बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • ‘गाउँलेले फालेको कपडाले शरीर ढाक्छौँ’
Breaking News

‘गाउँलेले फालेको कपडाले शरीर ढाक्छौँ’

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुँडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृष्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।

खानडाँडामा फिट्टु खड्काको परिवार बसेको एक दशक भइसक्यो । चिरापाणी (परिवारलाई चिनिने टोल) मा साँघुरो बुवाको घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै फिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछन् ।

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूवाती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कँदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतिको शक्ति हराउँदै गयो । बालबालिकाहरू शिक्षाबाट बञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे ।

२६ वर्षमा १२ सन्तानलाई जन्म

फिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र फिट्टुले २०५४ सालमा विहे गरेका थिए । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेकी छन् ।

खड्का दम्पतीको पहिलो सन्तान विहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनाबमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन÷चार महिनाको बीचमै गुम्यो ।

तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे । ‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन,’ फिट्टु सम्झन्छन्, ‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।’

फिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उनीहरू गडरायका बैद्य (जडिबुडी डाक्टर) को सल्लाहमा गए । पछि बैद्यको औषधीले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । छोराको जन्मिएको खुसीयालीमा उनले गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाए ।

सन्तानहरू हुर्कँदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्क पनि खानडाँडामै जन्मियो ।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय भर्ना गरे । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन् । रिरा खड्का फिट्टुकी माइली छोरी हुन् । १४ वर्षीया रिरू अहिले ३ कक्षामा पढ्छिन् । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षको छोरा दीपकलाई फिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन् । ९ वर्षीय हर्क भने सानै उमेर भन्दै विद्यालय गएको छैन ।

यता फिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन्, ‘सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।’ उनी बोल्न नसकी भक्कानिन्छन् । आफ्नो छोरीसँगैका बालबालिकाहरू अब एसईई दिने तयारीमा पुगेको उनी बताउँछन् । ‘हामीलाई त मान्छेले मात्रै होइन, भगवानले समेत सबै ठग्यो ।’ उनी भन्छन् ।

अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए । ‘विद्यालयले पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्छन् । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट पोसाक पाउनु !’

घर जलेर पीडामाथि पीडा

खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । ‘डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई समेत एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । दुई/चार जना नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो ।’ खड्का सम्झन्छन् ।

खड्काको गोठमा तीन वटा बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भनिन्, ‘हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ ।’ पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको र ढिला भइसकेको उनले बताइन् ।

घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन् । ‘बाकस थिएन, ज्याला गरेर जम्मा गरेका १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,’ बेलु भन्छिन्, ‘भरखर किनेका ४÷५ वटा ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।’ उनका अनुसार घरमा सबै सामान लगाएर साढे ५ लाखसम्मको सम्पति जलेर खरानी भयो ।

फिट्टुकी श्रीमती बेलु खड्का

आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको फिट्टुले बताए । ‘कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ । केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ ।’ उनले बताए ।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामाग्री पनि खाइरहेको उनले बताए । ‘गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ,’ उनले भने, ‘हुन त ब्रामणलाई दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्छन् । तर, के गर्नु, पापी पेट मान्दैन । उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ । त्यसले पनि महिनौँ दिन छाक टर्छ ।’

ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो ७ हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए फिट्टुले । उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ । राहतका लागि उनी दसौँ पटक पालिका पुगे । फिट्टु भन्छन्, ‘घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन । तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो ।’

त्यो बीचमा फिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो । ‘तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,’ उनी सम्झन्छन्, ‘त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोर–दोहोरका लागि सापट रकम लिएँ । तर कहिले हो कहिले भयो ?’

पालिकामा बोलाएको बेलामा पुगिदिन फिट्टुले एक शिक्षकलाई आग्रह गरे । ‘धेरैपछि उहाँले राहत ल्याउनुभयो सात हजार रूपैयाँ । त्यसबाट पनि दुई हजार रूपैयाँ उहाँलाई नै दौडधुप गरेको भनेर दिएँ । बाँकी पाँच हजार रूपैयाँ राहत प्राप्त घरमा पुग्यो ।’ उनी भन्छन् ।

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाई हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् फिट्टु । ‘त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन् । आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ ।’ उनी भन्छन् ।

राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने नबिर्सने सम्झिएका छन् उनी । ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिकाउन मद्दत गरेको हुँदा यो सानो घर बनाएको उनी बताउँछन् ।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए । खानडाँडामा खन्दै बारी थप्दै अहिले फैलँदै गएको छ । त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई समेत खान पुग्दैन । ‘डाँडामा पानी छैन, मल पनि हुँदैन । अनि के उत्पादन हुन्थ्यो र ? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ ।’ उनी भन्छन् ।

घरमा भेटिएका फिट्टुका सन्तान

अहिले फिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन् । ‘गाउँलेले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,’ फिट्टु भन्छन्, ‘खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन् । म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु ।’

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन् । ‘घरमा गोरू हेर्ने मान्छे छैन भन्छन्, छोराछोरी स्कुल जान्छन रे । त्यो समस्या देखाएर गाई गोरू सिधै यतै लिएर आउँछन् । कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि ‘हुँदैन’ भन्न सकिँदैन । पालिरहेको छु ।’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार