परिवर्तनका विभिन्न कालखण्डमा अग्रगामी नेतृत्व, विकासवादी सोच र परिवर्तनकारी विचार चाहिन्छ । त्यो प्राय युवाशक्तिमा बढी सम्भव हुन्छ । युवा त्यो हो, जो कुनै हदबन्दीभित्र रहेर परिपक्व विचारधारा बनाउँदै काम गर्छ । कुनै पनि राष्ट्रको मेरुदण्ड, त्यो राष्ट्रको तागत, उत्पादन र विकास भनेकै युवाको काँधमा हुन्छ ।
विभिन्न रणनीति, राजनीतिसँगै परिवर्तनका निम्ति यो देशमा बेला-बेला देशको सार्वभौम र शान्ति बिथोल्ने सम्मका आन्दोलन हुन्छन् । विभिन्न संगठन, संस्था र सेवाका विषयलाई सम्बोधन राज्यले पनि गर्न सकेको छैन ।
देशमा बेरोजगारीको अन्त्य, विकासको मापदण्ड, गरिखाने वातावरणको बारेमा युवाहरु बोल्दा पनि राज्यले चाँसो दिएको छैन । युवा अटाउने नेतृत्व वा युवा समावेश नेतृत्वबाट सबै टाढा छन् । मुलुक बनाउने ताकत भएका युवाहरु अहिले राज्यको कमजोरीका कारण अर्को देशका दास बनाउन पठाएका छौँ ।
देशको जम्मा जनसंख्याको ४० प्रतिशत युवा नै छन् । त्यही ४० प्रतिशतको २ चौथाइ जनसंख्या विदेशीको भूमिमा आफ्नो अस्तित्व जोगाइ बसेको छ । सन् २०२३ को तथ्याङ्कअनुसार मात्रै मुलुकमा रहेका (विदेश नगएका) २०।३६ प्रतिशत युवा बेरोजगारी छन् । यो देशको निम्ति चुनौती एवं देशको सास्तीको पराकास्टा पनि हो । यद्यपि देशको विषम परिस्थिति, बदलिँदो सरकार र नेतृत्व, विभिन्न अन्योलले देशको हरेक युवा प्रत्यक्ष रुपमा मानसिक यातना एवं मानसिक समस्यासँग बाचेको छ ।
विश्वको मानचित्रमा देश खोज्दैछु,
देशको नक्साभित्र अस्तित्व खोज्दैछु,
सिमानाभित्र नागरिक खोज्दैछु,
विलिन ताराभित्र सारा खोज्दैछु,
अनि यो देशको निम्ति साहारा खोज्दैछु,
एउटै जातिभित्र फरक प्रजाति छन्, दलभित्र बहुदल छन्, निन्द्रा खोसिएका उद्दमीहरु छन्, सपना चोरिएका ज्यामीहरु पनि छन् र फरक-फरक व्यवस्थाले जेलिएकाहरु छन् ।
राणा शासनको समाप्तिसँगै प्रजातन्त्रको उदय भयो । देशले आफूलाई हेर्ने नौलो ऐना पायो । ऐना बदलिनु भनेको अनुहार बदलिनु होइन । न त नीति बदलिनु भनेको देश बदलिनु हो ।
अध्यारोमै हराएका छन् जुनकिरीहरु,
ब्युझिन नपाउदै लुटिएका छन् सपनाहरु,
देश छ, सुरक्षा छैन, युवा छन् रोजगार छैन,
लगानी छ, आम्दानी छैन, शिक्षा, स्वास्थ्य र सरसफाइका नारा छन,
जसको सम्पति उसकै प्यारा छन्,
म आफैँले आफैलाइै प्रश्न गर्छु, शिक्षा के हो ? के सबै शिक्षित हुनु भनेको सबैलाई रोजगारी आवश्यक हुनु हो ? या अन्य केही…
अनेकौँ विचार सहितका प्रश्नहरु छन् । के किताब बोकेर भविष्य सुनिश्चित छ ? छ भने बन्दुक बोक्नेहरुको पनि उस्तै कथा छ । शिक्षाको औचित्य के ? के देशको शिक्षा प्रणाली माफियाको निम्ति हो ? किन देशको सरदर साक्षर जनसंख्या विदेशी भूमिमा छ ? आफ्नै भूमि आफ्नो लागि नहुनु चरम बिडम्बना होइन र ?
देशकै दुर्गम बस्तिहरु अहिलेको दुनियाँभन्दा भिन्न र पवित्र छन् । जहाँ गाडी, मोटर र मोबाइल सुबिधाले छोएको छैन । औषधि उपचारको निम्ति सिटामोलको अभाब हुन्छ । यो ठाउँ पनि राज्यको दिशाबाहिर छ । यसले राज्यको अनुहारभित्रको दाग देखाउँछ । सरकारले त्यो दाग पखाल्ने आँट गरेको छैन ।
कहिले बन्छन् सुबिधा र समृद्धिका सूचकहरु ? कहिले न्याय पाउँछन् अध्यारोले खाएका आँखाहरु ?
राज्य बेखबर नै छ । यदि राज्यले चाहेमा हरेक कुरा परिवर्तन गर्न सम्भव छ । हाम्रो जस्तै मुलुकहरु अहिले अति विकसित मुलुकको सूचीमा परेका छन् । राज्यले भष्टचार मात्रै रोक्ने हो भने पनि धेरै कुरा विकास गर्न अर्थतन्त्र हुन्थ्यो । भनिन्छ नी, हरेक गरिब राष्ट्र तथा निश्चित जनता धेरै धनीको सूचीमा हुन्छन् । हुन पनि एक जना धनी बन्नका लागि हजारौँ जना गरिब हुनुपर्छ ।
गरिबीको ग्राफ फेर्न र मुलुकलाई विकसिततर्फ धकेल्न नेतृत्वमा भरपर्छ । दीर्घकालिन सोच भएको नेतृत्व भए मात्रै विकास गर्न धेरै समय लाग्दैन । राम्रो नेतृत्वले सबैलाई काममा परिचालन गर्छ । भष्टाचार रोक्छ । यसमा राज्य सञ्चालकको ध्यान गएमा केही हुन्थ्यो कि ! आशाबादी बनौँ ।
फेसबुक प्रतिक्रियाहरु