वस्त पारिदियो । मेरो ध्यान सुकुमारीको कपाल मिलाउने स्टाइलमा जान थाल्यो । कपाल सुन्दर गरी गुथिएको, आँखा गहिरा र चम्किला, अनुहार निर्दोष चन्द्रमा जस्तै र हाँसो यस्तो कि मानौं लोकसेवाको परीक्षा पास भइसकेको जस्तो अनुभूति ।
म अक्क न बक्क भएँ । मलाई प्रश्नपत्रभन्दा आकर्षक उनको अनुहार लाग्यो, उत्तरभन्दा महत्वपूर्ण उनको मुस्कान । मैले आफूलाई सम्झाएँ, “नाइँ, यो उचित समय होइन, प्रश्नहरूको उत्तर लेख्ने बेला हो !” तर, मनले मानेन । खल्तीबाट कलम निकाल्दै, मन मनै सोचेँ, आज परीक्षा पास भएन भने पनि प्रेमको आवेदन चाहिँ पास गरिन्छ कि के हो ?
मैले पहिलो प्रश्न पढेँ, “नेपालको संविधान अनुसार….?” तर मनले भन्यो, “के उनको मुटुको संविधानमा मेरो नाम लेखिएको छ ?”
मैले अर्को प्रश्न पढेँ, “नेपालको बजेट संरचना कस्तो छ……….?”
तर मनले भन्यो, “यदि उनी मेरो जीवनको बजेट नियन्त्रण गर्छिन् भने म सँधै नाफामा मात्र रहुँला ?” यदि उनले मेरो जीवनको बजेट मिलाइदिइन् भने म कहिल्यै ऋणमा परूला ?
म प्रश्नहरूसँग भन्दा उनको हाउभाउसँग नै संघर्ष गर्न थालेँ । म ध्यान लगाउन खोज्थेँ । तर, उनी कहिले कलम चपाउँथिन्, कहिले लुगा मिलाउँथिन् । अनि जब एकछिन मेरा आँखा उनलाई हेर्नबाट हट्थे, उनी एक पटक मेरो तर्फ मुस्कुराउँथिन् ।
मैले उत्तर लेख्न खोजेँ । तर, कलम सुकुमारीको हाँसो हेर्दै आफैँ रोकियो । मेरा औंलाहरू चल्न छाडे । दिमाग शून्यजस्तै भयो । त्यति धेरै पढेको कुरा एक नजरमै हरायो । प्रश्नपत्र अगाडि थियो । तर, उत्तरको ठाउँमा केवल उनी मात्र देखिन्थिन् ।
सुकुमारीका आँखाले मेरो ध्यान खिच्दै थिए । ती आँखामा केही थियो, एक प्रकारको जादू, एक अनौठो आकर्षण । एउटा मुस्कान, जुन मेरो मनको कुनै गहिरो कुनामा तरंगित हुँदै गइरहेको थियो ।
मनले एउटा मात्र कुरा दोहोर्या,इरहेथ्यो, उनी… केवल उनी (सुकुमारी) ।
म कसरी उत्तर लेख्नु भनेर सोच्न लागेँ, तर मनले भन्यो, “के ती आँखा मेरो लागि हर्षका संकेत हुन् ?” सुकुमारी कहिले कलम चपाउँथिन्, कहिले हल्का नजर उठाएर अगाडि हेर्थिन् त कति बेला, हल्का आँखा नचाउँदै मलाई हेर्दै थिइन् । अब मेरो लागि समस्या दोब्बर भयो । “म उनलाई हेर्न छोडौं कि उत्तर लेख्न ?” हरेक प्रश्नको उत्तरमा मैले सुकुमारीलाई नै देख्न थालें । ती प्रश्नहरूलाई म सजिलो रूपले हल गर्न सक्थे, तर, मेरो मन केवल सुकुमारीतिर नै आकर्षित हुँदै गयो । यो मेरा लागि लोकसेवाको परीक्षा थियो कि प्रेमको परीक्षा ? ठूलो दुबिधामा परे ।
अलिअलि लेख्न खोज्दै एक घण्टा बितिसकेको थियो । तर, अझै केही लेखेको जस्तो नै अनुभूति भएन । परीक्षा हलमा कोही पानी पिउन बाहिर जान थाले, कोही शौचालयतिर लागे । म भने कलम समातेर सोच्दै थिएँ, “यो प्रश्नको उत्तर लेखूँ कि प्रेमपत्र ?” अब मलाई लोकसेवाको परीक्षाभन्द सुकुमारीको नजरको परीक्षा पास गर्नु थियो ।
फेरि हाम्रो आँखाहरू जुधे । मैले हल्का मुस्कुराएँ । सुकुमारीले लाजले हल्का टाउको बटारिन् । तर, बोल्न खोज्दा मुखबाट एउटा शब्दसमेत फुट्न सकेन। परीक्षा हलमा बाहिर आउने-जाने प्रक्रिया चलिरहेकै थियो । म चाहिँ उनलाई हेर्दै, आफ्नै उत्तर पुस्तिकामा प्रश्नहरूको उत्तर लेख्दै गएँ । तर, दिमागमा प्रश्नका उत्तरहरू होइन, सुकुमारी मात्र घुमिरहेकी थिइन् ।
परीक्षाको घण्टी बज्न लागिसकेको थियो । म सक्दो प्रयास गरिरहेको थिएँ । कलम समातेर उत्तरहरू लेख्न । मैले मन थामेर अन्तिम केही प्रश्नका उत्तरहरू लेखेँ । प्रश्नपत्र पूरा गरिसकेपछि हल्का राहत महसुस गरें । परीक्षाको घडी अन्तिम मिनेटतर्फ अघि बढ्दै थियो । मेरो हातमा कलम थियो । तर, मनमा केवल एउटै प्रश्न, “अब सुकुमारीसँग दोबारा (दोस्रो पटक) भेट हुन्छ कि हुँदैन ?”
बेल घण्टी बज्यो,
सबैले प्रश्नपत्र र उत्तरपुस्तिका बुझाए । हल भित्रको चहलपहल बढ्दै गयो । तर, मेरो ध्यान केवल सुकुमारीतिर थियो । उनले पनि बुझाइन्, झोला मिलाइन् र विस्तारै ढोकातर्फ लागिन् । म भने मनमा दोधारमा थिएँ, बोलौँ कि नबोलौँ ?
आखिर, मनले जित्यो ।
मैले हिम्मत जुटाएँ,
सास गहिरो लिएँ, र हल्का स्वरमा सुकुमारीलाई बोलाएँ,
एक्सक्युज मी….
हाइ ।
सुकुमारीले अचम्म मान्दै मलाई हेरिन् ।
उनको आँखामा हल्का जिज्ञासा देखियो । मलाई एकछिन लाग्यो, “अब के भन्ने?”
उनले अचम्म मान्दै पछाडि फर्किन् । उनले मुस्कानका साथ भनिन्, हाइ ।
म साहस बटुल्दै सुकुमारीको नजिक पुगेँ ।” परीक्षा राम्रो भयो ?” मैले सोधेँ । उनले हल्का मुस्कान छोड्दै भनिन्, “परीक्षा त ठीकै भयो, तर…”
“तर ?” मेरो मुटु बेस्सरी धड्कियो ।
मेरोतिर एक नजर हेर्दै हल्का मुस्काइन् । त्यो मुस्कानमा यस्तो जादू थियो, मानौं बत्ती निभेको कोठामा अचानक झ्यालबाट चन्द्रमाको उज्यालो पसेको जस्तो । तयारी राम्रो थियो । तर, परीक्षा हलमा छिर्दा के के भइहाल्यो । परीक्षा हलमा अलमलीने कारण चाहिँ अझै बुझ्न सकेकी छैन !
बस ! त्यो वाक्यले मेरो मनभरि फूलहरू फुलेझैँ लाग्यो । उनी बिस्तारै ढोकातर्फ लागिन् । मेरो हृदयको हरेक धड्कन उनीसँगै मिसिएको जस्तो लाग्यो । मैले मनमनै सोचेँ- म झस्किएँ । के उनका मनमा पनि मेरो नजरले कुनै गहिरो संघर्ष उत्पन्न गरेको थियो ? लाजले मेरा गाला राता-राता भए । के उनलाई पनि प्रश्नहरूसँग भन्दा मेरो नजरहरूसँग बढी संघर्ष भइरहेको थियो ? लाजै पो लाग्यो ! म त उनलाई प्रभावित गर्न खोज्दै थिएँ । तर, उनी पो मलाई नै भित्रभित्रै हेरिरहिछिन् ।
परीक्षा हलबाट बाहिर निस्कँदा मेरो मनमा प्रश्नहरूको लहर चलिरहेको थियो । के यो केवल संयोग मात्र थियो ? या यो अधुरो कथा सुरू हुन लागेको ? मैले वरपर नजर दौडाएँ, उनी आफ्नी साथीलाई कुरिरहेकी देखे ।
मेरो मन भने पुरै द्वन्द्वमा थियो । एकतर्फ ती अनकन्टार भावनाहरू थिए, जसले मलाई उनीसँग अझ नजिक पुग्न र आफ्ना हृदयका शब्दहरू उनलाई सुनाउन उक्साउँदै थिए । अर्कोतर्फ एउटा अनकन्टार डर थियो, के मेरा भावनाहरूले उनलाई कुनै नयाँ अर्थ दिए ? या यो पल हामी बीचको कथा मात्र बन्ने छैन ? के उनी पनि मेरो मनका भावनाहरू महसुस गर्दैछिन् ? के ती केही चञ्चल शब्दहरूले हाम्रो बीचको दूरी मेट्न सक्छन्………………? यस्तै यस्तै ।
यसरी हरेक सोचमा उनीसँग नजिकको जस्तो एक मिठो लहर चलिरहेको थियो । के म उनीसँग अझ केही कुरा गर्न सक्छु ? कि यत्तिकै यो सम्झनाको सानो, ताजगीपूर्ण टुक्रा बनेर मनको कुनाको एक अदृश्य स्थानमा रहिरहने हो ? मेरो हृदयले भने मसँग केही बडो कुरा गर्ने इच्छा राख्यो, तर शब्दहरू जति नजिक पुग्न चाहन्थे, उति अलमलिएका थिए ।
अत: मनले मानेन ।
मैले हिम्मत गरेर सोधेँ, “तपाईंको घर कहाँ पर्यो ?”
उनले हल्का मुस्कुराएर भनिन्, “बैतडी”
त्यो मुस्कान… कति शालिन, कति निष्पाप !
साँच्चै, त्यो मुस्कानले मेरो मुटुको कुनासम्म छोयो ।
मैले फेरि सोधेँ, “आजको परीक्षा पास भइन्छ त ?” उनले झन् मीठो हाँसो हाँस्दै भनिन्,
“शायद !”
त्यो ‘शायद’ शब्दमा कति कुरा लुकेको थियो, म मात्रै जान्थें।
उनको बारेमा अझै केही जान्न मन लाग्यो । “यहाँ काठमान्डु कहाँ बस्नुहुन्छ ?”
“कीर्तिपुर, नयाँ बस्ती ।”
उनको आवाजमा छुट्टै मिठास थियो । मनमा लाग्यो, केवल म मात्रै उनलाई बुझ्न खोज्दै छु, या उनी पनि मेरो जिज्ञासा अनुभूति गरिरहेकी छिन् ?
उनले मलाई केही पनि सोधिनन् । म भने निरन्तर प्रश्न सोध्दै गएँ । उनी सधैं जवाफ दिन्थिन् । उनले इन्कार पनि गरिनन्, जसले मेरो मनलाई थप झस्कायो । के ममात्र उत्सुक छु कि उनी पनि मेरो बारेमा केही बुझ्न चाहन्छिन् ? के ती सबै प्रश्नहरू केवल मेरो मनको अनकन्टार चाहनाबाट उत्पन्न भएका थिए, वा उनीमा पनि त्यस्तै गहिरा भावनाहरू लुकेका थिए ?
त्यत्तिकैमा, सुकुमारीकी साथी आइपुगी । उनीहरू हिड्न लागे । हामी केही समयसँगै हिँड्यौं, धुम्बाराही बसपार्कसम्म ।
ती केही क्षणहरू, हामीले सँगै हिँडेका पाइलाहरू मलाई यति अनमोल लाग्न थाले । त्यो छोटो यात्रा नै मेरो जीवनकै सबैभन्दा पवित्र यात्रा जस्तो लाग्यो । हरेक कदमसँगै मेरो दिलमा एउटा सानो हर्ष थपिँदै गयो, जसले मेरो मनलाई उम्मेद र प्रेमले भरिदियो ।
हिड्दै गर्दा अचानक, उनको झोलाबाट एउटा कार्ड खस्यो । मेरो हृदयले एकै क्षणमा तीव्र धड्कन लिन थाल्यो । मेरो मनमा एक अञ्जान आशा पलायो, के आज मेरो सबै अनुत्तरित प्रश्नहरूको उत्तर पाइन्छ ? के ती उत्तरहरूमा उनको नामको गीतको गुञ्जनेछ ?
तर, दुर्भाग्यवश, कार्ड उल्टो पर्योा । न त मैले पढ्न सक्ने अवस्था रह्यो, न त मैले सोध्ने आँट नै गर्न सकेँ। देख्न सके त केवल त्यो कार्डको पछाडि रहेको कीर्तिपुर भ्याली इन्सिच्युटको छाप । जसले मेरा सबै आशा र उत्सुकतालाई अझ एक रहस्यमय बनाइदियो । ती प्रश्नहरू जसले मेरो मनलाई जिज्ञासामा राखेका थिए, हृदयको कुनामा फेरि पनि जिज्ञासामै अड्किन बाध्य बनाइदियो ।
मैले त्यो कार्ड टिपेर उनलाई दिएँ । उनले हल्का मुस्काउँदै भनिन्, “थ्याङ्क यू ।”
त्यो मुस्कान… त्यो नजर… एकछिनका लागि समय नै रोकिएझैँ लाग्यो ।
मैले पनि मुस्कुराउँदै भनेँ, “नो वरीज्।”
अब उनीसँग अझ केही कुरा गर्न चाहन्थें, उनको नाम जान्न चाहन्थें, तर…
त्यत्तिकैमा, उनको बस आइपुग्यो।
बस चढ्दै गर्दा उनले मलाई एक नजर फर्काएर हेरिन् । र हल्का स्वरमा सोधिन्, “तपाईं जानुहुन्न ?”
त्यो प्रश्नमा उनको जिज्ञासा र मेरो अनिश्चितता थियो, जसले झन मनलाई बढी उल्झायो ।
मैले मुस्कुराएँर हतारिँदै भनेँ,
“म पेप्सीकोला जाने हो । मेरो कोठातिर जाने गाडी आइपुगेको छैन । अलि ढिला आउँछ।”
अन्तिम शब्दसँगै, उनी चढेको गाडी अगाडि बढ्यो । मेरो मन भने त्यहाँ केही कुरा लुकेको छ भन्ने महसुस गर्न थाल्यो । मनमा थप बेचैन भएजस्तो भयो । म दोधारमा परे।
बस अगाडि बढ्न थाल्यो। उनले फेरि त्यो सौम्य मुस्कान दिइन् । हामी बीचको दूरी झन लामो हुँदै गयो । तर, उनी… उनी त झ्यालबाट मलाई नै हेरिरहेकी थिइन् ।
अनि म ?
म पनि उस्तै नजरले उनलाई हेरिरहेको थिएँ । एकछिनका लागि लाग्यो, समय त्यहीँ रोकियोस्, हामी बीचको त्यो पल एउटा गहिरो अर्थसँग बाँधिएर हाम्रो हृदयमा जिवित रहोस् ।
तर… बस बिस्तारै पर पुग्दै गयो । दूरी झन लामो हुँदै गयो । उनी भने अझै पनि झ्यालबाट मलाई नै हेरिरहेकी थिइन् । म भने मनमनै सोच्दै थिएँ,
“यो भेट के सुकुमारीसँग अन्तिम भेट हो कि कथाको नयाँ सुरूवात ?” उनको मुस्कान, ती चम्किला आँखा… ती सबैले मेरो मनलाई त्यही अड्काएर राखिरहेका थिए, यो पल हामी बीचको छोटो भेट तर अनमोल कहानी थियो । म उनकै यादमा त्यही हराइसकेको थिएँ ।
त्यत्तिकैमा, हर्न बजाउँदै कोटेश्वर-जडीबुटी-पेप्सीकोला ! भन्दै मेरो गाडी पनि आइपुग्यो ।
गाडी चढेँ । तर, मेरो मन भने उनको नजरमा नै अड्किरहेको थियो । म उनकै यादमा आफैँलाई हराइरहेको थिएँ । पेप्सीकोला पुग्न करिब २ घण्टा जति लाग्यो होला । तर उनको त्यो मुस्कान र नसालु आँखाले मलाई अझै पनि थोरै मात्र दूरीमा रहेको जस्तो महसुस गरायो ।
आज पनि, मेरो मनमा एउटै प्रश्न मात्र घुमिरहेको छ, के अब फेरि उनीसँग भेट होला ?” या “अपरिचित सुकुमारी” अपरिचित नै भएर जिन्दगीभर मेरो सम्झनामा मात्र रहनेछिन् ?
फेसबुक प्रतिक्रियाहरु