शनिबार, पुस ६, २०८१
Breaking News

मैले चिनेका खप्तड बाबा !

पद्मा जोशी

बझाङ । म २०३५ सालमा विवाह गरेर बझाङ आए । त्यसै वर्ष साउनको महिना खप्तड जानुपर्ने अवस्था आयो । पहिलो पटक बझाङ पुग्दा त्यहाँको खानेकुरा, हिँडडुलदेखि भाषासम्म केही मेल खाँदैन थियो । खानामा दूध नभई नहुने । गाउँमा खासै दूध पाँइदैन थियो । त्यो बेला सबैका बस्तुभाउहरू खप्तडतिरै हुन्थे ।

आएकै वर्ष साउनको महिनामा छिमेकी गाउँ (पुजारीगाउँ) हिरा खड्काको गोठ (अस्थायी घर) मा भैँसीको दूध खान एक महिना बसेँ । त्यसै बेलामा मेरा श्रीमान् स्व. धनराज जोशी सामल (खानेकुरा) दिन खप्तड आउनुभयो । दोस्रो दिन बिहानै खप्तड स्वामीसँग भेट गर्न दूध लिएर उहाँको कुटीमा गयाँै । कुटीमा हामीजस्तै भेट्न जानेहरूको लाइन थियो ।

कोही बिरामी त कोही खानेकुरा लिएर भेट गर्न गएका थिए । स्वामी रमाइलो कुराकानी गर्दै बिरामीका लागि उपचार विधि सिकाई रहनुभएको थियो । कतिपयलाई जडिबुटी दिएर पठाउनुहुन्थ्यो ।

हाम्रो टिम पुगेपछि बाबासँग कुराकानी भयो । मलाई खप्तड बाबाले सुरुमै चिनिहाल्नुभयो । लक्ष्मीभक्तकी नातिनी कताबाट आइस् भन्नुभयो ? मेरो हजुरबुवा र खप्तड बाबाको साढे ४ दशक पुरानो चिनजान रहेछ । खप्तडबाबा नेपाल प्रवेश गर्ने वित्तिकै हाम्रो माइतीघर इलाम भएरै आउनुभएको रहेछ ।

बाबासँगको पहिलो भेटमा सबै कुरा सुनाउनुभयो । बाबाले तिम्रो घरमा गएको, बसेको, तिम्रो हजुरबुवा त मेरो साथी हो भन्नुभयो । उहाँको कुरा सुनेर मलाई त आफ्नै हजुरबुवासँग भेट भएजस्तो लाग्यो ।

मेरो पनि नेपालमा खासै बसाई नभएको । बाल्यकालमै बुवाआमाले भारतमा लिनुभयो र उतै पढाई भयो । एकैपटक विवाह गरेर आउँदा कता हो कता ! जस्तो लागेको थियो । सुदूरपश्चिम त्यसैमा पनि बझाङ जिल्ला । अहिले कल्पना पनि गर्न सकिन्न । त्यसैमाथि खप्तड लेकमा बस्न त झनै कठिन । पानी प¥यो कि हातखुट्टाले काम गर्न छोड्ने ।

बाबाले मेरा श्रीमानलाई भन्नुभयो, ‘हिलो धुलो नदेखेकी मेरी नातिनीलाई कताबाट ल्याइस् !’ उहाँले पनि हाँस्दै के–के गफ दिनुभयो । ‘अब दुःख दिने होइन नी ! काम सबै तैँले नै गर्नु । उसले केही जानेकी छैन । सानी मान्छे’ भन्नुभयो ।
गफ गर्दै बाबाले हामीले दिएको दूधको कफी बनाउनुभयो । राजा वीरेन्द्रले पठाउनुभएको रहेछ कफी र चिनी । कफी सबैलाई खुवाउनुभयो । उहाँ प्रायः अन्नभन्दा पनि फलफूल र गोरस मन पराउनु हुने रहेछ । भेट्न जानेहरुरूको कोसेली पनि फलफूल र गोरस नै हुन्थ्यो ।

खप्तडमा बस्दा बाबाले मलाई जाडोबाट जोगिने अर्ति दिनुभयो । बाबाले चिसोमा काउलीको साग खान सुझाब दिनुभएको अहिले पनि झलझली सम्झना नै छ । उहाँले काउलीको साग खानु भनेको सुनेर सबै हामीसँग गएकाहरू हाँसेका थिए । किनकी त्यो बेलामा काउलीको जमाना पुगेको थिएन ।

बाबाले आश्रमबाट फर्किदा तामाको भाँडाको पानीले स्नान गर्न भन्नुभयो । तामाको भाँडा जति शुद्ध अरू हुँदैन भनेर बाबाले भन्नुभएको थियो । तामाले किटाणु मार्ने हुँदा पनि स्नान गर्ने वा पिउनका लागि उपयुक्त हुन्छ भन्नुभयो र त्यसै बेला बाबाकै धारामा राखिएको तामाको लोहोटाले सबैले स्नान गर्‍यौँ ।

पछि बाबासँग प्रायः महिनामा एकपटक भेट भइरहन्थ्यो । भेटमा उहाँले जीवनोपयोगी कुराहरू सुनाउनुहुन्थ्यो । सीप सिक्ने, विद्या लिने, पञ्चशील पालना गर्ने, मीठो बोल्ने भन्ने उहाँको सन्देश अहिले पनि कानमा गुञ्जिरहन्छ ।

हाम्रो छान्ना, पिठातोलामा मात्रै नभएर मध्यवर्ती क्षेत्र (बझाङ, बाजुरा, अछाम र डोटी) का मान्छे पनि बिरामी भएमा औषधीका लागि खप्तड बाबालाई भेट्न आउँथे । आश्रममा जति मान्छे आए पनि उहाँको मुस्कान कहिल्यै धमिलो भएन । सधैँ, हरपल एकै नासको अनुहारको देखिन्थ्यो उहाँको ।

बाबामा घमण्ड शून्य प्रतिशत पनि थिएन । हरपल रिसाउने/झगडा गर्ने मान्छे पनि उहाँको नजिक पुगेपछि शान्त हुन्थे । उल्टै ‘कालजयी महापुरूष’ भनेर सम्मान गर्दै फर्किन्थे । हुन पनि खप्तडबाबा आध्यात्मिक गुरू मात्रै हुनुहुन्न थियो । उहाँ राम्रो चिकित्सक, विचारक पनि हुनुहुन्थ्यो । उहाँका वाणीले मान्छेको जीवन नै बदलिन्थ्यो ।

अहिलेका शल्यक्रिया गर्नेलाई डाक्टर भन्छन् भने त्यो बेलामा बाबाले शल्यक्रिया गर्ने नपर्ने गरी ‘काल’ को ‘शत्रु’ बनेर खडा भइदिनुहुन्थ्यो । आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकप्रियता बढेको छ । त्यसैले उहाँ खप्तडका लागि भूषण नै बन्नुभयो ।

(जोशी खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी स्थायीबासी हुन्)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार