मङ्लबार, चैत्र २५, २०८१
  • होमपेज
  • बझाङमा मुङखेती परीक्षण, माटोको उर्बरा बढ्ने विश्वास
Breaking News

बझाङमा मुङखेती परीक्षण, माटोको उर्बरा बढ्ने विश्वास

बझाङ । मुङ न्यानो हावापानी सहने बाली हो । यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । सामान्यतया तापक्रमअनुसार तराई क्षेत्रमा उत्पादन हुने मुङखेती बझाङमा पनि परीक्षण गरिएको छ ।

कोसेबालीअन्तर्गत पर्ने महत्वपूर्ण बालीको रुपमा चिनिएको मुङ र वसन्ते मकै केदारस्यूँ गाउँपालिकाको झोतामा सुरू गरिएको हो । समुन्द्री सतहबाट झण्डै साढे ९ सय मिटरको उचाईमा रहेको झोतामा पहिलोपटक सिड प्लान्टरमार्फत् बीउ रोपेको हो ।

गाउँपालिकाले ६५ रोपनी क्षेत्रफल भएको जमिन लिजमा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन् । उनले मुङखेतीबाट आम्दानीको मात्रै नभई जमिन सप्रिने आशासहित गरेर रोपेको बताइन् । खेतीको उर्बरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई पनि फाइदा पुग्ने हुँदा मुङ खेतीको परीक्षणका लागि उपयुक्त ठाउँ झोतामा रोपेको उनले बताइन् । बझाङका लागि नयाँ बाली भएको हुँदा पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने उनको तयारी छ ।

नयाँ बाली र धेरै फाइदा हुने बुझाईले कृषकहरू मुङतर्फ उत्साहित भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेमराज पनेरूले बताए । उनले भने, ‘माटोको उर्बरा बढ्ने र आम्दानीको गतिलो माध्यम बन्न सक्ने हुँदा पनि कृषकहरू उत्साहित हुनुभएको छ । त्यसैले यहाँ परीक्षणका लागि लागेका छौँ ।’

कार्यालय प्रमुख पनेरूका अनुसार पोषण सुरक्षा, किसानको जीवनस्तर र आर्थिक समृद्धि वृद्धि हुने सोचका साथ परीक्षण गरिएको हो । हातले नै रोप्दा गहिरो हुने सक्ने भएकोले सिड प्लान्टरमार्फत् रोपेको उनको भनाई छ । उनका अनुसार मुङको बीउ ४–५ से.मि. गहिरो रोप्दा बीउको उमारशक्ति राम्रो हुने गर्छ । यदि माथिलो भाग सुक्खा छ भने बीउ रोप्न थोरै गहिरो बढाउन सकिन्छ, तर धेरै गहिरो भयो भने पनि उमारशक्ति राम्रो हुदैन ।

उनले बीउ रोप्नुअघि नाइट्रोजन, फस्फोरस र पोटास छर्कदा उमारशक्ति राम्रो हुने बताए । त्यसको लागि झोतामा गँड्यौला मल र पिनाको मल प्रयोग गरिएको उनले बताए । प्रशस्त प्रांगारिक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटोमा मुङको उत्पादन राम्रो मानिने हुँदा उपयुक्त ठाउँ झोता छनौट गरिएको बताए ।

मुङले मानव शरीरलाई चाहिने आवश्यक तत्व पनि पर्याप्त मात्रामा पाइने भएकोले कृषकहरू आकर्षित भएको कृषि ज्ञान केन्द्र बझाङका कृषि प्राविधिक जनक सिंहले बताए । उनले कृषकलाई उत्साहित हुँदैमा सबैलाई एकैपटक बीउ बाड्न नसकिने र परीक्षण सफल भएपछि मात्रै ठाउँ हेरेर कृषकलाई यो खेतीतर्फ आकर्षित गर्ने बताए ।

उनले मुङको दालका फाइदाहरू पनि धेरै भएको बताए । उनले भने, ‘मुङको दालबाट भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘के’ सँगै सोडियम, फलाम, क्याल्सियम, फस्फोरस, पोटासियम पनि प्रशस्तै मात्रामा पाउन सकिन्छ ।’ मुङको बोटमा भएको सूक्ष्म जीवाणुले वायुमण्डलमा भएको नाइट्रोजन सञ्चित गरी विरूवालाई नियमित रूपमा नाइट्रोजन उपलब्ध गराउने हुँदा पनि यो बाली बझाङमा अपरिहार्य भएको उनले बताए ।

उनले मुङ बालीमा अन्नबालीमा भन्दा बढी मानव शरीरलाई आवश्यक पोषक तत्व पाइने भएकोले भातसँग मुङ दाल अपरिहार्य अथवा पूर्ण खाना मानिने बताए । यस दाल बालीमा सजिलैसँग पचाउन सकिने प्रोटिन तत्व पाइने उनले बताए ।नियमित मुङको दाल सेवन गर्नाले शरीरलाई आवश्यक क्यालोरी प्रचुर मात्रामा पाइने केदारस्यूँ गाउँपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र मल्लले बताए । उनले दैनिक रूपमा अंकुरित मुङको दाल खानाले शरीरमा ३० प्रतिशत क्यालोरी तथा एक ग्राम फ्याट पाइने बताए ।

टुसायुक्त मुङको दालमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीलाई नियमित मुङको दाल सेवन गर्दा धेरै फाइदा हुने बताए । उनले मुङको दालमा हुने भिटामिनहरूको कारणले गर्दा नियमित रूपमा सेवन गरेमा शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउने, विषाक्त तत्वहरूलाई बाहिर निकाल्न सहयोग गर्ने, शरीरमा अनावश्यक संक्रमण हुनबाट बचाउनेजस्ता फाइदा हुने बताए ।

मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादनसमेत बढ्ने कृषि प्राविधिक जनक सिंहले बताए । उनले मुङले हरियो मलको काम पनि गर्ने बताए । कोसाहरू टिपेपछि बोट नकाट्दा त्यही हरियोे मल हुने बताए । केदारस्यूँ गाउँपालिकाले सुरूवात गरेको मुङ उत्पादन परीक्षण कार्यक्रममा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम र कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ ।

बझाङ जिल्लामा दिवा खाजाको लागि स्थानीय दालको उच्च माग रहेको बेला केदारस्यूँ गाउँपालिकाले नेतृत्व लिएर उत्पादनमा जुट्नु निकै प्रशंसायोग्य काम भएको मर्सी कोरका जिल्ला संयोजक रञ्जित खनालले बताए । उनले अब केदारस्यूँबाट गरिएको सुरूवात जिल्लाभर नै फैलन विश्वास लिएको बताए ।

स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम एकीकृत दिवा खाजा कार्यक्रमअन्तर्गत जिल्लामा १२ वटै स्थानीय तहमा लागू छ । यसमा स्थानीय तहलाई विश्व खाद्य कार्यक्रम, मर्सी कोर र एमपीडीएसले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार