शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ‘यसकारण गाँजालाई वैधानिकता दिनुपर्छ’
Breaking News

‘यसकारण गाँजालाई वैधानिकता दिनुपर्छ’

बझाङ । केही दशक अघिसम्म काठमाडौंमा गाँजाको विज्ञापन सामान्य मानिन्थ्यो । खास गरेर असन र ठमेलतिरका पसल तथा चोकहरुमा ‘यहाँ गाँजा र चरेस पाइन्छ’ लेखेर टाँगिएका बोर्डहरु बग्रेल्ती देखिन्थे । त्यसबेला जताततै खुलेआम गाँजाखेती हुन्थ्यो । तर, त्यसको केही वर्षपछि विभिन्न कारण देखाउँदै सरकारले गाँजाखेती र यसको कारोबारलाई कानुनी रुपमै प्रतिबन्ध लगायो ।

कानुनले निषेध गरे पनि कारोबार भने समाप्त भएको देखिन्न । दिनहुँजसो ठूलो परिमाणमा गाँजासहित कारोबारी पक्राउ पर्नुले त्यसको पुष्टि गर्छ । लुकीछिपी यसको खेती र व्यापक कारोबार भइरहेको अनुमान सहजै गर्न सकिन्छ । जबकि प्रहरीले भने गाँजा फँडानीलाई अभियानकै रुपमा अघि बढाउने गर्छ ।

केही वर्षयता भने ‘नेपालमा गाँजाखेतीलाई वैधानिकता दिइनुपर्छ’ भन्दै आवाज उठाइने गरेको छ । अघिल्लो पटकको संसदमा तत्कालिन (नेकपा) का सांसद विरोध खतिवडा, शेरबहादुर तामाङले गाँजालाई वैधानिकता दिनुपर्ने माग गर्दै गाँजामाथिको प्रतिबन्ध फुकुवा गराउन संसदमै प्रस्ताव गरिरहे । एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापित झनै लामो समयदेखि गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गर्दै आएका थिए । अघिल्लो पटकको संसदमा सत्तारुढ दल नेकपाकै सांसद एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक संसदमा दर्ता नै गराएका थिए ।

कर्णाली प्रदेशमा २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत गाँजाखेती गर्ने र त्यसबाट तेल उत्पादन गरी निकासी गर्न सकिने भन्दै प्रदेश संसदमा प्रस्ताव पेस भएको थियो । यो बीचमा पनि कयौँ पटक सडकदेखि सदनसम्म, चिया चौतारोदेखि चोक चोकमा गाँजा खेतीलाई वैधानिक दिनुपर्छ भनेर बहस चले । अहिले पनि चलिरहेकै छन् ।

आर्थिक रुपमा नेपाललाई सबल बनाउनका लागि पनि गाँजाखेतीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने यसका पक्षधरहरुको तर्क छ । थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले नेपालमा गाँजाखेती गरेर विदेश निर्यात गर्ने हो भने प्रशस्त आर्थिक लाभ हुने पूर्वसचिव भीम उपाध्याय बताउँछन् । गाँजाबारे जानकार उपाध्याय भन्छन्, ‘गाँजा कुनै पनि लागूऔषध होइन । यो एउटा स्वच्छ वनस्पति हो । औषधी हो । आवश्यकताअनुसार यसको सेवनले कुनै असर गर्दैन । आवश्यकताभन्दा बढीको सेवनले मात्र गाँजाले असर पुर्‍याउने हो ।’

नेकपा एमालेका नेता शेरबहादुर तामाङ गाँजालाई कानुनी मान्यता दिनुको विकल्प नरहेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा अर्थतन्त्रको मुख्य आधार गाँजा बन्नसक्ने हुँदा सरकारले यसलाई कानुनी मान्यता दिनुपर्छ ।’ उनका अनुसार गाँजाको दानाबाट उत्पादित तेल क्यान्सरको औषधी भएको हुँदा तेल उत्पादन गरेर विश्व बजारमा बेच्दा नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्छ । मलेसियाको उदाहरण दिँदै सांसद तामाङ भन्छन्, ‘अहिले पाम आयाल बेचेर मलेसिया धनी भएको छ । त्यसरी नै हामीले पनि गाँजाको तेल बनाएर विश्व बचारमा बेच्न सक्यौं भने हाम्रो पनि आर्थिक स्तर मजबुत हुँदै जान्छ ।’

गाँजाबाट मह र टिएससी तत्व उत्पादन गर्न सकिने हुँदा यसलाई वैधानिकता दिनुपर्ने उनको जोड छ । ‘मह र टिएससी क्यान्सरको औषधी हो । यो औषधी नेपालले उत्पादन गरेर विश्वमा बेच्ने हो भने कुनै पनि नेपाली गरिबीबाट मुक्त हुनेछन् । न्यून लगानीमा उत्पादन हुने गाँजाको पातदेखि जरासम्मका सबै भागको उपयोगिता रहेकाले यसलाई खुला गर्न आवश्यक छ,’ उनले भने ।

नेपालमा गाँजाको इतिहास

सन् १८७५ मा फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित ‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल’ नामक पुस्तकमा नेपालमा अत्यधिक मात्रामा गाँजा उत्पादन हुने र समाजको आर्थिक उपार्जनका लागि सहज हुने कुरा उल्लेख गरिएपछि नेपालमा गाँजाको चर्चा सुरु भएको पाइन्छ ।

२००८ सालमा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० बिघा जग्गामा गाँजाको खेती गर्न आह्वान गरेपछि करिब २५ वर्ष (२०३३) सम्म सरकारले गाँजाखेती खुला गरेको थियो । त्यस बीचमा पनि नेपालले २०१७ सालमा आएको नार्कोटिक महासन्धिमा हस्ताक्षर गरेर गाँजामाथि प्रतिबन्ध लगाएको थियो । ‘हिप्पी’ बनेर नेपाल भित्रिएका अमेरिकी युवाहरू यहाँ खुलेआम पाइने गाँजाको नशामा लठ्ठिएर यतै बस्न थालेपछि अमेरिकाले नेपालमाथि यस्तो प्रतिबन्ध लगाउन दबाव दिएको जानकारहरु बताउँछन् । त्यसबेलामा महासन्धिमा हस्ताक्षर गरे पनि कार्यान्वयन भने भइसकेको थिएन ।

२०३३ सालपछि भने गाँजाले युवाहरु कुलतमा फसेको भन्दै प्रतिबन्ध लगाइएको थियो । आजसम्म पनि सरकारले गाँजाको बोट देखे पनि नष्ट गर्दै आएको छ । नेपालका विभिन्न भूभागमा प्रशस्तै मात्रामा उत्पादन हुने गाँजा दोस्रो विश्वयुद्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण गरेको इतिहास छ ।

नेपालमा गाँजा बन्द गर्नुबारे मर्सी कप्र्सको भने फरक धारणा छ । मर्सी कप्रसको रिपोर्टअनुसार गाँजामा लगाएको प्रतिबन्धल यसमा निर्भर नेपाली परिवारमाथि आर्थिक संकट आएको र उनीहरू जनयुद्धमा होमिएको बताइएको छ । ‘३० वर्षअघि नेपालको पश्चिम पहाडी भेगमा वर्षभरि चाहिने सरसामान र खाद्यान्नका लागि गाँजाबाटै पर्याप्त पैसा हुन्थ्यो । यसको खेती र कारोबारमा सरकारले रोक लगाएपछि उनीहरु माओवादी द्वन्द्वमा होमिएका हुन्,’ प्रतिवेदनमा भनिएको छ ।

के छ कानुनमा ?

लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ (क) मा ‘गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको’ उल्लेख छ । जसमा गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र दुई हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । साथै व्यवसाय वा कारोबार गर्ने व्यक्तिलाई गाँजाको परिमाणअनुसार जन्मकैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने मौजुदा ऐनमा उल्लेख छ ।

राष्ट्रसंघको महासन्धिमा हस्ताक्षर भएका बेलामा पनि गाँजालाई हिरोइनजस्तै कडा लागूऔषधको दर्जा दिइएको थियो । सन् १९६१ मा ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स’ मा नेपालले हस्ताक्षर गरेको थियो ।

गाँजा औषधी हो ?

गाँजाबारे लामो समयदेखि अध्ययन गरेका पूर्वसचिव भीम उपाध्याय गाँजा औषधी नै भएको दाबी गर्छन् । उनी भन्छन्, ‘नेपालमा गाँजा प्रयोग गर्न नजानेर मात्रै हो । आवश्यकताअनुसार गाँजा सेवन गर्ने हो भने यो सबैलाई अमृतसरह माने हुन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पनि गाँजा ९८ प्रतिशत औषधीजन्य वनस्पति हो भनेर प्रमाणित गरिएको छ । डब्लूएचओको अनुसन्धानअनुसार गाँजाको बोटानिकल नाम ‘क्यानाबिस स्याटिवा’ हो । आयुर्वेदमा समेत गाँजाको औषधीय महत्व भएको बताइएको छ ।

आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वासप्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । गाँजाको प्रयोग २५ सयभन्दा बढी औषधिमा कुनै न कुनै प्रकारले भइरहेको छ । कोलेरा, कोलाइटिज, मानसिक रोग, रुघाखोकी, ज्वरो आदिमा गाँजाको थोरै मात्रा सेवन गरे औषधी हुने जानकारहरु बताउँछन् ।

आयुर्वेद विज्ञ डा. ऋषिराम कोइराला गाँजालाई कानुनी दायराबाट बाहिर ल्याउनसके राज्यले ठूलो लाभ लिनसक्ने बताउँछन् । नेपालमा वैदिक कालदेखि नै गाँजाको औषधीय प्रयोग हुँदै आएको उनले बताए । ‘गाँजाबाट ४०० प्रकारको औषधी बन्न सक्छ,’ उनले भने, ‘पहिला पश्चिममा गाँजा प्रतिबन्ध थियो, पूर्वमा प्रयोग थियो, पश्चिमाहरुले यसको महत्व बुझेपछि प्रायोजित रुपमा यता प्रतिबन्ध लगाए, उता खुला छ ।’

गाँजाको बीउको गुणको व्याख्या गरेरै नसकिने डा. कोइराला बताउँछन् । ‘अहिले कुनै ज्ञान, स्रोत, उत्पादन र कला चोरेर लान र आफ्नो बनाउन विश्वका विकसित राष्ट्रले अवैधानिक रुपमा ठूलो परिमाणमा डलर खर्च गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले यस्ता वनस्पती आफ्नो नाममा दर्ता गराएर अनुसन्धान गरी उपयोग गर्नुपर्छ र लाभ लिनुपर्छ ।’

पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक डा. बिपी तिमल्सिना पनि नेपालको गाँजामा उच्च औषधीय गुण भएको बताउँछन् । ‘त्यसमा पनि म्याग्दी, गोरखा, धादिङ, बागलुङ र कास्कीको गाँजामा मेडिसिनल भ्यालु बढी भएको मेरो अध्ययनले देखाएको छ,’ उनले भने, ‘नेपालमा गाँजाको प्रयोग खासै छैन, २०० भन्दा बढी रोगमा यसको प्रयोग हुने अनुमान गरिन्छ ।’ गाँजाको दानाबाट बन्ने तेललाई हेम्प आयल भनिने र यो तेल सयभन्दा बढी कस्मेटिक सामग्री उत्पादनमा प्रयोग हुने उनले बताए । ‘गाँजाको प्रयोग मानसिक रोग र क्यान्सर उपचारमा सबैभन्दा बढी प्रभावकारी हुने देखिएको छ,’ डा. तिमल्सिनाले भने ।

विश्वका कुन-कुन देशमा खुला छ ?

गाँजाखेती विश्वमा क्यान्सरका बिरामीलाई पीडा कम गर्न भन्दै बढी प्रयोग गरेको पाइन्छ । विश्वका विभिन्न देशहरु स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमैका, चिली, पेरु, कोलम्बिया, इक्वेडर र लक्जेम्बर्गले गाँजा सेवनलाई खुला गरेका छन् ।

कतिपय देश इजरायल, अर्जेन्टिना, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाबेमा औषधीका रुपमा मात्रै गाँजा खुला छ । गाँजा लागूपदार्थ नभई औषधी भएको भन्दै केही देशहरु पनि यसमाथिको प्रतिबन्ध खुलाउनेबारे छलफलमा जुटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार