बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • लमजुङको धानबालीमा भेटियो ‘काँडादार खपटे हिस्पा’ किरा
Breaking News

लमजुङको धानबालीमा भेटियो ‘काँडादार खपटे हिस्पा’ किरा

काठमाडौँ । लमजुङको धानबालीमा ‘काँडादार खपटे हिस्पा’ नामक किरा देखिन थालेको छ । जिल्लाको राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र बेसिसहर नगरपालिकाका विभिन्न स्थानमा काँडादार खपटे हिस्पा नामक किरा देखिन थालेको हो ।

शुक्रबार कृषि ज्ञान केन्द्र लमजुङ र राइनास नगरपालिकाको कृषि शाखाको विषेशज्ञसहितको प्राविधिक टोलीले राइनास नगरपालिकाको १, २ र ५ नम्बर वडाका विभिन्न स्थानमा निरीक्षण गर्दा सो किरा देखिएको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिए ।

थापाले कृषकलाई सर्तक रहन आग्रह गरे । वयस्क खपटे किरा निलो–कालो रङको हुने र यसले धानबालीमा निकै असर पार्नसक्ने उनले बताए । उनले भने, ‘यो खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पु¥याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् । धेरै आक्रमण भएको खण्डमा पुरै खेतको रङ हल्का सेतो हुन्छ । त्यसपछि पुरै बाली नष्ट हुन सक्छ ।’

कृषि प्रसार अधिकृत थापाले यस किरालाई नियन्त्रण गर्न बेर्नाको पातको टुप्पोमा देखिएको फूलहरुलाई पातको टुप्पो चुँडेर नष्ट गर्न कृषकलाई सुझाव दिए । उनले भने, ‘व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने, प्रकोप बढी भएमा सम्पर्क विषादी क्लोरपाइरिफस २० प्रतिशत इसी १.२५ मिलि प्रतिलिटर वा मालाथियन ५० प्रतिशत इसी १.५ मिलिप्रति लिटर पानीमा मिसाई छर्न सुझाव दिए ।

उनले विषादी छर्दा वरिपरिका सबै खेतहरूमा सँगसँगै छर्न र सुझाव दिए । खेतबारीमा अगाडि पछाडि औषधी छर्दा किरा एक खेतबाट अर्काे खेतमा सर्ने खतरा हुनसक्ने उनले बताए । धानबालीको अनुगमन प्राविधिक टोलीमा बाली संरक्षण अधिकृत विजयराज पौडेल, कृषि प्रसार अधिकृत थापा, कृषि अधिकृत ईन्दु रेग्मी र नायब प्राविधिक सहायक गंगा बस्नेतले अनुगमन गरेका थिए ।

लमजुङमा अहिलेसम्म ८० प्रतिशत धान रोपाई सम्पन्न भएको थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार