आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • केदारस्यूँका एक वर्ष : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
Breaking News

केदारस्यूँका एक वर्ष : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

केदारस्यूँ गाउँपालिकाले जनप्रतिनिधिको एक वर्ष पुगेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको छ । गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गणेश बोहराले एक बर्षे कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

अध्यक्ष बोहराको प्रतिवेदनअनुुसार शिक्षा र पूर्वाधारका क्षेत्रमा पालिकाले प्राथमिकताका साथ काम गरेको देखिन्छ । सामुदायिक विद्यालयमा निःशुल्क वाइफाइको व्यवस्थादेखि जीर्ण भवनको जीर्णोद्धार, विद्यालयमा रिक्त शिक्षकको ठाउँमा दरबन्दी मिलान, विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइसीटी ल्याब, बालकक्षा विकास सहजकर्तादेखि विद्यालय सहायकको व्यवस्था, विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, निशुल्क स्यानेटरी प्याड, विभिन्न संघ संस्थाहरूको सहयोगमा शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिम, दश वर्ष शिक्षा योजना निर्माणलगायतका काम गरेको छ ।

प्रतिवेदनअनुसार बजेट खर्चको अवस्था भने निराशाजनक अवस्थामा देखिएको छ । चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा पुँजीगत खर्च ४२.३२ प्रतिशत मात्रै देखिएको छ । डेढ महिनाको अवधिमा ५५.६८ प्रतिशत विकासे बजेट खर्च गर्न भने निकै चुनौति देखिने तथ्यांकले देखाएको छ । चालू खर्च भने यस अवधिमा ६५.७७ प्रतिशत खर्च भएको छ ।

आर्थिक विकासमा खर्च प्रगति ३७.८६ प्रतिशत, सामाजिक प्रतिशत ६२.२७, पूर्वाधार विकासमा ५०.७०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४२.३४, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ६६.६७ गरी समग्रमा केदारस्यूँ गाउँपालिकाको खर्च प्रगति ५९.९४ प्रतिशत खर्च भएको देखिन्छ ।

भौतिक पूर्वाधारमा गाउँपालिकाले १७ बुँदामा आफ्नो प्रगति सार्वजनिक गरेको छ । १५ शैय्याको अस्पताल निर्माणमा १७ करोडको ठेक्का सम्झौतादेखि नविकरणीय उर्जा अन्तर्गत ५५ किलोवाटको शौर्य मिनिग्रेट को निर्माण कार्य भइरहेको कुरा सार्वजनिक गरिएको छ ।

६ करोड मूल्यमा सामान्य प्रशासन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा पालिकाको भवन निर्माण, विद्युत विस्तार, विद्यालयका भवन निर्माण, बागथला–सुदाडा–थापागाउँ–दहसैन सडक निर्माण, सिँचाई पोखरी निर्माण, खोला नजिक तटबन्धन, महिला तथा वडाका कार्यालय निर्माण, सडक स्तरोन्नति, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १० वटा विद्यालयको चार कोठे र दुई कोठे भवन निर्माण गरिएको अध्यक्ष बोहराले बताए ।

बोहराका अनुसार देउरा र झोता बजार क्षेत्रका लागि खानेपानी मुहान अभाव भएको कारण खानेपानीको व्यवस्थापन गर्नका लागि नयाँ प्रविधिसहितको डिप बोरिङको माध्यामबाट ६३ मिटर गहिराईबाट लिफ्टिङ गरी खानेपानीको व्यवस्थापन भइरहेको छ ।

जनप्रतिनिधिको एक वर्षको अवधिमा ३१ वटा नयाँ साना उद्योगहरू दर्ता भएका छन् भने २१ वटा वाणिज्य उद्योगहरू दर्ता भएका छन् । त्यस्तै ४५ जनालाई मोबाइल मर्मत तालिम, कम्प्युटर तालिम, हाउस वाइरिङलगायत सीप विकास तालिम दिइएको उनले बताए ।

अध्यक्ष बोहराले सामाजिक विकासको विस्तार, पूर्वाधार विकास, सुशासन, स्वास्थ्य, उद्योग, कृर्षि, महिला तथा बालबालिका, विपत, आन्तरिक राजस्व, पशु, जिन्सी, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको उपलब्धि सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार