मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • सीडीओका १० महिना : ‘गरे हुन्छ’ भन्ने भाष्य स्थापित
Breaking News

सीडीओका १० महिना : ‘गरे हुन्छ’ भन्ने भाष्य स्थापित

बझाङ । उपसचिव नारायण पाण्डेयले बझाङमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा ठीक १० महिना बिताए र सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सुर्खेत सरूवा भए । बझाङमा गत माघ ६ गतेदेखि नै जिल्लामा सेवा सुचारू गरेका पाण्डेयले केही नयाँ र केही पुराना कामलाई भने नफेरिने गरी स्थापित गरेका छन् ।

‘काम समयमै गर्नुपर्छ’ भन्ने पाण्डेयले प्रशासनमा सेवा लिन आएका सेवाग्राहीलाई कहिल्यै ‘भोलि आउनु’ भन्नुभएन,’ खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी भन्छन्, ‘जिल्ला प्रशासनमा सेवा लिन आएका सबैलाई कागजात पुगेपछि रातिसम्मै सेवा दिनुभएको छ । यो एकदमै सह्राहनीय काम हो ।’

जोशी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘एकपटक भतिजाको नागरिकता बनाउन प्रशासन जाँदा ५ बजीसकेको थियो । भोलि बिहानै धनगढी जानुपर्ने हुँदा रोकिनुपर्ने हो कि सोचेको थिएँ । प्रशासनमा अझै ९ जनाको नागरिकता बन्दै रहेछ । साँझ सवा ६ बजे नागरिकता बनाएर फर्किए । सदरमुकाममा बसेको २५ वर्ष भइसक्यो । आएको सेवाग्राहीको काम यसरी रातिसम्मै अरूले गरेको मलाई जानकारी छैन ।’
पाण्डेय नेतृत्वको प्रशासनको कामलाई सधैँ सम्झन लायक भएको बुंगल नगरपालिका–५ का हिरेन्द्र बोहरा पनि बताउँछन् । उनी भन्छन्, ‘प्रशासन कार्यालय अहिले साँच्चिकै प्रशासन जस्तो भएको छ । कर्मचारी पनि समय पालना गर्नमा उत्तिकै अब्बल देखिन्छन् । आएको सेवाग्राहीले आधा घण्टा पनि कुर्नु पर्दैन ।’

अघिल्लो वर्ष प्रशासनमा नागरिकमा नाम सच्याउन जाँदा चार दिन सदरमुकाममा बिताउनु परेको उनले सुनाए । उनले भने, ‘सुरूको दिन एउटा कागज पुगेन भन्यो । दोस्रो दिन भोलि ढड्डा हेर्नुपर्छ, त्यो फाँटवाला कर्मचारी बाहिर गएको भन्दै बित्यो । तेस्रो दिन काम भयो र चौथो दिन मात्रै घर फर्किएको थिएँ ।’ अहिले भने प्रशासनले हुन्छ भने आजै, अहिल्यै हुने र हुँदैन भने प्रक्रिया पूरा गरेर आउ भन्ने गरेको उनले बताए ।

सेवाग्राहीमा मात्रै होइन, प्रशासनभित्रै पनि कर्मचारीले सीडीयोको कामको प्रशंसा गर्छन् । कम्प्युटर अपरेटर नन्दबहादुर धामी भन्छन्, ‘सीडीओ साबले हामी सेवा दिन आएका हौँ, सेवाग्राहीप्रति गम्भीर हुनुपर्छ भन्नुहुन्छ । त्यसैले पनि आएका सेवाग्राहीलाई राति हुँदासमेत सेवा दिइरहेका हुन्छौँ ।’

उनले सीडीओ साब आएको छोटो समयमै जिल्लामा छाप बस्ने गरी काम भएको बताए । उनले भने, ‘सीडीओ साबले हामीलाई पनि निकै जिम्मेवार बनाउनुभएको छ । बिचरा ! सेवाग्राही टाढाबाट आएको हुन्छ, उसलाई सदरमुकाममा बस्न, आवतजावत गर्नलाई गाह्रो हुन्छ, खर्च बढी लाग्छ भन्नुहुन्छ । त्यसपछि उसका कागजात पुगेपछि हामी पनि काम गरेरै फिर्ता पठाउँछौँ ।’

सीडीओ पाण्डेयले आफ्नो काज सरूवा भएको जानकारी पाएपछि पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा १० महिनामा केही नयाँ र केही पुराना गरी ११० काम गरेको विवरण सार्वजनिक गरे । जसमा जलविद्युत आयोजनामा काम गर्ने श्रमिकको तलब नबढाएकोदेखि पिछडिएको क्षेत्रको स्थिति र पहिचानका आधारहरू तथा लक्षित वर्गका हकहितका क्षेत्रमा सरकार बफादार हुनुपर्नेमा प्रतिवद्धता गरेको सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

त्यस्तै प्रशासनमा कार्यालय समय १० बजे अगाडि अनिवार्य राष्ट्रिय गान गाएर मात्रै सेवा सुचारू गर्ने कामको थालनी पाण्डेयले गरेका छन् । त्यस्तै कानुन विपरित चल्ने संघ संस्था÷व्यवसाय तुरून्द बन्द गर्ने अभियान चलाएपछि जिल्लामा सबै संघ संस्था तथा व्यापारीहरू कानुनको दायरामा आएको पाण्डेयको कार्य सम्पादनको विवरणमा उल्लेख छ ।

जिल्ला प्रशासनमा आउने सेवाग्राहीले हुलाक टिकटका लागि दुःख पाउने गरेको र दिनभर समय खर्च हुने भएपछि प्रशासनमै हुलाक टिकट उपलब्ध गराउने गरेको, नागरिकता नपाएका अशक्त तथा बृद्ध बृद्धालाई घरमै गएर नागरिकता प्रदान गर्ने गरेको, हाइड्रोपावर बन्ने क्षेत्रमा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गरेको, आवश्यकताअनुसार जिल्लामा प्रहरी पोष्ट स्थापना गरेको, ‘मैले वालविवाह गर्न गराउन दिँदैन’ भन्ने सामुहिक प्रतिबद्धता सार्वजनिक समारोहमै गरेको, कारागारमा रहेका कैदीलाई योग ध्यानको अभ्यास नियमित गराउन निर्देशन दिएकोलगायतका कामहरू भएको विवरणमा उल्लेख छ ।

त्यस्तै सेवाग्राहीलाई बिनासेवा फिर्ता नपठाउने भन्दै एकै दिनमा १८४ जनालाई नागरिकता दिएको, सरकारले विदा दिने दिवसहरूमा पनि सार्वजनिक सेवा दिइरहेकोलगायतका पाण्डेयका नयाँ काम हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार