बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सगरमाथाबाट संगीताको सन्देश : छाउपडी प्रथा अन्त्य गरौं
Breaking News

सगरमाथाबाट संगीताको सन्देश : छाउपडी प्रथा अन्त्य गरौं

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । २६ वर्षीया संगीता पायोनियर एडभेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै सगरमाथामा पाइला टेकेकी हुन् ।

सगरमाथा क्षेत्रमा झन्डै महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरूमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प १ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी रोकाया गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । जेठ २ गते राति क्याम्प ४ बाट शिखरतर्फ प्रस्थान गरेको उनको टोली जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।

वर्षौंदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो । धेरैबेरसम्म आँसु थाम्न सकिनँ,’ उनी भन्छिन् । ‘छाउपडी प्रथा अन्त्य गरौं,’ भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सिमा नै नरहेको उनले बताइन् ।

रोकायाले २०७५ कात्तिकमा पहिलो पटक अन्य ४ जना बझाङी चेलीसँगै साइपाल हिमाल (७०३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोहीहरू पनि थिए । तर, मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने झनै बढ्यो ।
शिक्षा र चेतनाका हिसाबले पनि पिछडिएको मानिने साइपालकी चेलीका लागि यो काम जटिल थियो । साइपाल चढ्न खोज्दा नै उनलाई परिवार र समाजले रोक्न खोजेको थियो । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछुभन्दा परिवारले समेत साथ दिएन,’ उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मिहिनेत गर्नुप¥यो ।’

मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न संघसंस्था धाए । कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौंला भन्दै टारे ।’ रोकायाका बुबाले एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा छोरीलाई सगरमाथा पुर्‍याउन सहमत गराए । चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार