मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • गंगुदेवीलाई मितेरी गंगादेवी शान्ति पुरस्कार
Breaking News

गंगुदेवीलाई मितेरी गंगादेवी शान्ति पुरस्कार

बझाङ । बझाङको थलारा गाउँपालिकाकी पूर्व उपाध्यक्ष गंगुदेवी खडायतलाई यस वर्षको मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलको संयोजकत्वमा एक्सन वक्र्स नेपालको मुख्य कार्यालयमा बसेको बैठकले खडायतसहित कालिकोटका हिक्मतबहादुर मल्ल र जुम्लामा कार्यरत डा. सुवी बस्न्यातलाई प्रदान गर्ने निर्णय गरेको हो ।

बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोत्नुभएको थियो । उहाँ महिलाको हक हितको लागि, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लागेको भन्दै खडायतलाई पुरस्कारका लागि छनौट गरिएको समितिले जनाएको छ ।

त्यस्तै कालिकोटका मल्ल गएको पाँच वर्षयता जिल्लामा सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् । उनले कोरोनाको समयमा एक हजारदेखि १२ सय जना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेको, जातीय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए भने डा.बस्न्यात कर्णालीमा बसेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिएको आधारमा छनौट गरिएको समितिले जनाएको छ । उक्त पुरस्कार अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा असोज ४ गते प्रदान गरिने संयोजक पौडेलले जानकारी दिइन् ।

एक्सन वक्र्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो । उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेर सोही रकमको आउने ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

को हुन् गंगुदेवी खडायत ?

भारतको कर्नाटक राज्यको बैंगलोर सहरमा जन्मिएकी गंगुदेवी खडायतको सोही ठाउँमा मालिकको घर सरसफाइ गर्ने, खाना पकाइदिने, लुगा धोइदिने काममै बाल्यकाल बित्यो । बाबुले अरूको घरमै काम गरेर प्राण त्यागेपछि उनलाई आफू पालिन र भाइबहिनी पाल्न निकै सकस भयो ।

बुवाको निधनपछि आठ बहिनी र चार भाइकी अभिभावक खडायतलाई पढ्न पाउने त के पानी पिउने फुर्सद हुँदैनथ्यो । भारतमै मजदुरी गर्न गएका बझाङ थलाराका बझाङका दिलबहादुर खडायतसँग चिनजान भयो । केही वर्षपछि उनीसँगै विहे भयो ।

दिल्लीमा घर छ भनेर विहे गरेका खडायतले विहेपछि गंगुदेवीलाई नेपाल ल्याए । बझाङ आएको केही वर्षमै फेरि श्रीमानले छाडेर गए । एकल जस्तै बनेर सन्तानलाई हुर्काउने क्रममा गंगुले दुुःखका पहाड फोड्नुप¥यो । गंगुलाई विवाह गर्नुभन्दा पहिले दिलबहादुरले अर्की श्रीमती भित्र्याइसकेका थिए । घरमा करिब तीन वर्ष बसेपछि श्रीमानको भारत जाने आउने हुन थाल्यो । तर, पनि गंगुले श्रीमानको एक सुक्को पनि कमाई खाइनन् । विहेपछि कहिल्यै खुसी पनि हुन मौका मिलेन ।

२०५९ सालको समय थियो । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा चलिरहेको थियो । गंगुलाई देशको द्वन्द्वभन्दा पनि आफ्नै घरभित्र र मनभित्रको अन्तरद्वन्द्वले पिरोलिरहेको थियो । उनलाई आफ्नै श्रीमानले छाडेर गएपछि अरूले के साथ दिन्थ्यो र ! भन्ने लाग्यो । आफूलाई र सन्तानलाई दुई छाक टार्न अरूको समेत हल गोरु चलाउनु प¥यो ।

परिवार पाल्न गंगुले हलो जोत्न थालिन् । गाउँमा महिलाहरूले हलो जोत्दा अनिष्ट हुन्छ भन्थे । पानी पर्दैन भन्थे । गाउँमा महिलाले हलो जोतिन् भन्ने सुनेर हेर्न आउनेहरूको दैनिक घुइँचो हुन्थ्यो । कोही रमाउने, कोही कराउने । भन्नेले जेसुकै भने पनि उनले हलो जोत्न छोडिनन् ।

गंगुले निरन्तर पाँच वर्ष बढी हलो जोतेर आफ्नो खेती आफैँ लगाइन् । थोरै जग्गा थियो, घरमा काम गरिदिने कोही थिएनन् । आफ्ना भन्नेहरू पनि कोही रहेनन् । ‘सहयोग गर्ने, दुःखमा साथ दिने कोही नभएपछि आफ्नो खेतबारीका लागि अरू कसको बाटो हेर्नु भनेर मैले आफैँले हलो जोत्ने र खेती लगाउने काम गरेकी हुँ,’ उनी सम्झिन्छन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो । २०५६ सालमा उनी क्षेत्रपालमा मनोनीत भइन् । त्यसबेला उनी औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढेकी थिइन् । राजनीतिसँगै अध्ययनलाई अघि बढाएकी गंगुले २०६७ सालमा ४७ वर्षको उमेरमा एसएलसी पास गरिन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएपछि उनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार