बझाङ । खप्तडछान्ना गाउँपालिकाको पाटादेवल स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट करिब ३ सय जना बिरामीले सेवा लिएका छन् । एक दिने स्वास्थ्य शिविरमा वडाभरबाट दुई सय ९८ जना महिला तथा पुरुषले सेवा लिएका हुन् ।
पाटादेवल स्वास्थ्य चौकी तथा खप्तडछान्ना गाउँपालिका वडा नं ६ को कार्यालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक तथा औषधी सहयोगमा गरिएको स्वास्थ्य शिविरमा उच्च रक्तचाप, रुघाखोकी, झाडापखाला, मधुमेह, पाठेघरको मुखको क्यान्सरजस्ता विरामीको चेकजाँचसहित थप उपचारका लागि सिफारिस गरेको स्वास्थ्य चौकी इन्चार्ज भूमिराज खत्रीले जानकारी दिए ।
उनले शिविरमा पाठेघरको मुखका क्यान्सरतर्फ संकास्पद परीक्षण गरिएका २२ जनामध्ये एक जनालाई सदरमुकाममा पठाएको, तीन जनाको आङ खस्ने समस्या देखिएको हुँदा रिङ राखेको, क्षयरोग परीक्षणमा सबैको नकारात्मक रिपोर्ट आएको बताए । उनले हाइपरटेन्सन (उच्च रक्तचाप) का २२ जनामध्ये मधुमेहका संकास्पद १५ जना बिरामीको परीक्षण गरिएकोमध्ये ६ जनामा मधुमेह देखिएको बताए ।
स्वास्थ्य चाैकी इन्चार्ज खत्रीका अनुसार शिविरमा १० जनाको भिडियो एक्सरे गरिएको थियो । जसमा २ जनाको पत्थरी र ८ जनाको ग्यास्टाइटिस (ग्यास्ट्रिक) देखिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले शिविरमा हजार दिनका महिलाका लागि जाउलो प्रदर्शनी, बालभिटा, आइरन चक्की वितरण, भिटामिन वितरण गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु