बुधबार, फाल्गुन ७, २०८१
  • होमपेज
  • मष्टामा ईएफटीमार्फत् महिनैपिच्छे शिक्षकको तलब भुक्तानी
Breaking News

मष्टामा ईएफटीमार्फत् महिनैपिच्छे शिक्षकको तलब भुक्तानी

बझाङ । बझाङको मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब इलेक्ट्रोनिक फण्डस् ट्रान्सफर (ईएफटी) अर्थात् विद्युतीय भुक्तानी प्रणालीमार्फत् प्रदान गर्न थालेको छ । पालिकाको चालू आ. व. २०८१/८२ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको तलब भत्ता मासिक रूपमा व्यक्तिगत बैंक खातामा पठाउने थालेको हो ।

यसै प्रणालीमार्फत् माघ महिनाको तलब शिक्षक, कर्मचारीको खातामा गएको मष्टा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार खड्काले बताए । उनले पालिकाका सम्पूर्ण माध्यमिक, आधारभूत तह, बालविकास केन्द्र, विद्यालय सहायक कर्मचारी र कार्यालय सहयोगी लगायतका सबै कर्मचारीले खातामै प्राप्त गर्ने बताए ।

मष्टा गाउँपालिकाका शिक्षा अधिकृत पृथुराज जोशीले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने, विद्यालयको आर्थिक र प्रशासनिक काममा सहजता हुने, लेखा परीक्षणमा व्यहोर्दै आएको रकममा न्युन हुने, शिक्षकको नियमितता, व्यवस्थापनमा सुधार गर्न, विद्यालयमा शैक्षिक सुशासन कायम गर्न, विद्यालयको प्रशासनिक र आर्थिक पक्षमा सहजता कायम गर्न मद्धत पुग्ने उद्देश्यले यो प्रणाली लागू गरेका हाैँ ।’ यसबाट आर्थिक प्रणालीलाई थप व्यवस्थित र डिजिटल युगसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताउनुभयो ।

मष्टा गाउँपालिका यो प्रणाली लागू गर्ने सुदूरपश्चिम प्रदेशको चाैथो गाउँपालिका हो भने बझाङको पहिलो पालिका हो । यसअघि कञ्चनपुरको बेलडाँडी गाउँपालिका, डडेल्धुराको अजयमेरू र नवदुर्गा गाउँपालिकामा इएफटी प्रणालीमार्फत् शिक्षकको तलब भुक्तानी हुँदै आएको मष्टा गाउँपालिकाका लेखा अधिकृत गगन गुर्धामीले बताए । अब यो सुविधा मष्टा गाउँपालिकामा पनि हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार