बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक ‘सैन्डाँडा’
Breaking News

धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक ‘सैन्डाँडा’

बझाङ । माहुरीको मिलनजस्तै संकेत गर्ने मेला हो, सैन्डाँडा । सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेला भाद्र शुक्ल दशमीको दिनदेखि चहलपहल सुरू हुन्छ । मेला भने शुक्ल चतुर्दशीदेखि शुक्ल पूर्णिमाको तेस्रो दिनसम्म लाग्ने गर्छ ।

बझाङ, बाजुरा, अछामसहित हजारौँको संख्यामा श्रद्धालु भक्तजन आउने मेलाले संस्कृतिलाई जोगाएको खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर खड्का बताउछन् । उनले सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै समुदायले पहिचान जोगाउन पनि मद्दत गरेको बताए ।

खापरमाडौँ (सैन्डाँडा) को डोली अछामबाट ल्याउने बेलादेखि नै छान्नाबासी सबै समुदाय मिलेर काम बाँडफाँट गरेको हुँदा अहिले पनि सबै समुदायले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको खड्का बताउँछन् । ‘जसरी खापरमाडौँमा सबै समुदायको समान अधिकार छ, त्यसरी नै छान्नावासीलाई एकतामा बाँध्न यो माडौँले ठूलो काम गरेको छ,’ उनले भने, ‘माडौँ त्यस्तो ठाउँ हो, जहाँ हजारौँका मनमुटावलाई पनि बाँध्ने गर्छ । त्यसरी नै यो पनि समुदायको मनमुटावलाई बाँधेर एकता कायम गर्ने मेला हो ।’

सबै समुदायमा आ–आफ्ना टोलमै ‘माडौँ’ स्थापना गरेर पूजाआजा गरिन्छ । तर, खापरमाडौँ बाजुरा, अछाम, डोटी तथा बझाङको छान्नाका सबै समुदायले पूजा गर्दै आएको साझा थलो भएको खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशीले बताए । ‘यो सबैको साझा मन्दिर हो,’ उनले भने, ‘सबैको समान दायित्व र समान अधिकार भएको खापरमाडौँले समुदायमा सद्भावको काम गरिरहेको छ ।’ यहाँ पूजाआजा गर्नेले बाहिर विभिन्न समुदायको लडाइँ झगडा गरे पनि खापरमाडौँमा सबैले एकसाथ पूजा गर्नुपर्ने उनले बताए । ‘मिलाप हुनैपर्छ भन्ने एकताको सन्देश दिएको छ । समाजलाई बाँध्न पनि यस्तै माडौँहरू आवश्यक पर्छन्,’ उनले भने ।

सैन्डाँडाको पौराणिकता

खेचरा पर्वत (खप्तड)मा अवस्थित तलाउ नजिककै मुसारानीको रूपमा भगवान् प्रकट भएर सोही ठाउँमा पूजाआजा गर्न थालेको किंवदन्ती छ । पार्वती मुसारानीको रूपमा प्रकट भएपछि सबैभन्दा अगाडि त्यहाँ बसोबास गर्ने खप्तडी खड्काले देखेको र पूजाआजा गर्दै आएको स्थानीयवासी बताउँछन् ।

खप्तडमा मुसारानीको रूपमा पार्वती प्रकट भइसकेपछि उनले त्यसै ठाउँमा शिवका लागि तपस्या गरिन् र पछि शिव प्रकट भए । पछि शिला भयो । त्यस बेला प्रकट भएको एउटा शिला अछामको लुङ्ग्रामा लगेर मन्दिर स्थापना गरिएको थियो । अहिलेको पाटादेवलको जस्तै लुङ्ग्रामा पूजाआजा गरिन्थ्यो । सुरुमा पार्वती मुसारानीको रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा माइतीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ ।

जानकारका अनुसार श्रावण पूर्णिमाका दिन (उकालु) पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पुर्‍याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने गरिन्छ । त्यसबेलामा देवी (पार्वती)का भाइ धामीहरू दिदीसँग छुट्नुपरेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन् । ‘पार्वतीलाई माइतीघर पु¥याउँदा वा पोइलीघर ल्याउँदा काँप्दै रोइकराइ गर्ने गर्छन्,’ कुलप्रसाद भन्छन्, ‘त्यस बेलामा खापरको घोडा पनि काँपेर थाप्न नसकिने अवस्थामा हुने गर्छ ।’

कसरी ल्याइयो अछामबाट छान्नामा डोली ?

मुसारानीको रूपमा खप्तडमा पार्वती प्रकट भएपछि त्यहाँ पहिलो पूजा खप्तडी खड्काले गरेका थिए । डाँफेकोट बस्ने खप्तडी खड्काले नजिकै मुसारानीको रूपमा पूजाआजा गरेपछि उनीहरूको पूजा निरन्तर चलेको किंवदन्ती छ । खप्तडी खड्काका भाइहरू डाँफेकोटबाट अन्यत्र ठाउँमा बसाइँसराइ गर्दा एक भाइले अछामको लुङ्ग्रामा शिला लगेर माडौँ स्थापना गरेका थिए । त्यसपछि खप्तडी खड्काको जेठो भाइ छान्ना पूजारी गाउँमा बसोबास गर्थे । पूजा जेठो भाइले नै लगाउनुपर्ने त्यति बेलाको धार्मिक विश्वास थिथो । जेठो भाइ छान्नाबाट गएर अछाममा पूजा लगाउनुपर्ने भएपछि भाइहरूबीच नै विवाद हुँदै गयो । जेठो भाइले शिला आफ्नो ठाउँमा हुनुपर्ने अडान लिए ।

खापरको डोला अछामी प्रभाल खड्काले रोक्दा विवाद भई मुद्दासमेत चल्यो । त्यसबेला विवाद सरकारको केन्द्रीय अड्डासम्म पुग्यो र महाराजी खड्काले खापरको डोला पाउने निर्णय भयो । स्थानीय ज्ञानबहादुर खड्का ‘घायल’का अनुसार डोला छान्नामा पाउने भएपछि विसं १७७० तिर बिजु बयानीको नेतृत्वमा उनका भाइ लिखु र रिठु बयानी थापाहरूले खापरको डोली जात्रा गरी बाजागाजा र सजधजका साथ पाटादेवलको खापरमाडौँ भित्र्याए । त्यसबेला नै स्थानीयवासीले सबै समुदायलाई जिम्मेवारी दिए ।

पहिलोपटक खापरमाडौँमा डोली ल्याउँदा छान्नाका सबै समुदायको सहभागिता रहेको थियो । कसैले डोली बोक्ने, घोडा समात्ने, कुनै समुदायले पूजा सामग्री बोक्ने, डोलाको सुरक्षाका लागि छाता बोक्नेलगायतका जिम्मेवारी त्यसबेला नै सबैको सहमतिमा प्रदान गरिएको थियो । अहिले पनि तिनै समुदायले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै आएको वडाध्यक्ष तेज खड्काले बताए ।

स्थानीयवासी ज्ञानबहादुर खड्काका अनुसार माडौँबाट बिहान ४ बजे मुसारानी देवीको प्रस्थान साइत हुँदा शङ्ख घण्ट आफैँ बज्छन् भन्ने जनश्रुति रहिआएको छ । देवी (पार्वती) लाई माइतीघर पु¥याउँदा होस् या पोइलीघर पुर्‍याउँदा खापरको डोलीमा शिव पार्वतीको मूर्ति राखी चढाएको फलफूलले भरिन्छ । पाँचगाई बयानीले शुभयात्राको सबैतिर पुग नपुग हेरी परिपूरक बन्छन् भने खापर देवताको प्रमुख सुरक्षा गार्डका रूपमा कौछ्या धामी र दुदीर धामी मानिने परम्परा चल्दै आएको छ ।

डोली लिएर जाने बेलामा खप्तड तालको पहिलो पूजा धणाका सार्की समुदायले लगाउने गर्छन् । उनीहरूले खप्तड जाँदा निगालो काट्दा रगत बगेको हुँदा देउता भेटेको भन्दै उनीहरूले पहिलो पूजा लगाउने गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार