बझाङ । बाँठपाली माद्यमिक विद्यालयमा हरेक दिन सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीको आधार इलाका जस्तै थियो नौविस (दुर्गाथली गाउँपालिका) । हरेक दिन पार्टीका आमसभा हुने, सांस्कृतिक कार्यक्रम भइरहने, जनहितका पक्षमा नाराजुलुस भइरहन्थे । त्यो बेला हरेक युवाको मन–मनमा माओवादीको परिवर्तनकारी नाराले बिझाई सकेको थियो । गाउँका परिचित व्यक्तिहरू माओवादीमा लागेपछि गाउँ नै माओवादीमय भइसकेको थियो ।
२०५७ सालको जेठ महिना । गर्मी मौसमसँगै बिसौना बजारमा माओवादी नेताहरूले रगत उमाल्ने भाषण गरिरहेका थिए । राजाको शासनमा बोल्न नपाएको, दमनमा पारिएको, लुई सोह्रौँको जस्तो शासन भन्दै भाषण सुनाउँदा नौजवान युवाहरू रापिलो रगत उम्लिन्थ्यो । त्यसै जोशमा जहरे र घुतुडी विकका जेठा छोरा उदयबहादुर माओवादीमा भूमिगत भए । उनीसँगै बिसौना आसपासबाट दुई दर्जनभन्दा बढी युवाहरू भूमिगत भए ।
माओवादीमा काम गर्दै जाँदा उनी आफ्नो क्षेत्रको सैन्य संरचनाको स्वास्थ्य विभागको प्रमुख भएर काम गरे । पछि भाइहरू धनबहादुर, गणेश, रविन, सुरेश पनि भूमिगत भए । भूमिगत हुँदै जनमुक्ति सेना भए र लडाईं लडे । लडाईंमा तीन दाजुभाईले सहादत प्राप्त गरे भने बाँकी दुई जना मात्रै घर फर्के ।
¨¨¨¨
२०५८ सालमा १४ वर्षका थिए रविनजंग बीसी ‘प्रतिबिम्ब’ । बाँठपालीमा ७ कक्षामा पढ्दै थिए । परिवारका सदस्य माओवादीमा हुँदा उनलाई जान अप्ठेरो थिएन । घरबाट निस्कँदा माओवादीको जनमेलिसियामा जनसांस्कृतिक टिमसँगै गए ।
बझाङको छविस, दुर्गाथली चैनपुर, थलारा, बुंगल, केदारस्यूँ आसपासबाट माओवादीमा भूमिगत हुनेहरू सुरुमा बुंगलको दहबगर इलाका मा बसेर तालिम लिन्थे ।
माओवादीमा सामेल भएको सुरुका दुई महिना सबैले अनिवार्य तालिम लिनु पर्दथ्यो । रविनसँगै भूमिगत भएका ४० जना विद्यार्थीहरू दहबगरतर्फ लागे । उनीहरू पहिलो दिन साविकको सैनपसेला गाविसको चुवावन हुँदै विनायक पुग्यो र त्यतै बास बस्यो । विनायक त्यो बेलामा घाइते लडाकु राख्ने ठाउँ थियो ।
दोस्रो दिन विद्यार्थीको टिम दहबगर पुग्यो । दुई महिनाको तालिमपछि पार्टीले सबैलाई फरक फरक ठाउँमा परिचालन ग¥यो । धेरै जनालाई जनमुक्ति सेनामा भर्ति गरियो । उमेर सानो हुँदा रविन सेनामा अयोग्य भए । एक वर्ष पार्टीको सांस्कृतिक टिममा काम गरेपछि मात्रै सेनामा छनौट भए । सामान्य कार्यकर्ता हुँदै जनमुक्ति सेनाको पलाटुन कमान्डर भएका रविन पाँच दर्जनभन्दा बढी लडाईँमा सामेल भए ।
तालिम र लडाईँ
जनमुक्ति सेनामा फौजी तालिम तीन महिने हुन्थ्यो । तालिम दिन अर्कै डिभिजनबाट कमाण्डरसहित सेनाहरू आउँथे । लगातार शारिरीक व्यायाम र दैनिक दुई घण्टा पार्टीको नीति नियम, आगामी योजनाबारे कक्षा हुन्थ्यो । तालिममा आधुनिक हातहतियार चलाउन सिकाइन्थ्यो । ब्याटल क्रराबट र फलड क्रराबडलगायतका आधुनिक हतियार पनि सिकाइन्थ्यो । ‘तालिमले जोश बढाउँथ्यो,’ रविनले भन्छन्, ‘तालिममा केही बिगारेमा सजाय पाइन्थ्यो भने बढी समय हौसला प्रदान हुन्थ्यो । कमाण्डरले आफू बलियो भए मात्रै शत्रुलाई ढाल्न सकिन्छ भन्थे । त्यो ढाडसले व्यायाम गर्न निकै जाँगर चल्थ्यो ।’
रविन सामेल भएको पहिलो लडाईं ०६१ को अन्तिमतिर नाकेडाँडाको थियो । बझाङको केदारस्यूँ गाउँपालिका र बुंगल नगरपालिकाको बीचमा पर्ने नाकेडाँडामा जनमुक्ति सेनाको आक्रमणमा पाँच जना नेपाली सेना मारिए । सदरमुकाम चैनपुरबाट माओवादी खोज्दै गएको सेनाको टिमले नाकेडाँडामा लुकेर बसेको माओवादी सेनाले घेरामा परेर ठूलो क्षति व्यहोरेको थियो । त्यो दिन सेनाको सोही टिमले जयपृथ्वी नगरपालिकाको नौरामा माओवादी भएको आशंकामा दुई जना पसलेको हत्या गरेको थियो ।
नौरा हुँदै छविसबाट बिसौना बजार पुगेपछि माओवादी नेता जनक बुढाको घर जलायो । धर्मराज विक, लक्ष्मण बुढा सहितका नेताको खोजी ग¥यो । खोज्दै जाँदा विनायकमा माओवादीका सात जना बिरामी र घाइते कार्यकर्ता भेटिएपछि सेनाको निशानामा परे । ‘सातै जनाको हत्या गरेपछि ६० जनाको नेपाली सेनाको फौज दहबगरतर्फ गयो ।’ नाकेडाँडामै भिडन्त भएर सेना भागेको रविन सम्झन्छन् । एक घण्टा चलेको भिडन्तमा माओवादीले पनि एलएमजी, एसएलआर, ए के ४७, थ्री डट थ्री राइफलसहितका हतियार बोकेका थिए ।
अर्को भिडन्त डोटी जाने बेलामा तेले लेकमा भयो । डोटीको जोरायलमा जाँदा रविनसहित तीन जना माओवादीको लडाकु फौजको अगाडि सुराकीझैँ भएर गएका थिए । जंगलको बाटो हिँडेपछि पक्की बाटो काट्नुपर्ने थियो । ‘बाटो काट्न खोज्दा आर्मी तयारी अवस्थामा देखिए । जम्काभेट हुने स्थिति आयो,’ उनी भन्छन्, ‘पछाडि फर्कँदै भागेर रातारात दिपायलको समूहगाडको आर्मी ब्यारेक नजिक पुगिएछ । गाउँ नजिकै भएकोले कुकूर भूकेपछि फेरि खोलै खोला कपल्लेकीमा पुग्यौँ । उज्यालो नहुन्जेल जंगलमा तीन जना तीन तिर फर्केर रात कटायौँ । त्यो दिन नै अन्तिम भएको जस्तो लाग्यो । भाग्यवस बाँचियो ।’
त्यसपछिका लडार्इंहरू कैलालीको भासुभीर, डडेल्धुराको हगुल्टे, डोटीको खिमोडी, बझाङको चरिलेक, छविसको मेल्लेक, कैलालीको सम्भापुर, मसुरियालगायत नौ वटै जिल्लाका दर्जनौँ ठाउँमा भए । अन्तिम लडाई बडैपुरमा भएपछि शान्ति सम्झौता भएको रविन सम्झन्छन् ।
जसले नौजवान छोरा गुमाए, शवसमेत देख्न पाएनन्
चहरे विक र टुडी विकको जेठा छोरा उदयबहादुर गाउँमा छँदा राज्यको बेथितिविरूद्वका कुरा गर्थे । उनका कुरा गाउँमा सबैलाई प्रिय लाग्दथे । संयोगबस उनी परिवर्तनकै लागि माओवादीमा होमिए । उनको हुटहुटी/सपना थियो, आफू मरे पनि समाज माथि उठोस्, जनता रैतीबाट नागरिक बनून । हुन पनि त्यस्तै भयो । आफू मारिए, समाज फेरियो, राज्यको पद्धति नै फेरियो । तर, उनीसँगै उनको शव पनि मारियो ।
द्वन्द्व चर्किएकै बेलामा बीच बीचमा युद्धबिराम हुन्थ्यो । त्यो बेलामा राज्य पक्ष र माओवादी पक्षबीच हतियार नउठाउने सहमति हुन्थ्यो । तर, २०६० भदौ ५ गते युद्धबिरामकै बेलामा तत्कालिन शाही सेनाले कैलालीको मसुरियामा उदयबहादुरसहित तीन जनाको सुराकीको आधारमा मध्यराति हत्या ग¥यो । शवसमेत गायब ग¥यो ।
उदयबहादुरकै सहोदर भाइ धनबहादुर विक ‘कुवेर’ दाइसँगै भूमिगत भएका थिए । जनमुक्ति सेनामा कार्यरत कुवेर बझाङको भाँडेबजारमा मारिए । २०५८ सालमा जनमुक्ति सेनाको सिपाही भएका कुवेर प्लाटुन कमाण्डरसम्म पुगेका थिए । पार्टीको कामबाट भेटघाटका लागि घर जान लागेका उनलाई २०६१ साल भदौ ११ गते सुराकीकै आधारमा भाँडेमा सेनाले खुट्टामा गोली हानेर घाइते बनायो । घाइते अवस्थामै छविसतर्फ भागेपछि छोपेर कम्मर पेटीले घाँटीमा बाँधी घिसार्दै निर्मम तरिकाले सेतीमा बगाएको थियो ।
अर्का भाइ गणेश विक ‘सागर’ पनि २०५८ सालमा माओवादीमा भूमिगत भएका थिए । जनमुक्ति सेनामा कार्यरत उनलाई २०६० साल भदौ २३ गते बैतडीको देहीमाडौँमा नेपाली सेनाको गोली लागेर मारिएका थिए । पाँच छोरा परिवर्तनका लागि भूमिगत भएकामा दुई जना मात्रै अर्ध घाइते अवस्थामा घर फर्किए । छोराहरूको बाटो कुरेको परिवारले छोराहरूको शवसमेत छुन पाएनन् ।
शान्ति सम्झौताको पाँच वर्षपछि स्वैच्छिक अवकाश
कैलालीको सहजपुरमा बहुबिर योद्धा स्मृति बिग्रेड सातौँ डिभिजन थियो । शान्ति सम्झौतापछि एक हजार दुई सय जना जनमुक्ति सेनाका कर्मचारीहरू सोही डिभिजनमै राखिए । तिनीहरूको सम्पूर्ण खर्च राज्यले गर्दथ्यो । तर, भरखर शान्ति भएको आलो घाउको राज्यले चरम यातना दिएजस्तै बेवास्ता ग¥यो । मासिक सात हजार दिने खर्चबाटै जनमुक्ति सेनाका कर्मचारीले सम्पूर्ण व्यवस्था गर्नुपर्दथ्यो । खाने, बस्ने, नुन, साबुन, तेललगायत सोही रकमले गुजारा गर्नुपर्ने !
ब्यारेकमा बसेपछि सैन्य तालिम अनिवार्य गर्नुपर्ने थियो । दिनभरि तालिम र साँझ बस्न, खानको ठेगान नभएपछि बिरामी पर्न थाले । राज्यले दिएको तलब भत्ताले निकै संकट झेल्नुपरेको भन्ने प्रचार भयो । त्यसपछि मानवअधिकार आयोगका टोलीले ब्यारेक अनुगमन ग¥यो । निकै संकटको अवस्था देखेपछि युएमएन, युनिसेफलगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाहरूले जनमुक्ति सेनालाई लुगा, कपडा, बस्नेजस्ता टहरा, खाद्यान्न, बेड विस्तारा सहयोग गरेपछि निकै राहत भएको थियो । डिभिजनमा राहत पाएपछिको अवस्था सम्झेपछि आफू फेरि बाँचेको स्मरण गर्छन् रविन ।
०६८ सालमा सरकारले सेना समायोजनको नीति ल्यायो । छनौटमा परेका १९ हजार सेनालाई फाराम भर्न लगाइयो । त्योमध्ये अधिकांशले स्वैच्छिक अवकाश रोजेका थिए । नेपाली सेनामा समायोजन हुनेलाई योग्यताका आधारमा सिपाहीदेखि कर्णेलसम्म भर्ति गरिएको थियो । त्योमध्ये रविन बिसीको दम्पतिले पनि स्वैच्छिक अवकास रोजेका थिए ।
अन्तर्जातीय बिहे
शान्ति सम्झौतासँगै द्वन्द्वको अन्त्य भएपछि क्यान्टिमेन्ट (सातौँ डिभिजन ब्यारेक) मै सीताकुमारी रोकाया ‘शैलजा’ सँग भेट भएको थियो रविनको । डिभिजन ब्यारेकमा एक हजार दुई सय जनामा पाँच सय महिला र सात सय जना राखिएका थिए । कम्पनी र बटालियन पनि एउटैमा थियो ।
शैलजाले कम्पनीको लेखामा काम गर्थिन् । बाजुराको गौमुल गाउँपालिका दहकोटमा घर भएकी उनी माओवादीमा २०५९ मै भूमिगत भएकी थिइन् । डिभिजनमा सबै सैन्य संरचना (सैन्य, भीसी, एफजीसी, सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी, बटालियन, बिग्रेट, डिभिजन) हुन्थ्यो ।
त्यसमा रविन प्लाटुन कमाण्डर थिए । उनको मातहतमा ४५ जना सेनाहरू हुन्थे । शैलजा लेखा शाखामा थिइन । तालिमको बेलामा बीच बीचमा वक्तृत्वकला, हाजिरीजवाफ, मनोरञ्जन पनि हुन्थ्यो । त्यो बेलामा दुबैतिरबाट बढी भाग लिने रविन र शैलजा हुन्थे । उनीहरूको ब्यारेकभित्रै चिनजान बढ्यो र प्रेम बस्यो । अन्तिममा २०६६ सालको सुरुवातमै ब्यारेकमै उनीहरू जनवादी विहे गरे ।
विहे भएको एक महिनापछि शैलजा जनसैन्य केन्द्रीय प्रतिष्ठानमा ६ महिनाका लागि तालिमको छनौटमा परिन् । त्यसपछि व्यारेकका कमाण्डर समूहलाई प्रशिक्षक तालिम दिने गुरूमा बनिन् । त्यो तालिमका प्रशिक्षार्थी कमाण्डर रविनहरू थिए । जनमुक्ति सेनाबाट अवकास लिएपछि भने उनीहरू व्यवसायतिर लागे ।
फेसबुक प्रतिक्रियाहरु