बझाङ । थलारा गाउँपालिकाका ४४ जना शिक्षकलाई स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम दिइएको छ । शुक्रबारबाट थलारा गाउँपालिकाको कार्यालयमा दुई दिने स्वास्थ्य तथा पोषणसम्बन्धि पुनतार्जकी तालिम दिइएको हो ।
बझाङका सबै सामुदायिक विद्यालयहरुमा लागू गरिएको स्वास्थ्य तथा पोषण कार्यक्रमले बालबालिकाहरूको शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिकस्तर विकास गर्ने लक्ष्य लिइएको एकीकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला संयोजक दिपेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार विद्यालयमा वार्षिक रूपमा बालबालिकाले करिब २२९ दिन बिताउँछन् । दैनिकजसो ६/७ घण्टा बालबालिकाहरू शिक्षककै जिम्मेवारीमा रहने हुँदा बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि शिक्षकले नै बढी ध्यान दिनुपर्ने बताए ।
विश्व खाद्य कार्यक्रम र एकीकृत विकास समाज नेपालको सहकार्यमा सञ्चालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रममा फोकल शिक्षकलाई
सामुदायिक विद्यालयहरुमा बालबालिकाको दाँत, आँखा, कान, उचाई तथा तौलको परीक्षणलगायतका कुराहरूका लागि पुनतार्जकी तालिम दिइएको उनले बताए ।
तलिम उद्घाटन कार्यक्रममा थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी भइरहेको बताए । स्वास्थ्य र शिक्षा एक अर्कामा अन्योन्याश्रित विषय भएको भन्दै उनले विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने जिम्मेवारी विद्यालयको पनि भएको बताए । उनले गाउँपालिकामा गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षा निकाय हेर्ने सबै उत्तिकै जिम्मेवार भएको बताए । ‘यति सानो पालिकामा पनि ४४ वटा विद्यालयहरु छन्,’ उनले भने, ‘यति सानो ठाउँमा भएका शैक्षिक संस्थामा गुणस्तर बढाउन नसकेमा हाम्रो नयाँ पिढीँ नै काम नलाग्ने हुन्छ । त्यसैले सबैले बेलैमा सोच्नुपर्छ । संघ संस्थाको जसरी सरकारी निकाय धेरै जिम्मेवार बन्नुपर्छ ।’
बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई नै जोड दिएको एकीकृत विकास समाज नेपाल थलारा गाउँपालिकाका संयोजक दिनेश थापाले बताए । उनले सबै सामुदायिक विद्यालयमा खाद्य तथा शैक्षिक गतिविधि, सरसरफाईका क्षेत्रमा नियमित अनुगमन भइरहेको बताए ।
‘बालबालिकाको लागि अर्गानिक उत्पादनलाई नै प्राथमिकता दिन जोड दिएका छौँ । पहिले अमेरिकाबाटै क्यालरीयुक्त खाजा आउने गर्दथ्यो भने आजभोलि धेरै प्रकारका खानेकुरा स्थानीय उत्पादन नै लागू भइसकेको छ ।’ थापाले भने ।
फेसबुक प्रतिक्रियाहरु